प्रेमको शक्तिले देखेन धर्म

- प्रकाश बराल

फाल्गुन २३, २०७५

एक–अर्काको भाषा नबुझ्ने भएकाले टीकारामले पाकिस्तानको रावलपिण्डीमा बसोबास गर्ने मोहम्मद सफिकलाई चिठी लेखे अनि सफिककी छोरी र आफ्नो छोराको सम्बन्धलाई विवाहमा रूपान्तरण गर्न प्रस्ताव राखे । फोनमै आमनाले आफ्नो चाहना बताएपछि रावलपिण्डीबाट मोहम्मद सफिकको पनि ग्रिन सिग्नल आयो । 

केही वर्ष अघिसम्म अन्तरजातीय विवाहलाई समाजले राम्रो दृष्टिले हेर्दैनथ्यो । यद्यपि अहिले त्यस्तो दृष्टिकोणमा बिस्तारै परिवर्तन आउन थालेको छ । जातीय रूपमा हुने भेदभावमा आधुनिक समाज तथा युवाहरूको सोच एवं चाहनाका कारण नै परिवर्तन आएको हो । नयाँ पुस्ताले स्वतन्त्र रूपमा आफ्नो भावना साट्ने, जीवन साथी छान्ने र जीवन जिउने निर्णय गर्न थालेको छ । यति हुँदाहुँदै पनि फरक धर्ममा विवाह गर्ने कुरा अझै सहज छैन । विशेष गरी मुस्लिम समाजमा फरक धर्मसँगको विवाहलाई वर्जित नै गरिएको पाइन्छ । नेपाली मुस्लिमहरू बिस्तारै खुकुलो भए पनि फरक धर्ममा विवाह गर्न भने अझै तयार देखिँदैनन् । 

यद्यपि यसै साता बागलुङका एक युवाले पाकिस्तानकी मुस्लिम युवतीसँग विवाह गरे । पाकिस्तानकी मुस्लिम युवतीले हिन्दू मूलका नेपाली बाहुन युवासँग गरेको विवाहलाई यहाँ धेरैले आश्चर्यका रूपमा लिएका छन् । तीन वर्षअघि पाकिस्तानको रावलपिण्डीबाट आईटी इन्जिनियरिङ गर्न काठमाडौं आएकी आमना सफिकले अमलाचौर, बागलुङका सुदिन आचार्यसँग विवाह गरेकी हुन् । प्राविधिक विषय अध्ययनरत आमना र संगीतका विद्यार्थी सुदिनबीच काठमाडौंमा भेट भएको थियो । 

साथीहरूमार्फत भेट भएपछि उनीहरूबीच प्रेम पलायो । उक्त प्रेमलाई भूगोल, जाति, धर्म र संस्कृतिले छेक्न सकेन । आमना काठमाडौंस्थित भद्रकाली आईटी कलेजमा अध्ययनरत छिन् । काठमाडौं बसाईका क्रममा आमनाले नेपाली साथीहरूको संगतमा नेपाली भाषा सिकिन् । साथीहरूकै समूहमा घुम्ने क्रममा संगीतका विद्यार्थी सुदिन आचार्यसँग उनको परिचय भयो । सामान्य चिनजानपछि उनीहरू फेसबुकमा पनि जोडिए । दुई वर्षदेखिको फेसबुक सम्बन्धले उनीहरूलाई दैनिक भेटघाटको न्यास्रो मेटाउने काम गर्‍यो । त्यही सम्बन्ध अहिले आएर विवाहमा परिणत भएको छ । 

