बिखण्डनको बाटोमा विराम

- नरेन्द्र रौले

चैत्र २, २०७५

प्रधानमन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गर्दै राष्ट्रिय सभागृहमा भनेका थिए– सिके राउत टेक्नोक्रयाट् मात्र होइनन्, थिंकर पनि हुन् । कठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने क्षमता छ उनमा । सप्तरीको महदेवामा जन्मिएका राउतको बाल्यकाल र कलेज जीवन निकै संघर्षमय थियो । 

 

बिखण्डनकारी मुद्दा बिसर्जन गरेर मूलधारको राजनीतिमा प्रवेश गरेपछि चन्द्रकान्त (सिके) राउत फेरि एकाएक चर्चामा आएका छन् । स्वतन्त्र मधेश गठबन्धनको नाममा असंवैधानिक गतिविधिमा लागेको आरोप लगाउँदै सरकारले राउतलाई पटक–पटक पक्राउ गरेर जेलमा राख्ने, छोड्ने क्रम जारी राख्यो । पछिल्लो समय पाँच महिना जेल परेका राउत राष्ट्रिय राजनीतिमा आएपछि एक प्रकारको तरंग फैलिएको छ । मूलधारको राजनीतिमा आउने उनको निर्णयलाई कतिले स्वागत गरेका छन् भने कतिले विगतमा समातेको बाटो गलत थियो भनेर माफी माग्नुपर्ने प्रतिक्रिया दिएका छन् । गत साता सर्वाधिक चर्चामा आएका राउत आखिर को हुन् ? उनको बिगत कस्तो थियो ? धेरैलाई जान्ने रहर पक्कै होला ।

प्रधानमन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गर्दै राष्ट्रिय सभागृहमा भनेका थिए– सिके राउत टेक्नोक्रयाट् मात्र होइनन्, थिंकर पनि हुन् । कठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने क्षमता छ उनमा । सप्तरीको महदेवामा जन्मिएका राउतको बाल्यकाल र कलेज जीवन निकै संघर्षमय थियो । उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । उनका बुबा गाउँकै प्राथमिक विद्यालयका शिक्षक थिए । गाउँमा स्कुल खोल्न र गाउँलेहरूलाई शिक्षित बनाउन उनका बुबाले ठूलो मेहनत गरेका थिए ।

पढेलेखेका मानिसहरू फेला पार्न मुस्किल त्यो समयमा उनका बुबाले म्याट्रिक पास गरेका थिए । कट्टी (त्यतिबेलाको कोइलाडी) मा स्थापना भएको स्कुलबाट उनका बुवा आफ्नो ब्याचमा म्याट्रिक पास गर्ने एक्ला व्यक्ति थिए । राउतकी आमा गृहिणी भए पनि कथा वाचनमा पारङ्गत थिइन् । उनी धार्मिक पुस्तक दैनिक रूपमा अध्ययन गर्थिन् । तीन छोरा र एक छोरी मध्येका सबैभन्दा कान्छा हुन्– सिके राउत । सबैले उनलाई निकै माया गर्थे । उनका बराज्यू निकै प्रभावशाली व्यक्ति थिए । उनी हनुमाननगरमा नेपाल सरकारको पञ्चायत प्रशासनमा काम गर्थे । 

राउतले गाउँकै प्राथमिक विद्यालयमा अध्ययन गरे । त्यो स्कुलको अबस्था यस्तो थियो कि काठको पाटी र बोरा च्यापेर उनी दिदीको हात समाउँदै स्कुल पुग्थे । कक्षाकोठामा बेन्च थिएनन् । बर्खामा कक्षाकोठा हिलाम्मे हुन्थ्यो । छानाबाट पानी चुहेर कक्षाकोठामा पानी भरिन्थ्यो । गाउँबाट प्राथमिक शिक्षा पूरा गरेपछि राउतले वभनगामा कट्टीको माध्यमिक विद्यालयमा अध्ययन गरे । 

