पीपलको बोट

- किशोर नेपाल

फाल्गुन ३०, २०७५

पीपलको बोट चौतारीमा पत्रिका बेच्न बसेका कतिपय ‘हकर’ वास्तवमा सरकारका गुप्तचर हुन्थे । उनीहरूबाटै सरकारले थाहा पाउँथ्यो विद्यार्थीको कुन नेता के गर्दैछ र कुन नेता कहाँ छ ? आन्दोलनको केन्द्रबिन्दु नयाँ सडक र पीपलको बोट भएकाले आन्दोलनकारी विद्यार्थीहरू यसैको परिधिमा घुमिरहेका हुन्थे । त्यतिबेलाका आन्दोलन खतरनाक मानिन्थे । 

पीपलको बोट कि पीपलको रूख ? बहस कहिल्यै गरिएन । यो छाता थियो स्वतन्त्रताको जो अहिले पनि छ । वातावरण अलिकति बिथोलिएको छ । आजभन्दा ५०/६० वर्ष अघि पीपलको बोट विचार विनिमयको चौतारी थियो । अहिले त्यहाँ पश्चिमतिरको एउटा भवन छैन जहाँ तिनताका बडो शानले नखरा पारेर उभिएको हुन्थ्यो त्यो भवन । त्यो भवनमा थियो इन्दिरा रेस्टुराँ । नेपालका गिनेचुनेका र खल्तीमा पैसा भएका बुद्धिजीवी, कवि, कथाकार एवं कलाकार जम्मा हुने ठाउँ । त्यहाँको लिफ टी एक बीग पट किनेपछि जतिसम्म टिक्न सकिन्छ टिके हुन्थ्यो । गोरखापत्र र मधुपर्कमा कथा कविता र लेख छापेपछि पारिश्रमिक बुझेर इन्दिरा उक्लिनेहरूको कमी थिएन । हामी जस्ता नयाँ लेखक तथा पत्रकारलाई इन्दिराको चिकेन कटलेट निकै मनपर्थ्यो । त्यसको मूल्य चर्कै थियो ।

इन्दिरा त एउटा बहाना थियो । मुख्य कुरा थियो पीपलको बोट । पीपलको बोट पूरै कान्तिपुरको आन्दोलनको केन्द्र थियो । इन्दिराको नरम सिटमा बसेर आन्दोलनको दृश्य हेर्ने सौभाग्यशाली धेरै हुँदैनथे । एकपटक एउटा आन्दोलन निरन्तर चल्यो । नेपाल विद्यार्थी संगठनका सन्दर्भमा भएको त्यो आन्दोलनमा विद्यार्थीहरू लाम लागेर आउने, पीपलको बोटको चौतारोमा चढने र प्रजातन्क्रको नाम लिने । कार्यत्रम त भाषण नै गर्ने थियो तर विद्यार्थीले ‘प्रजा’ भनि नसक्दै उसलाई पुलिसले गिरफतार गरिसकेको हुन्थ्यो । त्यस्तोमा कसले भाषण गर्ने ? आन्दोलनमा कति विद्यार्थी गिराफ्तार भए ? यथार्थ जानकारी पाइन्थ्यो विभिन्न जेलबाट । अहिलेको जस्तो समाचारको यात्रा सहज थिएन । एउटै जेलमा सयजना सम्म विद्यार्थी अटाएका हुन्थे । कति हनुमानढोका खोरमा त कति डिल्लीबजार खोरमा थुनिन्थे । राजा महेन्द्रको शासनकालमा थुन्ने र थुनाउने कति थिए ? कसैलाई थाहै थिएन ।

