सी डिसाइड्स–सी क्यान

- लक्ष्मी भण्डारी थापा

फाल्गुन २७, २०७५

 

भर्खरै सी डिसाइड्स डे मनाइएको छ । मार्च २ मा संसारभरका विभिन्न स्थानलगायत नेपालमा समेत मनाइएको सी डिसाइड्स डेले महिला अधिकार एवं हकहितका क्षेत्रमा नयाँ तरंग ल्याएको छ । सी डिसाइड्स डे मनाउने क्रममा कतै–कतै १ लाख २० हजारभन्दा बढी महिला–पुरुष तथा युवाहरूको सहभागितासमेत देखियो । नेपालमा भने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोग एवं अधिकारकर्मी तथा अभियन्ता शान्तालक्ष्मी श्रेष्ठको अगुवाइमा यो सम्मेलन सम्पन्न भएको हो । ह्यासट्याग मी टुको चर्चा नसेलाउँदै नयाँ आवरणमा झुल्किएको सी डिसाइड्स अभियान अहिले संसारभर विस्तारित हुँदै गएको छ । 

‘हामी देखिरहेका छौं, संसारमा हरेक महिला तथा युवती गोपनियता, लैंगिक पहिचान, जीवनसाथी छनौट, यौनसुख, विवाह, बालबच्चा, अस्थायी साधनको प्रयोग, बाँझोपन, गर्भावस्था, गर्भपतन, क्यान्सर, एचआइभी–एसटिडी तथा एड्स अनि विविध खालका हिंसाका सम्बन्धमा आवाज उठाउन प्रयासरत छन् । यही समाजमा दबाबमा विवाह, बालविवाह, गर्भवती, गर्भपतन अनि लिङ्गका आधारमा हिंसा र भेदभाव पनि उत्तिकै छ । यो अभियानको मुख्य उद्देश्य जब एउटी महिला वा युवती सी डिसाइड्सका लागि तयार हुनेछिन् तब संसार मजबुत र सुरक्षित हुनेछ भन्ने हो । जब कुनै महिला आफूमा निहित अधिकारको प्रयोग एवं सम्मान गर्दै आफ्नो स्वास्थ्य, जीवन र भविष्य सुधारका लागि अघि बढ्नेछिन्, जसले एक व्यक्ति मात्र नभै समग्र परिवार, समाज र राष्ट्रको स्तरोन्नति हुनेछ भन्ने मूल मन्क्र बोकेको यो सन्धिमा हरेक व्यत्ति, संघ–संस्था र राष्ट्रसमेतले हस्ताक्षर गर्न सक्छन् । 

जब नारीका लागि अरूले निर्णय गर्छन् तब उनी हिंसा, मनोविषाद एवं अस्वस्थताको सिकार हुँदै उनको आत्मसम्मानमा ठेस लाग्नेदेखि लिएर उनका सपना मात्र होइन, जीवन नै समाप्त हुन्छ । त्यसैले यो अभियानले महिला आफूले निर्णय गर्न नपाउने बित्तिक्कै आफूलगायतको जीवन सिर्जनामा अवरोध आउने र चौतर्फी हिंसा बेहोर्नुपर्ने तथ्यलाई महत्व दिएको छ ।

नेपालमा भने यस्ता अभियानले सफलता प्राप्त गर्ने कुरा यहाँ सदियौंदेखि चलिआएका हाम्रा संस्कार, रीतिरिवाज, मूल्य–मान्यता, परम्परा एवं सामाजिक सोचको तहले निर्धारण गर्ने संविधानविद् पूर्णमान शाक्य बताउँछन् । ‘आर्थिक, सामाजिक, सांस्कृतिक एवं व्यवहारिक दृष्टिकोणबाट यसमा हामीले धेरै मेहनत गर्नुपर्छ ।’ शाक्य भन्छन्– ‘यद्यपि परिवर्तन असम्भव छैन ।’ उता अभियानको नेतृत्व गरिरहेकी बियोन्ड बेइजिङ कमिटीकी अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठ भने महिलाहरूलाई आफ्नो निर्णय आफैं गर्न सक्ने बनाउने कुरा सम्भव बनाएरै छाड्ने कुरामा दृढ देखिन्छिन् । श्रेष्ठ भन्छिन्— नयाँ कुराको सुरुवात हरेक व्यक्तिबाट हुनुपर्छ । जुनसुकै अभियान एक जना मानिसले नै चलाउने हो । हिजोका रीतिरिवाज पनि हामीजस्तै मानिसबाट सुरु भएका हुन् । परिवर्तन हामी आफैंले गर्नुपर्छ । जब महिला आफ्नो शरीर, जीवन र भविष्यका बारेमा निर्णय गर्न सक्ने हुन्छिन् तब नेपाली समाज र नेपाल मात्र होइन विश्व नै सुरक्षित हुनेछ अन्यथा हिंसाले प्रश्रय पाइरहनेछ ।’ 

