फाउ पुर्णे, फागु र होली

- अविरल थापा

चैत्र ४, २०७५

हरेक वर्ष फागुनशुक्ल पूर्णिमाको दिन चलन चल्तीको भाषामा फाउ पूर्णे वा फागु मनाइन्छ । तराईतिर र छिमेकी देश भारतमा यसलाई होली भनिन्छ । भारतीय सञ्चारमाध्यमको दबदबा एवं सामाजिक संजालको प्रभावले नयाँ पुस्ताले यो पर्वलाई होलीकै नामले मात्र बुझ्ने हुन कि जस्तो भैसकेको छ । खासमा फागुनशुक्ल अष्टमीदेखि नै फागु पर्व प्रारम्भ हुन्छ । राणाकालमा अष्टमीदेखि नै फाउ खुलेको घोषणा गरिन्थ्यो । 

 नेपाली बृहत् शब्दकोष अनुसार पनि फाउ, होली अथवा फागु भनेको फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रंग छयापेर वा अविर दली आनन्दका साथ मनाइने उत्सव हो । यसलाई कतै–कतै होरी पनि भनिन्छ । फाउ वा होली भनेको यही अवसरमा गाइने गीत वा त्यसको लय पनि हो ।

किवंदन्तीअनुसार हिरण्यकश्युपकी बहिनी होलिकाले आगोमा नजल्ने वरदान पाएकी थिइन् तर उनले आफ्नो भदा प्रह्लादलाई मार्ने गलत उद्देश्यले उनलाई काखमा लिई आगोमा बस्दा उनीचाँहि आगोमा जलेर नष्ट भएको तर भक्तिका प्रभावले प्रह्लादलाई चाँहि केही नभएपछि त्यही खुसियालिमा उनको नाममा चीर दहन गर्दर्र्र्र् ैपर्व मनाइएकाले यसको नाम होली रहेको विश्वास गरिन्छ । गाउँ घरमा अझै पनि फाउ हाल्ने भनिन्छ । आफूले मनले खाएको मानिसलाई हाकाहाकी वा झुक्याएर भए पनि टाउकोमा अविर हाल्ने वा दल्ने कुरालाई फाउ हाल्ने भनिन्छ । 

होलीका अवसरमा नेपालको तराई भूभागमा गाइने विशेष स्थानीय गीत हुन्छन् । अचेल चलचित्रका गीत तथा बजारलाई ध्यानमा राखेर तयार पारिएका गीत बढी प्रचलनमा छन् । सँस्कृतिमा आएको यो बजारीकरणले फागुका मौलिक गीतहरू ओझेलमा परेका छन् । गीत–संगीतमा लागेका स्रस्टाहरूले फागुका मौलिक गीत पनि संकलन गरेर ल्याउन सके यो पर्वको महत्ता एवं मौलिकता दिगन्त रहने थियो । 

कालान्तरमा व्यापारीहरूले यो पर्वलाई विकृत गराए र पूरै बजारीकरण गरे जसको प्रभाव युवापुस्तामा नराम्रोसँग पर्‍यो । होली वा फागु भनेको बेलुनमा पानी भरेर हान्ने हो, अझ केटी मानिसलाई मात्र हान्ने हो, मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने हो जस्तो भान पर्‍यो । केटाकेटीले त्यही देखे र त्यसकै सिको गरे । सहर बजारमा त होलीआउनु भन्दा एक हप्ता अघिदेखि केटीहरूलाई बजारमा निस्कनै हम्मे–हम्मे पर्ने अवस्था थियो । अचेल स्थानीय प्रशासनले कडीकडाउ र कारबाही गर्न थालेपछि धेरै नियन्त्रण भैसकेको छ । 

युवा पुस्ता र बालबालिकालाई संस्कृति के हो– विकृति के हो भनेर सिकाउने अभिभारा अघिल्लो पुस्ताको हो । हामीले हाम्रा मौलिक चाडपर्व र संस्कृतिहरू कसरी मनाउने हो त्यसको प्राचिन स्वरुप कस्तो थियो र त्यसको जगेर्ना कसरी गर्ने भनेर नवपुस्तालाई सिकाउन सक्नुपर्छ । गाली गरेर बस्नुभन्दा यो पर्व यसरी मनाउने भनेर सिकाउन थाल्नुपर्छ । सर्जकहरूले मौलिक गीत, वृत्तचित्र, फिल्म वा टेलिफिल्म आदि बनाएर यस विषयमा जानकारी एवं ज्ञान फैलाउन सक्छन् । अभिभावकहरूले घरमा, शिक्षकले विद्यालयमा संस्कार एवं पर्वको सही ज्ञान बाँडनुपर्छ । संस्कृतिविद्ले बोलेर–लेखेर कसरी सकिन्छ आफूमा भएको ज्ञान हस्तान्तरण गर्नुपर्छ । व्यवसायीहरूले केवल पैसाका लागि संस्कृतिनै बिग्रने गरी चाडपर्वको बजारीकरण गर्नुहुँदैन । 

होली वा फागु पर्व आदि हरेक पर्वका सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक, धार्मिक अनेक आयाम हुन्छन् । फागु पर्व मनाउने मौसम भनेको जाडो सकिएर गर्मी सुरु भएको बेला हुन्छ । यो मौसममा मानिसको शरीरमा पनि हार्मोनको उतारचढाव हुने र ऋतुकाल प्रारम्भ हुने हुँदा फागु मनाउँदा युवायुवतीहरूले आपसमा गीत गाएर त्यसमार्फत वा नाचेर रंग र पानी खेलेर, चलेर यौन चाहनाको तृप्ती वा अभिव्यक्ति समेत प्रस्तुत गर्छन् भनिन्छ । 

बालबालिकालाई होली भनेको केवल बेलुन हान्ने हो पानी छ्याप्ने हो भन्ने गलत शिक्षा नदिऊँ । सकभर यसका अनेक आयामका बारेमा स्कुल–कलेजमा बरु सके पाठयपुस्तकमै राखेर ज्ञान दिऊँ । कुनै पनि पर्व मानिसले उमेर अनुसार पनि मनाउँछ । सानालाई कसरी सिकाउने, हुर्किएकाहरूलाई कसरी सिकाउने र आफूले पनि कसरी मनाउने त्यसमा प्रष्ट हुन् जरुरी हुन्छ । अरूको देखासिकी गरेर अनि व्यापारीहरूको प्रभावमा परेर संस्कृतिलाई विकृत हुननदिऊँ । 

रंग दलौं, होली खेलौं ,पानी छयापौं तर आफूले दलेको रंगले आफैंलाई हानीनगरोस् । आफूले छयापेको पानीले अरूको आत्मसम्मान नखस्कियोस् । हुलहुज्जत वा जर्बजस्ती गर्नु कदापी संस्कृति होइन । सवारी दुर्घटना भएर, मादकपदार्थ सेवन गरेर वा छतबाट खसेर मरेको समाचार सुन्न नपरोस् । होली खेल्दाखेल्दै दुश्मनी मित्रतामा बदलियोस् तर नजिककाहरू नबिच्कियुन् । पर्वको बहानामा कसैको इज्जत नलुटियोस् । 

फाउ पूर्णे , फागु र होलीको सबैलाई शुभकामना है त ?

 

प्रकाशित :चैत्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्