साहित्यमय सीमान्त सहर

- पर्वत पोर्तेल

फाल्गुन २७, २०७५

 

कला–साहित्य उत्सवमार्फत मुलुकको सीमान्त सहर काँकरभित्ता तीन दिन (१८, १९ र २०) कला साहित्यमय भयो । २०६९ मा प्रारम्भ भएको साहित्य मेलाको यो चौथो संस्करण थियो । 

मेलामा नेपाल तथा भारतका ‘हेभीवेट’ लेखक एवं साहित्यकारहरूको जमघट थियो । समाजवादी चिन्तक प्र्रदीप गिरीदेखि वामपन्थी लेखक खगेन्द्र संग्रौलासम्मले उत्सवमा भाग लिए जहाँ समाचारका कुरादेखि पर्यावरणसम्मको चिन्ता गरियो । महोत्सवका तीन दिनमा करिब डेढ दर्जन विषयमा गम्भीर वहस भए भने नाटक, चित्रकला, तस्बिर प्रदर्शनी एवं कविता वाचन पनि गरियो । 

उत्सवको पारम्पारिक ढंग हुँदैन । कहिले क्यानभासमा रंग कोरिन्छ, कहिले अरू नै सिर्जनात्मक काम । यसपालि गीतवाट उत्सवको घुम्टो उघ्रियो । संगीत स्रोताले लेखेको ‘तिमी चिन्दैनौ कोही जो कितावमा छैन..... ’ गीत अंजनबाबु, सौरभ मैनालीको समूहले गाएपछि उत्सव सुरु भयो । उत्सवको मैझारो समाजवादी चिन्तक प्रदीप गिरीको सम्भाषणवाट भएको थियो । 

विश्लेषक हरि शर्माले ‘लोकतन्त्र र आलोचनात्मक चेत’ विषयमा विद्वत् प्रवचन दिँदै लोकतन्त्रमा आमनागरिकलाई प्र्रश्न गर्ने छुट हुनुपर्ने बताए । ‘साहित्यको दलन’ विषयमा युग पाठक, जेवी विश्वकर्मा, सुधिर क्षेत्री तथा दामोदर ढुंगेलले बहस गरेका थिए । ‘आख्यानमा वर्गचेत’ शीर्षकको छलफलमा सरस्वती प्रतीक्षा, पुण्यप्रसाद खरेल तथा रेमिका थापासँग पत्रकार दीपक सापकोटाले बहस चलाए । ‘अभिव्यक्ति र वहिष्करण’ शीर्षकको छलफलमा नयनराज पाण्डे, अनुभव अजित तथा सुप्रिया मानन्धरवीच वन्दना ढकालले छलफल चलाइन्् । ‘भू–राजनीतिक चिन्तन’ मा भारतका प्राध्यापक महेन्द्र पी लामा तथा पत्रकार सुधीर शर्मावीच वसन्त बस्नेतले छलफल चलाए । छलफलमा बदलिदो परिस्थितिमा नेपालको परराष्ट्र सम्बन्ध कसिलो बनाउने कडीहरूको खोजी गरिएको थियो । 

दलालीको दलदलमा सांसद राम कार्की, लेखक विष्णु सापकोटा तथा पत्रकार अखिलेश उपाध्यायले छलफल गरे । निरोज कट्टेलले संचालन गरेको बहसमा पुँजीवादले पैदा गरेका तमाम समस्या केलाइएको थियो । पर्यावरणको खबरमा पत्रकारहरू नारायण वाग्ले र रमेश भुषाल सागर शिवाकोटीसँग गफिए । कविहरू विनोदविक्रम केसी, अभय श्रेष्ठ, गुरुड सुशान्त तथा प्रणिका कोयुले काव्यमाथि विद्रोह गरे । चित्रकारहरू एससी सुमन, सरोजा खड््गी एवं पवन राजवंशीले लोक चित्रकलाका सम्बन्धमा विमर्श गरे । सांस्कृतिक राष्ट्रवादका सम्बन्धमा लेखक राजेन्द्र महर्जन, मानवशास्त्री डम्बर चेम्जोङ एवं लेखक अर्चना थापाले छलफल गरेका थिए । लेखक तथा चिन्तक आहुतिले ‘दक्षिणपन्थको सांस्कृतिक जग’ मा सम्भाषण दिए । अन्तिम दिन पाका समाजवादी चिन्तक प्रदीप गिरी मञ्चमा उक्लिए । गिरिले ‘प्र्रेम र यौनः पहेली अनेक’ शीर्षकमा करिव डेढ घण्टा अनुभव साटे । खासगरी महात्मा गान्धी र रजनिशको यौन जीवन जोड्दै उनले यौन र प्रेमका अनेकौ आयाममाथि चर्चा गरे । ‘समृद्धि यात्राको संकट’ मा अर्थशास्त्री खगेन्द्र प्रसाई र विश्व पौडेलसँग विनोद तिम्सिनाले बहस गरेका थिए । 