‘जब उनी निर्णय गर्छिन्– संसार थप बलियो, सुरक्षित र सुन्दर बन्नेछ ।’ भन्ने नाराका साथ सुरु भएको सी डिसाइड्सको मुख्य धारणा के हो भने— उनी आफैंले निर्णय गर्न पाउनुपर्छ, कहाँ, कहिले र कोसँग शारीरिक सम्पर्क राख्ने, प्रेम गर्ने, विवाह गर्ने, बच्चा जन्माउने, स्वस्थ शरिरको छनौट, गर्भनिरोधको साधन प्रयोग गर्ने वा नगर्ने, गर्भपतन गराउने–नगराउने, तनाव मुक्त रहने, क्षतिबाट जोगिने, न्याय–अन्याय छुट्याउने आदि विषयमा नारीको पहिलो अधिकार स्थापित हुनुपर्छ ।

पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाका अनुसार उनको पुस्ताका धेरै युवतीले यस्तो स्वतन्त्रता अनुभव गर्न पाएका छन् भन्ने अनुमान छ, जस्तो कि उनी आफ्ना बारेमा अरूको निर्णय कदापी हाबी हुन दिन्नन् । ‘तैपनि नेपालमा सबै नारी यही तहका छैनन्,’ सुब्बा भन्छिन्– हामीकहाँ धेरैजसो महिला तथा युवती स्वनिर्णयबाट वञ्चित भएकै कारण विविध खालका हिंसामा परेका छन् । तिनका लागि अब हामी उठ्नैपर्छ, बोल्नैपर्छ जसमा यस्ता अभियानले संयन्त्र बनेर वकालत र नेतृत्व गर्छन ।’ लामो समयदेखि महिला अधिकारका क्षेत्रमा कार्यरत लिली थापाका अनुसार समृद्ध नेपालको नारा साकार बनाउन यहाँका ५२ प्रतिशत महिला समृद्ध हुनैपर्छ । ‘त्यसका लागि पनि अब यस्ता अभियान चल्नैपर्छ, चलेर मात्र हुँदैन, कार्यान्वयन हुनैपर्छ ।’ थापा भन्छिन्– ‘त्यसका लागि नारी स्वयंले निर्णय गर्न सक्ने अवस्था र अनुकूल वातावरण सिर्जना गरिनुपर्छ ।’ 

के हो सी डिसाइड्सस् ?

महिलाका हक–अधिकार, स्वतन्क्रता, सशत्तीकरण, प्रजनन स्वास्थ्य अधिकार, आर्थिक–सामाजिक एवं मानसिक सबलताका मुद्दा अब नौला रहेनन् । सयौं वर्षदेखिका यी महिला मुद्दा चरम विकसित र पश्चिमा मुलुकमा त स्थापित भै नै सके, तर हामीकहाँ अझै प्रारम्भिक चरणमै छन् । केही वर्ष अघि एमनेस्टी इन्टरनेसनललगायत मानवअधिकार संघ–संगठनहरूले उठाएको ‘माई बडी माई राइट्स’ को झझल्को दिने तर त्यो भन्दा भिन्न सी डिसाइड्स अभियानले हरेक महिला तथा युवतीका लागि आफ्नो शरिर, जीवन र भविष्यका बारेमा बिना कुनै प्रश्न निर्णय लिन सक्ने अधिकारको पक्षमा बोल्छ । 