पारिवारिक आर्थिक स्थितिका कारण उनीहरूलाई पढाइलाई निरन्तरता दिँदै जीवनयापन गर्न निकै मुिस्कल थियो । स्कुल पुग्न १ घण्टा हिंड्नु पर्थ्यो । महिनौंसम्म उनी नाङ्गै खुट्टा हिँडेर स्कुल पुगे । उनका बुवाले चप्पल किनिदिन्छु त भन्थे । बचन दिएको महिनौं बिते पनि उनका खुट्टा नाङ्गै हुन्थे । बाटामा गँगटाका हाड यत्रतत्र हुन्थे । तिनलाई कुल्चिदै उनी स्कुल पुग्थे । स्कुल भर्ना भएको केही समयमै उनका बुवा बस दुर्घटनामा परे । उनका बुबा ट्युसन पढाएर केही खर्च जुटाउँथे । त्यसपछि त्यो बाटो पनि बन्द भयो । पूरा राउत परिवार आर्थिक अभावले पिरोलिन थाल्यो । उनीहरूलाई आफ्नो पढाइ खर्च आफैं जुटाउनुपर्ने बाध्यता आइलाग्यो । सबै आर्थिक स्रोत बन्द भएपछि खान पनि समस्या पर्न थाल्यो । गाउँलेहरूको सहयोगले उनको परिवार जेनतेन चल्थ्यो । 

स्कुल फी तिर्न नसक्दा परीक्षाको प्रवेशपत्र समयमै राउतको हात पर्दैनथ्यो, भित्र परीक्षा सुरु भैसक्थ्यो तर उनी भने हलबाहिरै हुन्थे । धेरैबेर पर्खिएपछि गार्डले भोलि फी तिर्नुपर्छ भनेर छाडिदिन्थे । त्यो समस्याले उनलाई पछिसम्म पिरोलिरह्यो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्दा उनको परीक्षाको फी इँटा बोक्ने मजदुरहरूले तिरिदिन्थे । मजदुरहरूले गरेको त्यो सहयोग सिके अझै पनि सम्झन्छन् । 

परीक्षा भवन भित्र छिर्न नदिइएका थुप्रै अनुभब छन् उनीसँग । उनले आफ्नो पुस्तकमा मार्मिक तरिकाले लेखेका छन्– मलाई स्कुलको हाताबाहिर जान बाध्य बनाइयो । म बाहिर गए, गहभरि आँसु टलपलाइरहेको थियो, मैले स्कुललाई परैबाट नियालिरहें । समय बित्दै जाँदा नजिकैको स्कुल पनि पर–पर सरे जस्तो लाग्थ्यो । लगभग एक घन्टा बित्न लाग्दा मेरो मन टुट्नै लागेको थियो, आँसुका थोपा त अघिदेखि नै बर्रर झर्दै थिए । एक घन्टापछि परीक्षाहलभित्र विद्यार्थीलाई छिर्न नदिइने नियम थियो । त्यसैले म आत्तिएको थिएँ तर अन्तिम समयमा तिनीहरूले मलाई बोलाए । तिनीहरू पनि दोधारमा थिए, क्लासको प्रथम विद्यार्थी भएकाले मैले परीक्षा दिन सकिन भने विद्यालयको राम्रो मूल्यांकन नहुने डर उनीहरूमा थियो ।

कलेजमा मधेसी भएकै कारण अपमान, दुर्व्यवहार र भेदभाव गरिएका थुप्रै घटना उनले भोगे । ‘क्यान्टिनमा होस् कि टीभी हलमा, पसलमा होस् कि क्लासमा, अफिसमा होस् कि खेल मैदानमा, फोन उठाउँदा होस् कि पालेसँग कुनै जानकारी माग्दा, हरेक ठाउँमा मप्रति दुर्व्यवहार हुन्थ्यो ।’ एक पटक उनले कुराकानीका क्रममा बताएका थिए । उनी वर्षभरी एउटै सर्ट–पाइन्टमा कलेज जान्थे । वर्कशप तथा प्रयोगात्मक कक्षामा कपडामा दाग लाग्थ्यो । त्यसलाई राती नै धोएर सुकाउँथे । अर्को दिन त्यही लुगा लगाएर कलेज पुग्थे । 

