लण्डन दूतावासमै नेपाली चलचित्र प्रदर्शन 

- साप्ताहिक संवाददाता

फाल्गुन २९, २०७५

बेलायतमै निर्माण गरिएको नेपाली चलचित्र ‘एटीन’ लन्डनस्थित नेपाली दूतावासमा प्रदर्शन गरिएको छ । सम्भवतः दूतावासभित्रै नेपाली चलचित्र प्रदर्शन गरिएको यो पहिलो पटक हो । प्रेम लामाले निर्देशन गरेको ‘एटीन’ राजदूत डा. दुर्गाबहादुर सुवेदीको अनुरोधमा नारी दिवसको अवसरमा निशुल्क देखाइएको लामाले बताएका छन् । 

ऐतिहासिक महत्व बोकेको बेलायतस्थित नेपाली दूतावासमा चलचित्र प्रदर्शन गर्न पाउनु आफ्नो लागि मात्र नभएर नेपाली चलचित्रकै लागि ऐतिहासिक क्षण रहेको निर्देशक लामाले उत्साहित हुंदै सुनाए ।

गत फेब्रुअरी २४ मा हयारोस्थित सफारी सिनेमामा उक्त चलचित्रको पहिलो रेड कार्पेट प्रिमियर शो गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि रहेका राजदूत डा. सुवेदीले चलचित्र रचनात्मक र सन्देशमुलक बनेको र यसले बेलायतको नेपाली समाजलाई सकारात्मक सन्देश दिन खोजेको प्रतिक्रिया दिएका थिए । 

सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत पुगेर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मिएर हुर्किएको दोस्रो पुस्ताबीच ‘जेनेरेशन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ ।

कला, साहित्य र कलाकारप्रेमी कुटनीतिज्ञ सुवेदी बेलाबखत नेपालबाट आएका एवं स्थानीय कलाकारहरुलाई दूतावासमै बोलाएर सम्मान गर्ने गर्छन्, जुन प्रेरणादायी छ ।

प्रकाशित :फाल्गुन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्