पुरानो ज्याकेट

- दिनेश वशिष्ठ भट्टराई

फाल्गुन २४, २०७५

 

यस्तो जाडो छ, जैले त्यही बुनुवा स्वेटर मात्रले कसरी चल्छ ? धुनु पनि पर्ला नि ? एउटा ज्याकेट किन भन्दा मान्ने होइन । बिरामी पर्‍यौ भने आफै थाहाँ पाउला । ’

दुई जना छोरा सँगै अगेनाको डिलमा बसेको रामेलाई उसकी बूढीको मायालु धम्की थियो यो । दिनभर कालिमाटीमै तरकारीको भारी बोक्ने रामे गुन्द्रुक उमाल्दै गरेको आगोको राप लिँदै छ । बूढीको मन बुझाउन भोलि किन्नै पर्ने भो, नत्र यही जाडोले लैजान्छ जस्तो छ भन्दै बूढीलाई खाना पस्किने इसारा दिन्छ । 

‘कहिले–कहिले त कुखुराको खुट्टा भे’नि उमाल्ने गर्न फेउरी, जैले यहि नुनमात्रको झोल, ’ रामे मुख बिगार्दै बोल्छ । 

‘खायौ कुखुराको खुट्टा । बिना पैसा आउने त्यही छालाबाहिर र भुँडीभित्रको मात्र हो । खान्छौ भने भोलि ल्याइदिउँला, ’ रामेकी बूढी च्याँट्ठिन्छे । 

‘राम्रो मुखले दिए त यही नि मीठो लाग्थ्यो नि । राँण जहिले काली इत्रिएजस्तै गर्छे । ’ रामे खाना मुखमा राख्दै बोल्छ । 

रात सिरकको तातोले भन्दा पनि एक एर्कोको सामीप्यको तातोले नै बिताउँछन् उनीहरू । 

बिहानै रामे कालीमाटीतिर जान तयार हुँदै छ । ‘आज नभुल्नु नि ज्याकेट ल्याउन, ’ भित्रबाट बूढीको आवाज सुन्यो । ‘फेरि साइत बिगार्न बासी बिहान–बिहानै, ’ रामे बाटो लाग्यो । 

 प्रायः न्युरोडतिरै भारी बोक्छ रामे । भारी बोकुन्जेल शरीर ताते पनि बेलुकी चिसो पसिनाले मुटु कमाउँछ उसको । आज सदाभन्दा धेरै कमाइ भएको छ, त्यसैले ज्याकेट किन्ने सोची रामे न्युरोडकै पसलमा छिर्छ । सधैं उनीहरूकै सामान बोक्ने, त्यसैले सस्तो पाउने आसमा । ‘टिमीलाई चिनेको भे’र माट्र हो डाजु, नट्र ३ हजारमा बेच्ने माल हो, ’ पसलेले रामेलाई गुन लगाउँदैछ । २ हजार रुपैयाँभन्दा कमको ज्याकेट नै देख्दैन ऊ । 

खल्तीमा दिनभरिको कमाइ हेर्छ, जम्मा १ हजार छ । 

रामे अमिलो मन पार्दै पसलबाट निस्किन्छ । फर्कंदै गर्दा च्ल्ब्ऋ अघाडिको सडकपेटीमा केटाकेटीको कपडा ३ सय मात्र भन्दै कराउँदै गरेको सुन्छ । झर्लक्क छोराहरू सम्झिन्छ अनि त्यहींबाट ६ सय रुपैयाँमा दुई भाइ छोरालाई कपडा, बूढीका लागि एउटा ट्राउजर र टोपी ३ सय रुपैयाँमा किनिदिन्छ अनि खल्तीमा बचेको १०० रुपैयाँको कुखुराको खुट्टा खाने सोच बनाउँदै आफ्नै खोपीतिर लम्कन्छ । 

छोराहरू खुसी छन् अनि बूढी पनि फुरुङ्ग छे, तर बूढी कराउदै भन्छे, ‘थोरै ठूलो भएर के हुन्थ्यो र ? ल्याएको भे त हुने नि । ’

बूढीको कुरा नसुनेजस्तै गरिदिन्छ रामे । बूढी अनि छोराहरू अगेनो डिलमै छन्, तर रामे अलि टाढा बसेको छ । बजार महँगी अनि आफ्नो कमाइ र हुर्कंदै गरेका छोराहरूको भविष्यको पिरलोले उस्को मन भत्भति पोलेको छ । 

सन्चो छैन र ? किन झोक्राएका छौ ? बूढीले सोध्दै छ तर रामे भोक लागेको कुरा गर्दै कुरा अन्तै मोडिदिन्छ । कुखुराको खुट्टा र नयाँ लुगा पाएर छोराहरू दंग परी सुतिसके । बूढी पनि त्यही टोपी लगाएर सुतेकी छ अनि रामे त्यहीँ ज्याकेटको मूल्य सम्झिँदै । 

रामेलाई ज्याकेट साच्चिकै तातो भएको छ । ‘मूल्यले त यति तातो दियो, अझै लगाको भए त म जल्ने नै थिएँ होला । धन्य प्रभु मैले लगाउन परेन । ’ मनमनै यस्तै सोच्दै अँध्यारोमै खिस्स हाँस्छ, मात्र आफूले चाल पाउने गरी । 

भुसुक्क निदाएका छोराहरू माथिबाट हात लम्काउँदै बूढीको गाला मुसार्छ । बूढीले पनि न्यानो इसारा स्वीकार गर्दै रामेलाई सुमसुम्याउँछे । दुवै जना त्यही पुरानो मायाको ज्याकेटभित्र गुँडुल्की पर्छन् । चिसो अँध्यारोमै खेल्दै छ अनि जाडो भगाउँदै छ उनीहरूको माया !

प्रकाशित :फाल्गुन २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्