फाइनल परीक्षा सकेपछि राउतले इन्जिनियरिङ कलेजमा पढाएर आफ्नो गुजारा चलाए । सन् २००३ को अप्रिलमा मनबुसो छात्रवृत्ति पाएर उनी जापानको टोकियोस्थित टोकियो युनिभर्सिटी पुगे । जापानको अध्ययन पूरा गरेर उनी पिएचडीका लागी सन् २००६ मा बेलायतको क्याम्ब्रिज युनिभर्सिटी गए जुन पहिल्यैदेखी उनको सपना थियो । सबैभन्दा बढी नोबेल पुरस्कार पाएकाहरूको त्यो विश्वविद्यालय स्टेफेन हकिङ्गको पनि कर्मथलो थियो । सन् २०१० सम्ममा उक्त विश्वविद्यालयसँग सम्बद्ध ८८ जनाले नोबेल पुरस्कार पाएका थिए । क्याम्ब्रिज युनिभर्सिटीको अध्ययनपश्चात उनी एक अमेरिकन कम्पनिमा वैज्ञानिकका रुपमा काम गर्न थाले । राउत युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड आदिबाट विभूषित भैसकेका छन् । अमेरिका छँदै उनले इन्जोत अभियान सञ्चालन गरेका थिए । उनी इन्जोत अभियानका संस्थापक हुन् । उक्त अभियानले नेपालका स्कुलमा शिक्षक एवं विद्यार्थीहरूलाई कम्प्युटर, इन्टरनेट साक्षरताका बारेमा सचेतना फैलाउने काम गर्थ्यो । राउत मधेशी हक हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर–आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन् । उनी सन् २०११ मा सधैंका लागि अमेरिका छाडेर नेपाल फर्किएका थिए ।

घर छाडेको त्यो समय

गरिबीले गर्दा उनी यति आजित भए कि उनले एक्लै घर छाडे– चौध–पन्ध्र वर्षको उमेरमा । दिल्ली कि पन्जाब, एक्लै कहाँ जाने भनेर सोच्न नसकी भारतकै कुनै ठाउँमा बच्चाहरूलाई पढाउने मनसाय बनाए उनले । उनी आफूले लगाइरहेको लुगामै घरबाट निस्किए । उनको शर्टमा दुई तीनबटा बटन थिएनन् । बाटोमा बाँसको कैंची तोडेर बटन बनाए । उनीसंग एक रुपैयाँ पनि थिएन । उनले घर छोडेको कुरा सबैले थाहा पाएछन् । घरमा सबै चिन्तित थिए । आमा रुँदै कराउँदै खोज्न थालिन् । उनका बुवाले राउतलाई खोज्न चारैतिर मानिस पठाए । साँझतिर राउतलाई खोज्न आएका एकजनाले उनलाई समाते र घर लिएर गए । आफूलाई लेखक, चिन्तक तथा अभियन्ता रूपमा चिनाउने राउतका मधेश स्वराज आन्दोलन, मधेशका इतिहास, वीर मधेशी, वैरागदेखि बचावसम्म (आत्मकथा), डेनियल टु डिफेन्स जस्ता पुस्तक प्रकाशित छन् । उनले ब्ल्याक बुद्धज् :द मधेशीज् अफ नेपाल डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनले मधेशका गीत तथा भिडियोहरू पनि सार्वजनिक गरेका छन् । राउतका पुस्तक, गीत तथा भिडियो उनको निजी वेबसाइटमा फेला पार्न सकिन्छ । 

प्रकाशित :चैत्र २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्