मायाका रंगहरू

- अधिकारी रवीन्द्र

चैत्र १, २०७५

सेतो टिसर्ट र पुरानो हाफ पाइन्ट लगाएर काठमाडौंको एक कुनामा रहेको ठूलो ढोकाअगाडि खुट्टा फट्फट गर्दै उभिएको छु । पास देखाएपछि दर्बानले भित्र जाने इशारा गर्दै फलामे द्वार खोलिदिन्छ । जसै म भित्र पस्छु, लाग्छ त्यो पृथ्वीलोक होइन । बाहिर टाढैबाट सुनिएको कोकोहोलो र संगीतको स्रोत मेरो कान र आँखा अघि छन् । हर्ष र अचम्मले अभिभूत हुँदै बिरालोको चालमा पदअघि बढाँउदा जमीन स्पिकरको धङ्धङीसँगै नाचिरहेछ । म काँप्दै अघि बढ्दैछु । करिब ६० जना युवा–युवती त्यो रुफ्टप रेस्टुराँको यताउति छरिएर रमाइरहेछन् । स्वीमिङ पुलको वारी र पारी, बरण्डाबाट प्राङ्गणमा र प्राङ्गणबाट रुफटपमा हानाहान् चल्दैछ । पाकेको गोलभेंडा हातमा लिने र मन लागेको मान्छेलाई गोलभेंडा फुट्ने गरी हिर्काउने अचम्मको टोमेटिनो फेस्टिबल थियो त्यो जहाँ सबैका सेता टिसर्ट किचिएका राता गोलभेंडा र त्यसका हरिया–पहेंला बिँउले रङ्गिएका छन् । हातबाट गोलभेंडा फाल्ने चिच्याँउछ, कसैलाई लागेपछि फाल्ने, लाग्ने र हेर्ने सबै चिच्याँउछन् । ज्याज र साल्साको रौनकमा उक्त खेल निरन्तर चलिरहेछ । 

अघि बढ्दै जाँदा म यस्तो बिन्दुमा पुग्छु कि एक्कासि सबैको सतर्कता मतिर मोडिन्छ । अनुहार र वस्त्र गोलभेंडाले लत्पतिएका ती मानिसको भीडमा म एकमात्र ‘भर्जिन भाई’ थिएँ । एकसाथ सबै उत्साहित भएर मलाई ताकेर गोलभेंडा हान्न तयार हुन्छन् । हुँ ओ....ओ । २५–३० वटा गोलभेंडाले हावामा एकसाथ मैतिर उडान भर्छन् । बरण्डाबाट एउटी मैयाले थोरै समयको अन्तरालमा गोलभेंडा ˆयाँक्छे । रोक्नुस्, बल्ल सुरु हुदैँछ स्टोरी किनभने केटीको प्रवेश भर्खरै भयो । 

केही बेर उसका र मेरा आँखा चार हुन्छन् तब हलिउड मुभी ‘वान्टेड’ का वेज्ले गिब्सनले देखेको जस्तो सब स्लो मोसनमा भएझैँ लाग्छ । म स्वाट्ट घुमेर पिठ्युँ फर्काउँछु । गोलभेंडाहरू मेरो पिठ्युँ, कम्मर र घाँटीपछाडि जताततै ल्यान्डिङ हुन्छन्– ढ्याक्क, ढुक्क, ˆयास्स, प्याच्याक्क । त्यस्तैमा मैले मुन्टोमात्र पछाडि फर्काएँ– आहा ! ती केटीको गोलभेंडा मेरो निधार ताकेर आउँदैछ । प्रहारबीचमै पर्ने गरी मैले निधार अझ सोझ्याएँ । कहिलेकाहीँ केही थाप्नुको मज्जा पनि यतिबिघ्न हुन्छ कि लाग्छ भन्ने जानीजानी थापेर बसिन्छ । मैले छलिदिएको भए उसले फालेको त्यो गोलभेंडा पर भुँइमा गएर फुट्थ्यो तसर्थ जुन प्रयोजनका लागि गोलभेंडा ˆयाँकिएको हो त्यसलाई सार्थक तुल्याउन म निधार थाप्दै निर्भिक उभिँन्छु ।  प्वा....च्च, दुख्छ । स्लो मोसन सिधिन्छ र जिन्दगी फेरी सामान्य हुन्छ । 

गोलभेंडा यसरी फुट्छ कि टोमेटो केचप बनेर दुवैतिरको आँखीभौंबाट बग्दै आँखासम्म ढाक्न आइपुग्छ । अहिलेसम्म मेरो अघिल्लो मोहडामा दाग उनले मात्र लगाएकी छिन् अर्थात निधारमा गोलभेंडा फुटाएर उनले मेरो ‘टोमेटिनो भर्जिनिटी’ भर्खरै तोडेकी छिन् । आँखा हातले पुछ्दै म अगाडि दौडिँन्छु । टोकरीबाट गोलभेंडा निकाल्छु र उनलाई ताक्छु । लाग्दैन । फेरि हाँन्छु । लाग्छ । मेरोमात्र कहानी छोडौं अरू पनि एकले अर्कालाई हानिरा’छन् । म अरू जस्तै नचिनिने भैसकें तर लगातार गोलभेंडाले हानेपछि उनले मलाई नोटिस गर्छिन् ।