यसले यस्तो आवाज बुलन्द पारेको छ– बिनाकुनै प्रश्न कुनै पनि महिला वा युवतीले आफ्नो शरिर, आफ्नो जीवन र आफ्नो भविष्यका सम्बन्धमा निर्धक्क निर्णय लिन सक्ने अधिकार आफूमा निहित राख्नेछिन् । त्यसमा कसैले कुनै प्रश्न उठाउन वा रोकतोक गर्न पाउनेछैन । यो एक विश्वव्यापी अभियान हो, जसले विश्व राजनीति, समाज र समुदायमा मात्र होइन हरेक महिला तथा युवतीको हृदयमा परिवर्तनको झंकार उत्पन्न गर्दै अघि बढ्न उत्प्रेरित गर्छ । हालसालै शुरु भएको सी डिसाइड्सको आधिकारिक पेजमा लेखिएको छ– हामी संसारका हरेक महिला तथा युवतीका मौलिक अधिकारभित्र उनको शरीरमाथिको अधिकार उनी आफैंमा निहित होस् भन्ने चाहन्छौं । समावेशी यौनिक शिक्षा, प्रजनन सम्बन्धी समग्र निर्णयको अधिकार लगायत आफ्नो जीवन र भविष्यको निर्णायक अधिकार सम्बन्धित व्यक्ति स्वयंको अधीनमा रहनुपर्छ । 

यो अभियानले विश्वभरका राजनीतिज्ञ, फरक पेसा व्यवसायका विशेषज्ञ, मुख्यतः युवा जमातलाई ऐक्यबद्ध भएर नारी हितमा एउटा नयाँ बाटो पहिल्याउनका लागि अघि बढ्न आग्रह गरेको छ । यसमा लामो समयदेखिका अभियन्ता हुन् वा भर्खरै अभियान थालेका टिनएजर्स सबैलाई एकत्रित हुन र एकढिक्का भएर यो अभियानमा लाग्न आह्वान गरिएको छ । 

को को जोडिएका छन् अभियानमा ?

आरोन मोटसोयल्डी (स्वास्थ्यमन्त्री, दक्षिण अफ्रिका)

एलेक्जेन्डर डि क्रु (उप–प्रधानमन्त्री तथा विकास सहकार्य मन्त्री, बेल्जियम)

अल्भारो बर्मेजो (डाइरेक्टर–जनरल, इन्टरनेसनल प्लान्ड पार्टनरहुड फेडरेसन) 

एमिनातु सर (कन्ट्री डाइरेक्टर, पाथ, सेनेगल) 

एन्ने मारी भिरोलाइनेन (मन्त्री, व्यापार तथा अन्तर्राष्ट्रिय विकास, फिनल्यान्ड) 

बिन्से ग्वावानास (अन्डर सेक्रेटरी जनरल, अफ्रिmका, संयुक्त राष्ट्रसंघ) 

त्रिस्टिन स्टेगलिन (एक्ज्युकेटिभ डाइरेक्टर, फ्रन्टलाइन एड्स)

देलबर नजारी (मन्त्री, महिला तथा बालबालिका, अफगानिस्तान)

जर्जिया अर्नोल्ड (एक्ज्युकेटिभ डाइरेक्टर, एमटिभी)

इन्दिरा जयसिंह (मानवअधिकार अधिवक्ता, भारत)

लिना अबिराफेह (निर्देशक, इन्स्टिच्युट अफ वुमन स्टडी, साउदी अरेबिया) 

सिमोन कुक (सिइओ, मेरी स्टोप्स इन्टरनेसनल)

कहाँबाट कसरी सुरु भयो ?

लिलियन प्लोमेन, नेदरल्यान्डकी पूर्व फरेन ट्रेड एन्ड डेभलपमेन्ट मिनिस्टर तथा हाल लेबर पार्टीका तर्फबाट संसद सदस्य हुन् । सन् २०१७ मा जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्लोबल ग्याग रुलमा हस्ताक्षर गरे, उनले एउटा बोल्ड डिसिजन लिंदै महिलाको शरिरमाथिको अधिकारमा ट्रम्पको एक्लो निर्णय चल्दैन भन्ने अभिव्यक्ति दिइन् । उनको यो अभिव्यक्ति सामाजिक सञ्जाल, सञ्चार–माध्यम आदिमा भाइरल भयो । ह्यासट्याग चुलिंदै जान थाल्यो । त्यसको ठ्याक्कै ६ सातापछिको सम्मेलनमा २ करोड महिलाको प्रतिज्ञा आयो जुन ग्लोबल ग्याग रुलको गहिरो असर थियो । यसैबाट हौसिएर लिलियन प्लोमेनले शुरु गरेको यो अभियानमा हालसम्म विभिन्न राष्ट्रप्रमुख, नेता–अभिनेता, संयुक्त राष्ट्रसंघका प्रतिनिधिलगायत कूटनैतिक नियोगका नेतृत्व तहमा वर्चस्व जमाएका व्यक्तिहरूले साथ दिइरहेका छन् ।  

 

शान्ता लक्ष्मी श्रेष्ठ

अध्यक्ष, बियोन्ड बेइजिङ कमिटी नेपाल

नेपालमा सी डिसाइड्स सम्मेलन कसले आयोजना गरेको हो ?

