रेस्टुराँको आवरणमा

- अनिल श्रेष्ठ

फाल्गुन २७, २०७५

विराटनगर महानगरपालिका क्षेत्रका केही रेस्टुराँमा डर, त्रास देखाएर किशोरीहरूलाई जवरजस्ती यौनधन्दामा लगाइएको आरोप लगाइएको छ । त्यस्ता रेस्टुराँ सञ्चालकहरूले नै जबरजस्ती डर– त्रास देखाएर काम गर्ने किशोरीहरूलाई यौनधन्दामा लगाउने बताइन्छ ।

पहाडी जिल्लाहरूबाट रोजगारीका लागि आएका किशोरीहरूलाई रेस्टुराँमा काममा लगाउने बहानामा यौनधन्दामा धकेल्ने गरिएको पीडितहरूले बताएका छन् । विराटनगरको एक रेस्टुराँका सञ्चालिकाहरूलाई काम गर्ने किशोरीहरूलाई जबरजस्ती डर त्रास देखाएर अवैध यौनधन्दामा लगाएको अभियोगमा मोरङ प्रहरीले पक्राउ समेत गरेको छ । 

विराटनगर– ९, रोडशेष चौकस्थित एक रेस्टुराँ सञ्चालिकालाई गत आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी एक सञ्चालिकाले किशोरी ल्याइदिने र अर्कीले यौनधन्दामा लगाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कृष्ण खड्काका अनुसार विभिन्न जिल्लाबाट आएका युवतीहरूलाई रेस्टुराँका ग्राहकहरूसँग जबरजस्ती यौनसम्पर्क गर्न बाध्य तुल्याइएको पाइएको छ । 

‘पक्राउ परेकी सञ्चालिकाले आफ्नो रेस्टुराँमा काम गर्ने ३ जना किशोरीलाई लामो समयदेखि अवैध धन्दामा लगाउँदै आएको खुलेको छ,’ डिएसपी खड्काले भने, ‘किशोरीहरूको इच्छाविपरीत रेस्टुराँ सञ्चालिकाले विगत ४/५ महिनादेखि उनीहरूलाई उक्त काममा धकेलेको पाइएको छ ।’

रेस्टुराँ सञ्चालिकाले एक जना ग्राहकसँग ४ हजार देखि १० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पक्राउ परेकी सञ्चालिकाले रेस्टुराँमा समेत अवैध यौनधन्दा चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ डिएसपी खड्काले भने, ‘रेस्टुराँमा काम गर्ने किशोरीहरूलाई ग्राहकसँग अन्यन्त्र पनि पठाइएको पाइएको छ ।’ इच्छाविपरीत अवैध यौनधन्दामा लगाएको भन्दै सोही रेस्टुराँमा काम गर्दै आएका तीन जना किशोरीले जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको जाहेरीका आधारमा प्रहरीले होटल सञ्चालिकाहरूलाई पक्राउ गरेको हो । 

रेस्टुराँमा अवैध यौनधन्दा भएको पाइएपछि अन्य होटल, रेस्टुराँहरूमा पनि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले पक्राउ गरेका रेस्टुराँ सञ्चालिकाहरूलाई मानव बेचविखन तथा ओसारपसार ऐन–२०६४ बमोजिम जिल्ला अदालत मोरङबाट आइतबार नै म्याद थप गरी थप अनुसन्धान गर्दै आएको मोरङ प्रहरीले जनाएको छ । 

प्रकाशित :फाल्गुन २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्