स्वस्थ मिर्गौलाको सचेतना

- डा. सुमनराज ताम्राकार

फाल्गुन २९, २०७५

समस्या कति ?

विश्वभर करिब २० करोड महिला जीर्ण खालका मृगौलाको समस्याबाट पीडित छन् भने बर्सेनि ६ लाखको हाराहारीमा मृत्यु भैरहेको छ र मिर्गौलासम्बन्धी समस्या नै महिला मृत्युको आठौं कारक तत्व बनिरहेको छ । नेपालमा करीब २७ लाख नेपालीमा मिर्गौलासम्बन्धी समस्या भएको, त्यसमध्ये २७ हजारमा अति गम्भीर खालको समस्या भएको तथा बर्सेनि २ हजार ७ सय जनाको मिर्गौलाले पूर्ण रूपमा काम गर्न छाड्ने अनुमान छ ।

करीब ८० प्रतिशत मिर्गौला रोगीले एक पटक पनि डायलाइसिस गराएका हुँदैनन् । नेपालमा हाल करिब ५ सय जनाले डायलाइसिस गराइरहेका छन् । त्यसमाथि एकपटक प्रयोग गरिसकेपछि राम्रोसँग निर्मलीकृत नगरिएका डायलाइसिस मेसिनका कारण बिरामीले थप समस्या बेहोर्नुपर्ने अवस्था छ । डायलाइसिस गराइरहेकाहरू तथा तिनका परिवारजन बिस्तारै आजित हुन थालेपछि मिर्गौला प्रत्यारोपण गर्छन् । 

के हो मिर्गौला ?

मानव शरीरको कम्मरको दुवै तिर ठूलो सिमी आकारका मिर्गौला हुन्छन् । प्रत्येक मिर्गौला करीब १२x६x३ सेन्टिमिटरका हुन्छन् भने दायाँतर्फको मिर्गौला थोरै तल हुन्छ । २४ घण्टामा मिर्गौलाले करिब १ सय ८० लिटर रगत (तरल पदार्थ) मा रहेको विकार वस्तु (हानिकारक र रासायानिक पदार्थ) फिल्टर गरेर फेरि शरीरमा फर्काउँछ । उक्त प्रक्रियामा स्वस्थ्य मानिसको शरीरमा दैनिक करीब डेढ लिटर पिसाब निर्माण हुन्छ । यस हिसाबले ६० देखि ७० मिलिलिटर पिसाब प्रतिघण्टा बन्नुपर्छ । यद्यपि मिर्गौलामा कुनै समस्या उत्पन्न भएको खण्डमा शरीरको विकार पिसाबको माध्यमबाट बाहिर फ्याँक्न कम्तीमा ३० मिलिलिटर पिसाब प्रतिघण्टा बन्नु आवश्यक छ । 

मिर्गौलाले के गर्छ ?

मिर्गौलाले ८५ देखि ९० प्रतिशतसम्म कार्य गर्न छोडेपछि शरीरमा विकारयुक्त रसायानिक वस्तु थुप्रन्छन् । यस्तो प्रतिकूल अवस्थामा मेसिनको सहायताले विकारसँगै अनावश्यक लवण र अतिरिक्त पानी शरीरबाट बाहिर फ्याँक्ने प्रक्रियालाई डायलाइसिस भनिन्छ । शरीरमा विकार थुप्रिएको मात्रा र थुप्रिने अवधि हेरेर पटक–पटक डायलाइसिस गराउनुपर्ने हुन्छ । समग्रमा मिर्गौला प्रत्यारोपण नगरिएसम्म छिटो–छिटो डायलाइसिस गराउँदै जानुपर्ने अवस्था आउँछ । 

मिर्गौला कसरी फेल खान्छ ? कसरी थाहा पाउने ?

मिर्गौलाले काम गर्न छाड्यो भने यसले रगत सफा गर्न सक्दैन र रगतमा क्रियटिनको मात्रा बढ्छ । सामान्यतयाः रगतमा त्रियटिनको मात्रा १ दशमलव २ भन्दा कम हुनुपर्छ । कुनै पनि बेला क्रियटिनको मात्रा बढेको छ भने यो स्थायी वा अस्थायी कुन प्रकारले बढेको हो थाहा पाउनुपर्छ । अस्पताल तथा क्लिनिकमा ५०–६० रुफैयाँ खर्च गरेर क्रियटिनको मात्रा जाँच्न सकिन्छ । ज्वरो अथवा कुनै औषधि सेवन गर्दा रगतमा त्रियटिनको मात्रा अस्थायी तवरले बढ्न सक्छ ।

मिर्गौला तथा पिसाब नलीमा हुने पटक–पटकको संक्रमण, मिर्गौलाकै सुजन (नेफ्राइटिस), मिर्गौलामा पत्थरी, मिर्गौलामा पानीको फोका (सिस्ट) बन्ने समस्या, मिर्गौलाकै वंशानुगत समस्या तथा मिर्गौलाको ट्युमर (क्यान्सर) ले पनि मिर्गौलाको खराब हुने भए पनि मिर्गौलाभित्रको नेफ्रोनको सुजन, लामो समयसम्मको मधुमेह (सुगर), उच्च रक्तचाप (हाई ब्लडप्रेसर) तथा वंशाणुगत कारणले मिर्गौलामा स्थायी प्रकारको खराबी सिर्जना गर्न सक्छ । 

मिर्गौला रोगका लक्षण सुरुमा नदेखिए पनि माथि उल्लेखित स्वास्थ्य समस्याको पृष्ठभूमिमा खुट्टा तथा आँखाको डिल सुन्निने, थकाइ लाग्ने, खान मन नलाग्ने, छिनछिनमा पिसाब लाग्ने भए मिर्गौला बिग्रिएको वा बिग्रन थालेको अनुमान गर्न सकिन्छ । मिर्गौला प्रत्यारोपण निकै खर्चिलो उपचार हो । त्यसैले पनि सुरुमा जो–कोहीले मिर्गौला प्रत्यारोपण गर्ने आँट गर्दैनन् र शुरुमा डायलाइसिसकै सहारा लिन्छन् । हाल नेपालभरिका क्षेत्रीय स्तरसम्मका अस्पतालमा डायलाइसिसको सुविधा उपलब्ध छ । 

के गर्ने ?

नियमित व्यायाम गर्नु, मधुमेहका बिरामीले रगतमा चिनीको माक्रा नियन्त्रणमा राख्नु, नियमित रत्तचाप नाप्नु, उच्च रक्तचापका बिरामीले रक्तचाप नियन्त्रणमा राख्नु, धूम्रपान नगर्नु, जथाभावी पीडानाशक औषधि नखानु, दिनहुँ प्रशस्त मात्रामा पानी (कम्तीमा एक लिटर) पिउनु मिर्गौलाको रोगबाट जोगिने उपाय हुन् । मिर्गौलासम्बन्धी बिमारीमा योग वा आर्युवेदको उपचारतर्फ लाग्दा चिकित्सकको सल्लाह लिएर मात्र खाइरहेको औषधि छोड्नुपर्छ ।

प्रकाशित :फाल्गुन २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्