जंगलभित्र ६ देशका ३० साहित्यकार

- नरेन्द्र बस्नेत

फाल्गुन २२, २०७५

सुनसान चारकोसे झाँडी फाँडेर ठूला–ठूला ढुंगा राखिएका छन्, त्यही ढुङ्गामा नेपाल, भारत, जापान, जर्मनी, इटाली तथा बंगलादेशका कलाकारहरू आफ्ना नयाँ सिर्जना कुँद्न व्यस्त देखिन्छन् ।

मोरङको बेलवारी–१०, भाउन्नेस्थित सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मूर्तिकार ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लीन छन् । राम्रा कलाकृति निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ सिर्जना पार्क निर्माणका लागि पहिलो चरणमा अन्तर्राष्ट्रिय स्तरको मूर्ति कार्यशाला सुरु गरिएको वडाअध्यक्ष गंगा याक्खा बताउँछन् ।

पार्कमा ५० वटा मूर्ति तयार गरी सुन्दर बगैंचा निर्माण गर्ने ध्येयका साथ यो कार्यशाला सञ्चालनमा ल्याइएको हो । अहिले जापानका नोरिओ ताकाओका, इटालीकी माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता तथा बंगलादेशका अभिजित कान्तिदास, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामासहित ३० जना दक्ष एवं व्यवसायिक मूर्तिकारले आकर्षक मूर्तिहरू खोपिरहेका छन्, जसमा ५ विदेशी एवं २५ स्वदेशी मूर्तिकार छन् । उनीहरूले १८ दिन लगाएर विभिन्न मूर्ति तयार पार्ने छन् । त्यसपछि सिर्जना सामुदायिक वनको उक्त क्षेत्र सिर्जना पार्कमा परिणत हुनेछ ।

करिब १ करोड ८४ लाखको लागतमा तयार हुने पार्कमा तराई मूलका धिमाल तथा राजवंशी जातिको संस्कृति झल्कने मूर्तिहरूका साथ मनमोहक काल्पनिक मूर्तिसहित बेलबारीलाई चिनाउने खालका सिर्जना रहने कार्यशालाका संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभागका पूर्वप्रमुख धनु याक्खा बताउँछन् ।

प्रकाशित :फाल्गुन २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्