पत्रकारहरू शिव गाउँले, सुविना श्रेष्ठ र संगीत स्रोतासंग नारायण कडरियाले ‘समाचार, झुटा समाचार र खरिद समाचार’ विषयमाथि गम्भीर छलफल चलाए । समाज विज्ञान र मानवीय संकटका बारेमा संजीव उप्रेती, भाष्कर गौतम, अमिना सिंह र सुप्रिया मानन्धर बीच छलफल चलेको थियो । ‘सत्ता र अभिव्यक्ति स्वतन्त्रता’ शीर्षकमा सीके लाल र खगेन्द्र संग्र्रौलाले पालैपालो आफ्नो धारणा व्यक्त गरे । संग्रौलाले इतिहासमा आफूले झेलेका अभिव्यक्ति स्वतन्त्रताका अनुभूतिहरू सुनाए । ‘पुरुषको मुक्ति कसरी ?’ शीर्षकमा आहुति, सीमा आभाष र प्रणिका कोयू वीच भावना ओलीले रोचक वहस चलाइन् । 

रिडर्स झापाका अध्यक्ष उज्जवल प्रसाईलाई लाग्छ, ‘मोफसलमा अध्ययन गर्ने संस्कार विकास गर्न स्थानीय स्तरबाटै प्रयास हुनुपर्छ ।’ काठमाडौंको ‘प्रभुत्व’ लाई निस्तेज पार्ने एउटा अवसर ‘कला साहित्य उत्सव’ पनि हो । खासमा कला साहित्य उत्सव जयपुर लिट्रेचर फेष्टिवल, एनसेल लिट्रेचर फेस्टिबलहरूबाटै प्रेरित भएर आयोजना गरिएको हो । त्यस्ता महोत्सवहरूका बारेमा अखबारमा पढ्ने तर चाहेर पनि प्रत्यक्ष सहभागि बन्न नसक्ने साहित्यप्रेमीहरूको जमात ठूलो छ । काठमाडौंबाहिर पूर्वको त्यस्तो जमातलाई मोफसलमै यो अवसर प्राप्त भएको छ । काठमाडौंबाहिर यस्तो कार्यक्रम सञ्चालन गर्नु अत्यन्त चुनौतीपूर्ण हुन्छ । खर्च जुटाउन समस्या पर्छ, तर स्थानीय संघ संस्था एवं व्यक्तिहरूको सहयोगले उत्सव सफल हुँदै आएको उत्सव संयोजक हरि तिम्सिनाले बताए । स्रोत र सुविधा काठमाडौंमै सञ्चित भएकाले अध्ययन, अनुसन्धान, लेखन, बौद्धिक कर्म पनि काठमाडौं केन्द्रित हुन्छन् । त्यसैले मोफसलका फाठकहरूले यस्ता अन्तर्व्रियामा कमै सहभागी हुने मौका पाउँछन् । रिडर्सको यो उत्सवले काठमाडौं वा पोखराका कार्यक्रममा सहभागी वन्न नसक्ने पूर्वेली लेखक, पाठक एवं बौद्धिक समुदायवीच भेटघाटसँगै विचार विमर्शमा सघाउ पुर्‍याएको इलामका कवि प्रकाश थाम्सुहाड बताउँछन् ।

 

प्रकाशित :फाल्गुन २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्