महिनाको १० लाख

- साप्ताहिक संवाददाता

फाल्गुन २३, २०७५

नेपाली फुटबलमा सबैभन्दा बढी कमाउने खेलाडीमा हुन्— रोहित चन्द । उनले हालै मात्र इन्डोनेयिाली लिग च्याम्पियन पर्सिजा जाकार्तासँग नयाँ अनुबन्ध गरेका छन् र तय छ, उनको पारिश्रमिकमा अत्याधिक वृद्धि भएको छ । त्यसो त रोहितले अहिलेसम्म आफ्नो आम्दानी यति नै छ भनेर जानकारी दिएका छैनन्, तर त्यो रकम ८ देखि ९ हजार डलरबीच भएको अनुमान गरिन्छ । यस हिसाबले रोहितले महिनाको कम्तीमा पनि १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

रोहितकै जादुयी प्रदर्शनको मद्दतले पर्सिजा जाकार्ताले पहिलो पटक लिगको उपाधि जितेको थियो । त्यस क्रममा रोहित लिगकै उत्कृष्ट खेलाडीसमेत घोषित भए । त्यस लगतै नेपाल फर्किएका रोहितले क्लबसँग नयाँ अनुबन्ध गर्ने हो भने पारिश्रमिक बढाउनुपर्ने माग राखे । क्लबले त्यसलाई मानेन् । त्यसको प्रमुख कारण क्लबले भित्र्याएका नयाँ प्रशिक्षक इभान कोलेभ हुन् । ती प्रशिक्षकले सुरुमा अर्कै विदेशी खेलाडीलाई क्लबमा भित्र्याए । 

यद्यपि उनी सफल भएनन । नतिजा क्लबले रोहितलाई उनको नयाँ माग अनुसार अनुबन्ध गर्न तयार हुनुपर्‍यो । त्यसको अर्थ रोहितले क्लबका लागि अब एएफसी कप पनि खेल्नेछन् । यो एसियाली फुटबलकै सबैभन्दा ठूलो क्लब प्रतियोगिता हो । रोहित क्लबका समर्थक माझ निकै लोकप्रिय छन् । क्लबले अनुबन्ध नगरेपछि ती समर्थकले रोहितलाई फिर्ता ल्याउनु पर्छ भनेर सामाजिक संजालमा अभियान नै चलाएका थिए । जाकार्ता घुम्ने क्रममा रोहितको पछाडि समर्थकहरूको भीड नै लाग्ने बताइन्छ ।

 

प्रकाशित :फाल्गुन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्