उनी पनि आफ्ना प्रहार मतिर केन्द्रित गर्न थाल्छिन् । दोहोरो भिडन्त अझ चर्काउन बरण्डाबाट तल झर्ने क्रममा पाकेको धानको बाला निहुरिएझैँ पहेल्पुर हुँदै खुड्किला सर्छिन् । हामी हाँनेजस्तो गरी नहाँन्ने, बेस्करी हाँनुलाजस्तो गरेर बिस्तारै हान्ने र घरिघरि नलाग्ने गरी हान्नतिर लाग्छौं । अरूहरू स्पेनिस जोटा संगीतमा कम्मर हल्लाउँदै छन्, हामी भने अन्तरङ्गमा ‘रंगी सारी गुलाबी चुनरिया रे...मोहे मारे नजरिया सबरिया रे’ को तालमा आँखा–आँखाले डोरी बाट्दै गाँठो झन् ठुलो बनाउँदै छौं । गाँठो गोलभेंडासँगै कस्सिँदै जान्छ ।

आधाघण्टे गोलभेंडा युद्ध सकिएपछि भीड स्वीमिङ पुलमा डुबुल्की मार्न थाल्छ । चेन्जिङ रुमअगाडि उनलाई पर्खँदा पूरै एक वर्ष ‘फिका इन्तेजार’मा कुर्नु परेकोजस्तो लाग्छ अनि लाजिम्पाटदेखि बागबजारसँगै हिँडेर जाँदाको ५ मिनेट औधी रङ्गिचङ्गी लाग्छ । त्यो आकर्षण हो शायद जतिखेर आˆना राम्रा कुरामात्र लाई झन् राम्रा बनाएर प्रस्तुत् गरिन्छ । बेजोड सुन्ने धैर्यता पनि राखिन्छ । लाली ओठबाट खस्नै लागेका लवजका ढिक्का प्रशोधन गर्न कानका श्रव्य प्रणाली तम्तयार रहन्छन् । उसले मप्रति प्रशंसाका गुच्छा ˆयाँक्छे, र मैले उसलाई । मान्छेको जातै त्यस्तो आˆनो प्रशंसा गर्ने व्यक्तिसँग जतिसँगै बसे पनि कमैजस्तो लाग्छ त्यसैले हामी सामीप्यतालाई वर्तमानमै राखिरहन हिँड्ने दूरीलाई लम्ब्याउँछौं । हामीले पछ्याएको बागबजार पुग्ने बाटो जेरी घुमेझैं घुमिरहन्छ ।     

त्यस्तैमा एउटा हुल आउँछ, तिनले हामी दुईको बाटो छेकेर रङ दलिदिन्छन् । हाम्रो रूप फेरि बेरुप हुन्छ । हामीलाई कसैसँग रीस उठ्दैन कारणः एक चीरपरिचित् शहरमा अन्जान र बेनाम बनेर भर्खर बनेको चिनाजानीबीच मायाका रङ्गहरू साट्न लेखेरै ल्याँउनुपर्छ । सँगै हिँड्दा होलीले प्रकृतिका रङ्गहरू अझै गाढा बनाएजस्तो । आकाश निख्खर नीलो, उत्तरतिर चोइटिएको बादल स्फटिकझैँ सेतो । त्रिचन्द्रअगाडि ढकमक्क फुलेका पारिजातका बैजनी रङ्ग खसेर सडकनै आधी रङ्गाएका छन् । काठमाडौं त्यति चम्किलो देख्न होलीनै आउनुपर्छ । वातावरणमात्र होइन, उनी पनि मुडअनुसार आफ्नो भावभङ्गीको शून्य क्यानभासमा भिन्नभिन्न रङ्गहरू पोती दिन्छिन्– रिसाँउदा औशीको निशाझैँ अँधेरिन्छिन्, लजाउँदा बसन्तमा नुँघेका कल्कीका फूलहरूझैँ राताम्मे हुन्छिन् र मुस्कुराउँदा सप्तरङ्गी इन्द्रेणी उदाएझैँ केस्राकेस्रा छुट्टिन्छिन् । 

हाम्लाई छुट्ट्याउन अगाडि बागबजार बल्झिँन्छ । ‘लेट्स ह्याब अ कफी’– म थाम्न खोज्दाखोज्दै चुहिँन्छु । ‘हुँदैन भन्दा तिमी रिसाउने, हुन्छ भन्दा घरमा गर्छन् गाली....सरि कान्छा यसपालि’ भन्ने गीतको भावांश चेहेरामा प्रष्टै खोपेर उनले भनिदिन्छिन्– यहाँ कफी खाने राम्रो ठाउँ नै छैन । यसो गरुँम्नः लेट्स मिट टुमरो । अहिले र टुमरोको बीचमा निस्फिक्री तेर्सिएको कालरात्री बित्न कति वर्ष लाग्ने हो सोचेरै जिल खान्छु र भन्छु– ओके ।

प्रकाशित :चैत्र १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्