गलिुङमा खोजिँदै मन्हिोंर्बे ट

- आश गुरुङ

फाल्गुन २८, २०७५

घुमाउने घरको आँगन । एक हूल मानिस जम्मा भएका छन् जो पुरानो भकारीले छाएको छाप्रोमुनी घाटु गुरु गीत गाउँदैछन् । गीति लय र मादलको तालमा ६ जना घाटुसरी कम्मर मर्काएर घाटु नाचिरहेका छन् । गुरुसंग भेडीगोठाले घाटु गीत गाउँदै र सिक्दैछन् । सानैदेखिका साथी तर, विवाह भएर गएपनि सम्बन्ध–विच्छेद भैसकेकी घाटुसरी उनको नजिकै आएर नाच्दा गोठालेलाई केही असहज लाग्छ ।

गुरुङ संस्कृतिमा आधारित मौखिक गीतिकाव्य घाटु गीतमा घाटुसरी ‘यम्फावती’ हुन् । घाटुको अध्ययनका लागि गाउँ आएर मञ्चमा बसेका पूर्वप्राज्ञ इन्द्रबहादुर गुरुङ, उनकी पत्नी काशीपिरी गुरुङका साथै राजकुमार गुरुङ, गल गुरुङ (दीपु), उर्च्यों गुरुङ आदिले घाटुसरी ज्योतिमायालाई रानी यम्फावतीका रूपमा सम्मान गर्छन् । उनले लगाएको लावा (धान भुटेर सिन्कामा उनेर बनाइएको मुकुट) टाउकोबाट झिक्दै मौलिक ‘क्राउन’ लगाइदिएर उनलाई रानी बनाइन्छ ।

घाटु सिकाउँदै आएका गुरु जुठेबा (चन्द्रप्रसाद गुरुङ) ले घाटु गीतमा ‘परशुराम’ राजा भएअनुरुप आफ्ना शिष्य गोठालेलाई परशुराम राजा बनाउनुपर्ने बताउँछन् । उनलाई रानीको छेउ लगिन्छ । घुमाउने घरभित्रबाट कपडाद्वारा निर्मित मुकुट ल्याएर गोठालेलाई लगाइन्छ । आँगनबाट ताली गडगडाहट आउँछ । एकनासले उक्त दृश्य हेरिरहेका स्थानीय बासिन्दाहरू दंग पर्छन् । ‘घाटु गीतलाई आधार मानेर नयाँ प्रयोग गर्न खोजिएको हो,’ उक्त दृश्य निर्देशन गरिरहेका माओत्सेतुङ गुरुङले भने, ‘अब गीतमा होइन, घाटुमै राजा परशुराम र रानी यम्फावती देखिनुपर्छ ।’

दृश्यमा वैशाख पूर्णिमामा घाटु नाचेको दृश्य देखाइए पनि यो गुरुङ चलचित्र ‘मि न्होंर्बे ट’ अर्थात ‘आँखाभित्रको फूल’ को एउटा प्रमुख दृश्य हो । उक्त दृश्य सकिएपछि दृश्यलाई निरन्तरता दिँदै गल्बन्दीई चैंस्यो ङोल्स्यो (गल्बन्दीले तनौंला सोल्टिनी) गीत सुरु हुन्छ । ‘संस्कृतिलाई आँखाभित्रको फूलसंग जोडेका छौं । गोठालेको दुःख, पीडा अनि मायाप्रेम त छँदैछ’ यसअघि ३ वटा चलचित्र लेखन एवं निर्देशन गरिसकेका निर्देशक माओत्सेतुङले बताए । 

चलचित्रकी घाटुसरि यम्फावती मिस चितवन–२०१७ की विजेता सुमन गुरुङ हुन् । यो उनको पहिलो चलचित्र हो । यसअघि ३ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुमनले चलचित्रबाट नयाँ अनुभव सँगालेको बताइन् । चलचित्रमा बिर्खबहादुर अर्थात् बिरे भेडीगोठालाको चरित्र निर्वाह गर्ने युवा लमजुङका खेमराज घले हुन् । बेसीसहरको एउटा सहरकारीमा कार्यरत घलेले यसअघि ३ वटा गुरुङ चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्रमा सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङ आदिले समेत अभिनय गरेका छन् । माघ १९ देखि क्व्होलासोंथर गाउँपालिका–९ को गिलुङ, टक्सार तथा भेडीगोठमा छायांकन गरिएको यो चलचित्र ३५ लाख रुपैयाँमा निर्माण हुन लागेको हो ।

खिमबहादुर गुरुङले खिचेको यो चलचित्रको पोस्ट प्रोडक्सन म्याक्स फोर डी पोखरामा हुनेछ । नयाँ वर्षको अवसरमा चलचित्र प्रदर्शन गरिने निर्माण पक्षले बताएको छ । बुद्धकुमार गुरुङ, राजकुमार गुरुङ तथा अमीर गुरुङको लगानीमा निर्मित यो चलचित्रका गीत पत्रकार आश गुरुङका साथै रोशन गुरुङ र अमीर गुरुङले लेखेका छन् भने त्यसमा तेजेन्द्र गुरुङ, धनबहादुर गुरुङ र अमीर गुरुङ (बन्दीपुरे ठागु) को संगीत छ । चलचित्रमा गुरुङ भाषाको कौडा गीतमा नयाँ प्रयोग गरिएको छ । 

 

प्रकाशित :फाल्गुन २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्