यसपटक नेपालमा सम्पन्न सी डिसाइड सम्मेलन सी डिसाइड्स मुभमेन्टको वेबसाइटमा रहेको ग्लोबल टिम, रिजनलमा एरो (मलेसियास्थित एसिया प्यासिफिक रिसर्च एन्ड रिसोर्स सेन्टर अन वुमन), दिल्लीस्थित आइपिपिएफ तथा नेपालमा स्थानिय आयोजक बियोन्ड बेइजिङ कमिटीले संयुक्त रूपमा आयोजना गरेका हुन् । 

क–कसको सहभागिता थियो ?

२५ देशका २५ वर्ष उमेर समूहका २५ जना महिला–पुरुष ग्लोबल लिडर्स रहेको सम्मेलनमा बेलायत, अफगानिस्तान, फिलिपिन्स, भारत, पाकिस्तान, भुटान, बंगलादेश, श्रीलंका, बेल्जियम, केन्या, मलावीलगायत ४५ देशका अभियन्ताहरूको सहभागिता थियो । नेपालका तर्फबाट हरेक प्रदेशका एक–एक सांसद तथा युवा, संघीय संसद्का १८ कमिटीमध्येका ८ वटा कमिटीका महिला अध्यक्षलगायत ठूलो संख्यामा राजनीतिज्ञ, अधिकारकर्मी, कूटनीतिज्ञ, लेखक, पत्रकार आदि सम्मेलनमा सहभागी थिए । 

नेपालजस्तो मुलुकमा यस्ता ‘मोर्डन मुभमेन्ट’ कत्तिको टिकाउ ठहरिएला ?

कुनै पनि अभियान चलाए चल्छ, नचलाए चल्दैन । हाम्रो परिप्रेक्ष्यमा हामी महिला तथा युवतीले आफ्नो शरीर तथा प्रजनन स्वास्थ्यमा आफ्नो निर्णय हुनुपर्छ भन्ने हो । संविधानमा मौलिक अधिकारमै महिलाहरूलाई प्रजनन स्वास्थ्य अधिकार दिइएको छ । यो कुरालाई संविधान र ऐनले नै सुनिश्चित गरेको छ । खास गरेर महिलाको शरीर विवाहपछि श्रीमान्को भन्ने सोच अझै छ, तर पुरुषको शरिर पुरुषको र महिलाको शरीर महिलाकै हुनुपर्छ भन्ने यो अभियानको सार हो । यसले जुन बेला चाह्यो त्यही बेला शारीरिक सम्पर्कका लागि महिला तयार हुनुपर्ने र नचाहँदा–नचाहँदै पनि सन्तान जन्माइदिनुपर्ने कुराबाट महिलाहरूलाई मुक्त गर्छ । आठवटा छोरी पाइसक्दा पनि छोराका लागि पुनः गर्भवती हुनुपर्ने, शरीरिक स्वास्थ्यका कारण गर्भपतन गराउन खोज्दा आफ्नो शरीरमाथि अरुकै निर्णय हावी हुने जस्ता समस्यालाई यो अभियानले सुल्झाउँछ । 

आगामी योजना के–के छन् ?

आईसीपिडी सम्मेलन (सन् १९९४ मा कायरोमा भएको) को पच्चीसौं वार्षिक उत्सवका अवसरमा २५ देशका २५ वर्षका २५ जनालाई ग्लोबल लिडरका रूपमा अगाडि ल्याइएको छ । यिनीहरू नै सन् २०१९ को नोभेम्बरमा केन्याको राजधानी नैरोबीमा हुने सम्मेलनमा सहभागी हुनेछन्, जसमा नेपालका तर्फबाट सविना पोखरेलले प्रतिनिधित्व गर्नेछिन् । त्यहाँ उनले हाम्रा नीति–कार्यक्रमका सम्बन्धमा अन्तर्राष्ट्रिय प्लेटफर्ममा जानकारी दिनेछिन्, जसले गर्दा एक्सनमा जान थप सहयोग मिल्नेछ । 