दुई वर्षदेखिको नेपाल बसाइमा आमनालाई नेपाली संस्कृति, भाषा र युवा सबैले लोभ्याए । प्रेम सम्बन्ध झाँगिएपछि आचार्यले आफ्ना बुबा टीकारामलाई त्यसको जानकारी दिए । टीकारामले पनि २५ वर्षअघि प्रेम विवाह नै गरेका थिए । बाहुन परिवारका टीकारामले म्याग्दीकी डिलमाया पुनसँग अन्तर्जातीय विवाह गरेका हुन् । तत्कालीन समयमा परिवार र समाजबाटै बहिस्कृत हुने खतरा मोलेर उनले गरेको विवाहको फड्को छोरासम्म आएको उनको अनुमान छ । छोराले फरक देश, फरक भाषा, फरक धर्म र फरक संस्कृतिमा विवाह गर्न खोज्दा टीकारामले सहजै स्विकार गरे, तर उनले आमनाका बाबुआमालाई पनि यो कुराको जानकारी गराउनुपर्ने सुझाव दिए । एक–अर्काको भाषा नबुझ्ने भएकाले टीकारामले पाकिस्तानको रावलपिण्डीमा बसोबास गर्ने मोहम्मद सफिकलाई चिठी लेखे अनि सफिककी छोरी र आफ्नो छोराको सम्बन्धलाई विवाहमा रूपान्तरण गर्न प्रस्ताव राखे । फोनमै आमनाले आफ्नो चाहना बताएपछि रावलपिण्डीबाट मोहम्मद सफिकको पनि ग्रिन सिग्नल आयो । ‘मैले सबैभन्दा ठूलो कुरा मानवीयता हो, त्यसपछि मात्र जात र धर्म हो भन्ने कुरा बुझाउने प्रयास गरें’ टीकाराम भन्छन्, ‘मेरो आशय बुझेरै उहाँले स्वभाविक रूपमा विवाहको स्वीकृति दिनुभयो ।’ कागजी रूपमा स्पष्ट भएपछि वडाको सिफारिसमा जिल्ला अदालत बागलुङ पुगेर २३ वर्षीय सुदिन र २२ वर्षीय आमनाले अदालती विवाह गरेका थिए । 

नेपालकै ग्रामीण बासिन्दाझैं बोल्न– लेख्न सक्ने भएपछि आमनाले आइतबार अदालत पुगेर विवाह गरेकी हुन् । विवाहका लागि आचार्यका बुबा टीकाराम तथा आमा डिलमाया अदालतमा उपस्थित थिए । दुलहीतर्फका अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र तथा केही समयदेखि बागलुङ नगरपालिका वडा नम्बर–१२ को अमलाचौरमा अस्थायी बसोबास गरेको सिफारिस बोकेकी थिइन् । आमनाले पाकिस्तानी समाज सहमत भए पनि नभए पनि बाबुआमा सँग सहमती लिन सकेकोमा खुसी व्यक्त गरेकी छिन् ।

मुलुकी देवानी संहिता–२०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिन सक्ने व्यवस्थाअनुसार उनीहरूको विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए । ‘अदालतमा रीतपूर्वकको निवेदन दिएपछि सबै प्रक्रिया पुर्‍याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, ‘यो फरक धर्म र संस्कृतिलाई समाजले पनि स्विकार गरेको नमुना घटना हो ।’ उनीहरूले कानुनी रूपमा बलियो भएर विवाह गरेको पण्डितले बताए । साथै मुस्लिम बुहारी स्विकार गर्ने अभिभावकहरू समेत फरक भएको उनले बताए । 

पाकिस्तान वा अन्य मुस्लिम देशमा विवाह गर्दा धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो । नेपालमा भएकाले दुवैले आफ्नो धर्म परिवर्तन नगर्ने बताए । ‘मैले कुनै दबाब दिएको छैन, उनले पनि आफ्नो धर्ममै रहने भनेकी छिन्’ आचार्यले भने, मिलेर जीवन बिताउने योजना बनाएका छौं ।’ आईटी अध्ययनरत सफिकले अब नेपालमै बसेर काम गर्ने बताइन् । आचार्यले पनि अभिभावकहरूकै सल्लाहमा विवाह गरेकाले धार्मिक रूपमा कुनै समस्या नपर्ने बताए । सामाजिक रूपमा समस्या पर्न सक्ने भएपछि अन्तरजातीय, अन्तरधार्मिक वा अन्य प्रकारका विवाह अदालतमै पुगेर गर्ने आम प्रचलन छ । 

प्रकाशित :फाल्गुन २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्