भाइले गरे दाजुको हत्या

- ऋषि राई

फाल्गुन २७, २०७५

उदयपुरको कटारी नगरपालिका–३, डाँडाटोलमा १५ फागुन राति झड्केलो भाइ २० वर्षीय बुद्धिराम मगर (भुजेल) ले ४२ वर्षीय दाजु प्रकाश भनिने रामबहादुर मगरको छुरा (कर्द) रोपेर हत्या गरेका छन् । बेलुका ९ बजे छुरा प्रहारपछि घाइते रामबहादुरको कटारी अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको थियो ।

बुवा लीलबहादुर रानामगरको २ फागुनमा मृत्यु भएपछि किरियापुत्री बस्ने विषयमा दाजु– भाइबीच विवाद बढेको छिमेकीहरू बताउँछन् । अन्ततः किरियापुत्रीको तेह्रौं पुण्यतिथिकै दिन भाइ बुद्धिरामको छुरा प्रहारबाट रामबहादुरको ज्यान गयो । लीलबहादुर रानामगरले पहिलो श्रीमतीको निधनपछि तुलमाया भुजेलसँग दोस्रो विवाह गरेका थिए । 

तुलमायालाई लिलबहादुरले मगर थरकै नागरिकता दिलाएका थिए । ‘बुद्धिराम भुजेलपट्टिका छोरा भएकाले बुवाको किरियापुत्री नबस्दा हुने सुझाव बुढापाकाहरूले दिएका थिए ।’ छिमेकी केदार मगरले भने– ‘सोहीअनुरूप रामबहादुर मात्र किरियापुत्री वस्ने भनेपछि बुद्धिराम र रामबहादुरबीच विवाद बढेको थियो ।’ बुद्धिरामले आमाको मात्र किरियापुत्री बस्दा हुने छिमेकीहरूको सल्लाह थियो ।

सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको उक्त परिवारमा भएको घटनाको रात दुवैले सामान्य मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । छिमेकीहरूले भाइ बुद्धिराम लागूऔषध तथा मद्यपान प्रयोगकर्ता भएकै कारण हत्याको घटना भएको बताएका छन् । घटना हुने राति पनि मादक पदार्थ सेवन गरेका भाइ बुद्धिराम घर पुग्नेबित्तिकै सामान्य विवादमै आमा तुलमायाको सिरानीमा रहेको छुरा निकालेर दाजुमाथि प्रहार गरेका थिए । 

यद्यपि मृतककी श्रीमती विमला मगरले दिएको जाहेरीमा भने राति सिरकको निहुँमा भएको झगडापछि भाइले छुरा प्रहार गरेको उल्लेख भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी धुबकुमार श्रेष्ठले बताए । छुरा प्रहार गर्ने भाइ बुद्धिरामलाई प्रहरीले फागुन १६ गते कटारीबाटै नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान गरिरहेको छ । भाइले दाजुको हत्या गरेको स्वीकार गरिसके पनि घटनाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रकाशित :फाल्गुन २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्