पूर्णमान शाक्य, संविधानविद् तथा वरिष्ठ अधिवक्ता 

नेपालको संविधानमा हरेक नागरिकलाई आत्मसम्मानका साथ बाँच्न पाउने र वैयक्तिक स्वतन्त्रता, मौलिक हकका रूपमा प्रदान गरिएको छ । कुनै पनि नेपाली नारीले आफ्नो जीउ, जीवन र भविष्यका सम्बन्धमा जबसम्म आफैंले निर्णय गर्न पाउँदैनन् तबसम्म उनीहरूको यो मौलिक हक कागजी खोस्टाका रूपमा रहनेछ । वैवाहिक बलात्कारलाई मुलुकी अपराधसंहिताले अपराधका रूपमा परिभाषित गरिसकेको, कानुनले महिलालाई गर्भपतन गराउने–नगराउने सम्बन्धमा पनि आफ्नो जीउ ज्यानको सुरक्षा र इच्छालाई प्राथमिकता दिइसकेको तथा यस सम्बन्धमा परिवार तथा श्रीमान्ले करबल गर्न नपाउने अवस्था भएकाले पनि नेपालको कानुन महिलाका पक्षमा छ । यति हुँदाहुँदै पनि आर्थिक, सामाजिक, सांस्कृतिक एवं व्यवहारिक दृष्टिकोणबाट हामीले अझ धेरै मेहनत गर्नुपर्ने देखिन्छ । वास्तवमा यसको उपलब्धि अपेक्षाअनुसार हुन सकेको छैन । यसलाई हामीले चाहेजस्तो बनाउन बनाउन सामाजिक जनजागरणका कार्यक्रम, कानुनी साक्षरता र महिलाका पक्षमा कानुनको कार्यान्वय हुनुपर्छ यसका लागि प्रहरी–प्रशासन आदिमाझ सचेतनामूलक कार्यक्रमहरू चलाइनुपर्छ ।

लिली थापा, अध्यक्ष, संकल्प

यो अभियानले युवाहरूलाई अलि बढी फोकस गरेको छ । महिला हितका विषयमा बिना प्रश्न निर्णय गर्न पाउने अधिकार नै सी डिसाइड हो । महिलाले आफ्ना लागि प्राथमिकता दिइरहेका हुँदैनन् । आफ्नो व्यक्तित्व बनाउने, ज्ञान हासिल गर्ने, करियर छनौट गर्ने, शरीरमाथिको निर्णय गर्ने अवधिभर महिला स्वयंले पाउनुपर्छ भन्ने यसको मूल उदेश्य हो । घरभित्रको निर्णय मात्र नभएर राष्ट्रनिर्माणमै अर्थपूर्ण सहभागिता र निर्णयमा उनीहरूको क्षमता अभिवृद्धि गर्न महिलाहरू आफैं अघि सर्नुपर्छ । देशका ५२ प्रतिशत महिला समृद्ध भए भने मात्र नेपाल समृद्ध हुन्छ त्यसका लागि महिला तथा युवा स्वयंले निर्णय लिन सक्ने वातावरण हुनुपर्छ । हामीकहाँ अझै पनि विवाह गर्ने, बच्चा जन्माउने, कतिवटा जन्माउने, छोरा हुनैपर्ने, २५ वर्ष नाघ्यो भने विवाह हुँदैन भन्दिने जस्ता कुरा समाज र परिवारले निर्धारण गर्छ । ति समग्र कुरामा महिला स्वयंको निर्णय हुनुपर्छ भन्ने नै यो अभियानको मूल मर्म हो ।

माल्भिका सुब्बा, सञ्चारकर्मी 

यी सबै म आफैंले उपभोग गरिरहेका कुरा हुन् । मैले आफ्नो जीवनमा जति पनि निर्णय लिएँ र लिइरहेकी छु स्वतन्त्र रूपमा आफैं लिइरहेकी छु । त्यसैले मेरा लागि यो नौलो कुरा हुँदै होइन । हाम्रो समाजमा महिलाले आफ्नो हकमा निर्णय लिन नसक्ने वातावरण बनाइदिने प्रचलन छ । लिन खोज्दा पनि नराम्रो हो भनिन्छ, जसले महिलाको आत्मविश्वास कम हुने, महिलामा म गलत हुँ कि भन्ने मानसिकता विकसित हुँदै जान्छ । जहाँसम्म शारिरीक सम्बन्धको कुरा छ यो दुई जनाबीचको सहमतिमा हुनुपर्छ, न कि पुरुष वा महिलाको एकल निर्णयमा । सी डिसाइड अभियानले माई बडी माई राईट्स अर्थात् मेरो शरीर मेरो अधिकारको वकालत गर्छ जस्तो लाग्छ । यो हाम्रो जस्तो समाजमा आवश्यक पनि छ जहाँ धेरै महिला तथा युवती स्वनिर्णयबाट वञ्चित भएकै कारण हिंसामा परेका छन् ।