पीपलको बोट चौतारीमा पत्रिका बेच्न बसेका कतिपय ‘हकर’ वास्तवमा सरकारका गुप्तचर हुन्थे । उनीहरूबाटै सरकारले थाहा पाउँथ्यो विद्यार्थीको कुन नेता के गर्दैछ र कुन नेता कहाँ छ ? आन्दोलनको केन्द्रबिन्दु नयाँ सडक र पीपलको बोट भएकाले आन्दोलनकारी विद्यार्थीहरू यसैको परिधिमा घुमिरहेका हुन्थे । त्यतिबेलाका आन्दोलन खतरनाक मानिन्थे । खासगरेर, निर्वासनमा रहेका बीपी कोइरालाको नेतृत्वमा देशमा प्रजातन्त्र स्थापनाका लागि जुन जोडबल थियो त्यो विद्यार्थीहरूबाटै थियो ।

यो त थियो पीपलको बोटको राजनीतिक अवतार । त्यसबाहेक, यसका अरू धेरै विशेषता थिए । यहाँ कवि–कथाकारहरूको अपार जमघट हुन्थ्यो हरेक दिन । कवि–कथाकार मात्र नभनौं होला । साहित्यकार शब्द बढी प्रतिनिधिमूलक होला । कविहरू कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, पुरुषोत्तम बस्नेत, उपेन्द्र श्रेष्ठ, मोहन कोइराला, शैलेन्द्र साकार, सन्तोष भट्टराई, मोहन घिमिरे, तोया गुरुङ, मोहन हिमांशु थापा, बंशी श्रेष्ठ नयाँ सडकका स्थायी स्तम्भ थिए । सम्पादक र समालोचकहरूको पनि उत्तिकै भीड लाग्थ्यो । यो सानो स्तम्भमा सबैको नाम समेटिनु सम्भव छैन । कति नाम स्मृतिमा छन् भने कति विस्मृतिमा ।

पीपलको बोट आफनो इतिहास सहित अहिले पनि खडा छ तर, यो पहिलेको जस्तो छैन । अलिकति उपेक्षित र तिरस्कृतजस्तो देखिन्छ । पीपलको बोट अगाडि सन्देश गृह थियो । अहिले त्यो पनि छैन । सन्देश गृह भन्नासाथ अंग्रेजी पत्रिका टाइम्स अफ इन्डिया पाइने पसल भनेर बुझिन्थ्यो । रन्जना सिनेमा हल जाने सडकको एकातिर छेउमा थियो पसल । घर पनि टिपिकल थियो । केशरदाइ पत्रिका पसलको सञ्चालक साहूजी आफैं बस्थे पसलमा । भीड उनलाई हेर्थ्यो । उनी भीडलाई । त्यतिबेला पत्रिकाका हिसाबले समय सम्पन्न थियो । हिन्दी भाषाका दिनमान, धर्मयुग, सारिका, माधुरी, कादम्बिनी, नवनीत, निहारिका र ज्ञानोदय लोकप्रिय थिए । 

अंग्रेजीका दि इलस्ट्रेटेड विक्ली अफ इण्डिया, फिल्मफेयर, जेएस, मिरर निकै पढिन्थे । पीपलको बोट आफैं पनि पत्रपत्रिकाको शोभा थियो । अलिकति त अहिले पनि जोगिएको छ त्यो शोभा । सहरको विस्तारसँगै धेरै कुरा परिवर्तन भए । पहिलो जन–आन्दोलन मार्फत देशमा संसदीय प्रजातन्त्रको स्थापनापछि आन्दोलनको संस्कृतिको संरक्षण गरिएन । अहिले हामीसँग केही पनि छैन । दिशाहीन अवस्थामा छ मानिसको जागरण । नयाँ सडकमा भीड बढेको छ । आन्दोलनको अलिकति भाग रत्नपार्कतिर सर्न खोजेको छ तर, हावापानी मिलेको छैन । सामयिक संकलनका नाममा साहित्यिक पत्रिका निकालेर नयाँ सडकमा त्यसको प्रदर्शन गर्नुको रमाइलो अब कहाँ भेटिएला र ?

प्रकाशित :फाल्गुन ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्