कुरा बुझ्नु भयो त !

- संकलक : जीवन भट्टराई

फाल्गुन २४, २०७५

 

अलि–अलि मात्र पढेकी खडानन्दकी पत्नी चेक साट्न बैंकमा गइन् ।

क्यासियर ः चेकको पछाडि यहाँनेर साइन गर्नुस् ।

खडु पत्नी ः के हो साइन भनेको ? कसरी गर्नु ?

क्यासियर ः पहिले मोबाइल सोबाइल नभा’का बेला तपाईंका पति बाहिर हुँदा चिठी लेख्नुहुन्थ्यो नि, हो त्यो चिठीको पुच्छरमा जसरी आफ्नो नाम लेख्नुहुन्थ्यो नि, हो त्यस्तै ।

खडु पत्नी ः ए ! 

त्यसपछि खडु पत्नीले चेकको पछाडि लेखिन्— उही सधैं तिम्रो मायाको पर्खाइमा बस्ने तिम्रै प्यारी भुन्टी । 

अविवाहित खडानन्द र विवाहित हरिबोलको गफगाफ 

खडानन्द ः यत्रो टाइमसम्म पनि बिहे गर्ने साइत जुरेन । बल्ल–बल्ल एउटीसँग लभ पर्ला जस्तो आशा जाग्या थियो, तर त्यो पनि आशामै सीमित होला जस्तो भयो यार ! त्यसले पनि धोका नै दिए जस्तो छ ।

हरिबोल ः किन र ? कसले धोका दियो ............?

खडानन्द ः अस्ति एउटा चेक साट्न बैंक गाको, क्यासियर केटीले बिस्तारै चेकको पछाडी आफ्नो फोन नम्बर लेख्नुस् भनी । हत्त न पत्त नम्बर लेखेर दिएको, सात दिन भयो आजसम्म कल गरेकी छैन यार त्यसले ।

खडानन्द र प्रहरी ।

प्रहरी ः तपाईंको सामुन्ने नै त्यो लुटेराले केटीको ब्याग थुतेर भाग्यो । तपाईंले केही गर्नुभएन ....?

खडानन्द ः त्यो केटीलाई राम्रोसँग चिन्छु सर, मैले उसको फेसबुक स्टाटस हेरेको छु I can handle my problems. Don´t underestimate the power of woman.

त्यही भएर हो सर !

प्रहरी ः ए त्यसो भए ठीकै छ ।

हरिबोल ः यो फेसबुक नभाको भए के हुन्थ्यो होला नि ?

खडानन्द ः यो फेसबुक नभाको भए केटीहरूलाई थाहै हुँदैनथ्यो, उनी कति Nice, Awesome, Beautiful, Gorgeous छिन् भन्ने कुरा ।

खडानन्द र उनकी पत्नी बेलुका खाना बनाउने बेलामा

पत्नी ः के बनाऊँ आज ?

खडानन्द ः स–साना कुरालाई तिलको पहाड बनाउन छोडेर अरू जे बनाए पनि हुन्छ । 

खडानन्द र हरिबोल 

खडानन्द ः गोरो हुने कुनै एऊटा राम्रो क्रिमको नाम बता न यार !

हरिबोल ः किन चाहियो हौ गोरो हुने त्रिम तँलाई ?

खडानन्द : मलाई काले भनेर छोडेर गई यार !

खडानन्द र हरिबोलको फोनवार्ता 

खडानन्द : कहाँ छस् हरि ?

हरिबोल : छिमेकी बाइक एक्सिडेन्टमा परेछ । करङ भाँचिएछ । टाउकोमा रगत जमेको छ रे । एउटा खुट्टो पनि भाँचिएछ । उपचार गराउन आएको छु ।

खडानन्द : कहाँ ? अस्पतालमा हो ?

हरिबोल : होइन, उहिले कोइराला बाले ५ जना पुरोहित राखेर बिहे गराइदिएको वरपीपलको फेदको चौतारोमा ।

खडानन्द र हरिबोल 

हरिबोल : ओए खडु, पत्रिका पढ्दा तँ राशिफल हेर्छस् कि हेर्दैनस् ?

खडानन्द : हेर्दिनँ यार !

हरिबोल : किन नहेर्‍या त ?

खडानन्द : विश्वासै लाग्दैन के हेर्नु ? अब हेर न । म अविवाहित मान्छे, तर मेरै राशिफलमा चाहिं प्राय सन्तानसुख र पुत्रलाभ लेख्या हुन्छ ।

खडानन्दकी पत्नी माइत गएकी थिइन् । पत्नीकै देखासिकी गरेर खडानन्द निराहार व्रत बसे मङ्गलबारको दिन ।

खडानन्द : ए छोरा, घाम डुब्यो ? हेर त ।

छोरा : डुबेको छैन बुबा ।

(फेरि एकछिन पछि )

खडानन्द : अबचाहिँ घाम डुब्यो कि हेर त ।

छोरा : अझै डुबेको छैन बुबा ।

खडानन्द : उफ ! यो घाम पनि मलाई लिएर मात्र डुब्ला जस्तो छ आज ।

खडानन्दले गतवर्षको चुनाबमा चुरियामाई गाउँपालिकाबाट अध्यक्ष पदमा चुनाव जिते र उनले चुनावी सभामा गरेको प्रतिज्ञाअनुसार गाउँभरि वाईफाई पनि लगाइदिए । भर्खरै मात्र त्यहाँ गाउभरिका मान्छे भेला भएका थिए ।

एउटा गाउले : अध्यक्षज्यू, तपाईंले वाईफाई त लगाइदिनुभो, तर चल्दै चल्दैन त इन्टरनेट ।

खडानन्द : वाईफाईबाट इन्टरनेट चल्नलाई पासवर्ड त लाउनुपर्‍यो नि, अब आउने चुनावमा

पनि फेरि भोट दिएर मलाई नै जिताउनुस् अध्यक्षमा, त्यसपछि पासवर्ड पनि दिन्छु ।

 

प्रकाशित :फाल्गुन २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्