फाइजा परविन, संस्थापक निर्देशक, ओपन स्पेस नेटवर्क

अहिलेका युवाहरूमा जागरण आइसकेको छ । जस्तो कि पढ्ने विषयमा, करियर वा विवाहका सम्बन्धमा, आफुलाई मन पर्ने–नपर्ने कुरामा छनौट गर्ने अधिकार पाउने क्रममा छन् । मेरै परिवारमा दिदीले पढाइ सकेर करियर स्थापित गरी विवाह गर्नुभयो । मलाई परिवारले मेरो छनौटमा स्वतन्त्रता दिएको छ । २४ वर्ष पुगेकी म २ वर्षदेखि आफ्नै कम्पनी चलाइरहेकी छु जुन मेरो आफ्नै निर्णय थियो यसमा कसैको हस्तक्षेप थिएन । मेरो एक जना साथी छ जसको घरमा परिवारका हरेक सदस्य मांसहारी छन् तर उनी शाकाहारी हुन् र उनी महिनावारी पनि बार्दिन । सी डिसाइड नेपाली समाज परिवर्तनका लागि बलियो अस्त्र हो । यो ह्यासट्याग अभियानमा मात्र सीमित नरही कार्यान्वयनमा समेत गयो भने परिवर्तन सम्भव छ ।

मोहिनी प्रधान, ब्रान्च म्यानेजर, माछापुच्छ्रे बैंक, बालुवाटार 

नेपालमा यो अभियान जटिल छ, किनभने यहाँ महिलालाई कुनै किसिमको स्वतन्त्रता छैन । परिवार तथा समाजमा महिलाको आवाज कमै सुनिन्छ । महिलाका विषयमा समाज खुलेर सहयोगी नभएका कारण यो विषय कठिन नै भए पनि असम्भव भने छैन । यो महिलाका लागि हुनैपर्ने कुरा हो । दर्जनौं महिला दिवस मनाए पनि अहिलेसम्म हाम्रो समाज महिलाका मुद्दामा पूर्ण सजग र सचेत हुन सकेको छैन । यो विषयमा महिलालाई सहयोग गर्नैपर्छ । महिला पहिलो शिक्षिका हो, यो तथ्य हामी सबैले बुझ्नैपर्छ । ब्रह्माण्ड सृष्टि गर्ने नै महिला हुन्, त्यसैले उनको मुल्य नबुझी सुखै छैन । यस्ता अभियान चल्नु जायज हो, अझ विशेष गरी हाम्रो जस्तो समाजको ग्रामीण क्षेत्रबाट यसको शुरुवात हुनुपर्छ । यसमा सञ्चारमाध्यम तथा निर्णायक तहको चासो र सहयोग रहनुपर्छ ।

सबिना पोखरेल, सी डिसाइड्स ग्लोबल लिडर नेपाल, कार्यक्रम अधिकृत–भिजिबल इम्प्याक्ट्स

सहभागीहरू २५ वर्षका भन्ने थियो । सुचना प्रवाह भैरहेको थियो । यौन तथा प्रजननमा काम गरिरहेकी हुनाले म आफैं पनि यसमा सहभागी हुन पुगें र नेपालबाट २५ जनामा परें । अब मैले आफ्नो देशका टार्गेटेड समुदायमा पुगेर परिवर्तन ल्याउनुपर्नेछ । हामीले वकालत र काउन्सिलिङसँगै युथ नेटवर्कसँग कनेक्ट गरेर यो प्लेटफर्म प्रयोग गर्नेछौं । यथास्थितिमा परिवर्तन नै हाम्रो उपस्थिति हो । म सन् २०१९ को नोभेम्बरमा नैरोबीमा हुने सी डिसाइड्स सम्मेलनमा २५ वर्षमा नेपालले प्राप्त गरेका सफलता र अबको बाटो कसरी तय गर्ने भन्ने विषयमा प्रस्तुतीकरण दिने तयारी पनि गर्दैछु ।

प्रकाशित :फाल्गुन २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्