मेकिङ अफ साइँली

- कृष्ण भट्टराई

फाल्गुन २१, २०७५

ठ्याक्कै दुई वर्षअघि युट्युबमा एउटा गीतको म्युजिक भिडियो अपलोड भयो जीएच इन्टरटेन्मेन्ट नेपालको च्यानलबाट । हेमन्त रानाको स्वर तथा कालीप्रसाद बासकोटाको संगीतमा तयार भएको उक्त गीत थियो–सुन साइँली । हिमाल साउद र कालीप्रसादको शब्दको उक्त गीतको भिडियो सार्वजनिक भएको केही दिनमै भाइरल भयो । गायक रानाकै निर्देशनमा तयार भएको उक्त भिडियोमा अभिनेता गौरव पहाडी तथा अभिनेत्री मेनुका प्रधानले अभिनय गरेका थिए ।

आजको मितिसम्म आइपुग्दा उक्त भिडियो १ करोड ९१ लाख ८७ हजार पटक हेरिसकिएको छ । भिडियोले १ लाख ७५ हजार लाइक तथा १५ हजार भन्दा बढि प्रतिक्रिया पाएको छ । छोटो चलचित्र हेरे जस्तो लाग्ने करिब पाँच मिनेट लामो उक्त भिडियोमा नेपालीहरूले मात्र होइन भारतीय तथा बंगलादेशी दर्शकहरूले समेत सकारात्मक प्रतिक्रिया जनाएका छन् । 

गीतले पाएको लोकप्रियतासँगै गायक हेमन्त राना, अभिनेता गौरव पहारी तथा संगीतकार कालीप्रसाद बासकोटाको समूहले त्यसको म्युजिक भिडियोमा प्रस्तुत गरिएको थिममा आधारित भएर एउटा चलचित्रको परिकल्पना गरे । भिडियोको थिममै रहेर चलचित्र निर्माण गर्न आग्रह गरिएका दर्जनौं प्रतिक्रिया प्राप्त भएपछि उनीहरू उत्साहित भएका थिए । केही दिनको छलफलपछि नै जीएच इन्टरटेन्मेन्टका सदस्यहरूले चलचित्र निर्माण गर्ने निर्णय गरे, ‘साइँली’ शीर्षकमा ।

साप्ताहिकसँगको पछिल्लो भेटमा चलचित्रका मुख्य अभिनेता तथा निर्माता गौरव पहाडी भन्दै थिए– ‘चलचित्र निर्माण गर्ने निर्णय गरे लगत्तै हामीले निर्देशक रामबाबु गुरुङलाई आफ्नो कन्सेप्ट सुनाउँदै चलचित्र निर्देशन गर्न आग्रह गर्‍यौं । उहाँलाई हाम्रो कन्सेप्ट मन परेपछि स्क्रिप्टको तयारीमा जुट्यौं । केही महिना लगाएर निर्देशक गुरुङले नै स्क्रिप्ट फाइनल गरेपछि हामी गत असारमा फ्लोरमा गर्‍यौं ।’ 

कलाकार छनोट

चलचित्र निर्माण हुने पक्का भएपछि निर्माण संस्थाले कलाकारहरूको छनोट प्रारम्भ गर्‍यो । सुन साइँली..गीतका मुख्य कलाकार गौरव पहाडी तथा मेनुका प्रधान चलचिक्रका मुख्य कलाकार रहने निश्चित थियो । स्त्रिप्टअनुसार चलचित्रमा दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुष्मा निरौला, सरोज अर्याल, अरुणा कार्की आदि अनुबन्धित भए । चलचित्रमा प्रकाश घिमिरे साइँला अर्थात् गौरव पहाडीको बुवाको भूमिकामा प्रस्तुत हुने निर्णय भयो भने माओत्से गुरुङ साइँलीको बुवाको भूमिकाका अनुबन्धित भए ।

दयाहाङ राई र केनिपा सिंह भने साइँला र साइँलीका साथीको भूमिकामा प्रस्तुत हुने पक्का गरियो । चलचित्रमा माउत्से गुरुङले फुर्तिमानको चरित्र निर्वाह गरेका छन् भने प्रकाश घिमिरे पदम थापाको चरित्रमा छन् । केनिपा सिंह सुनिताको भूमिकामा छिन् भने दयाहाङले वीरमानको चरित्र निर्वाह गरेका छन् । साइँलाका रूपमा प्रस्तुत भएका गौरव पहाडीको चरित्रको नाम पिताम्बर थापा राखिएको छ ।  

लोकेसनको खोजी र छायांकन 

स्क्रिप्ट र कलाकारको टुंगो लागेपछि निर्माण संस्थालाई एउटा सुन्दर लोकेशनको आवश्यकता थियो । त्यसका लागि निर्माता एवं निर्देशकहरूको समुहले पूर्वी पहाडका केही जिल्लाको भ्रमण गरे । चित्त बुझ्दो लोकेसन नपाएपछि उनीहरू पोखरातर्फ मोडिए । पोखराभन्दा माथिको ह्याङ्जा कोट तथा घाचोक गाउँ चलचित्रका लागि उपयुक्त हुने निर्णय भयो ।

होम स्टेहरूको बाहुल्यता रहेको उक्त गाउँमै छायांकन गर्ने टुंगो लागेपछि कलाकार तथा प्राविधिकहरूको टोली गत असारमा लोकेसनमा पुगेर छायांकन थाल्यो । निर्माता पहाडीका अनुसार करिब ७५ जनाको यूनिटसहितको चलचित्रको छायांकन दुई सेड्युलमा सम्पन्न गर्ने तयारी थियो । असारको पहिलो सेड्युलको छायांकन सम्पन्न गरेपछि दोस्रो सेड्युलका लागि चलचित्रको युनिट दसैंअघि पुनः लोकेसनमा पुग्यो । यद्यपि त्यति बेला परेको झरीका कारण निर्धारित मितिमा छायांकन पूरा भएन । त्यसकारण बाँकी छायांकन दसैं र तिहारको बीचमा पूरा गरिएको थियो । शैलेन्द्र डि कार्की चलचित्र साइँलीका छायांकार हुन् । 

निर्देशकको कडी कडाउ 

यसअघि कबड्डी, कबड्डी कबड्डी, झुम्की, पुरानो डुंगा जस्ता चलचित्र निर्देशन गरिसकेका रामबाबु गुरुङले चलचित्र ‘साइँली’ को मेकिङमा केही कठोर निर्णय गरे । यसअघि उनी आफ्नो युनिटका कलाकारहरूलाई अभिनयमा प्रायः स्वतन्त्रता प्रदान गर्थे । निर्माता तथा अभिनेता पहाडीका अनुसार यसपटक निर्देशक गुरुङले कलाकारहरूलाई बाँधेरै काम गराए । ‘हरेक सटमा मेहनत गर्नुभएको छ, सबै दृश्यमा पहिले आफैंले अभिनय गर्नु हुन्थ्यो, पहाडी भन्छन्– ‘सट लिने शैलीमा पनि प्रसस्तै मेहनत गर्नु भएको छ ।’ पहाडीले आफ्नो अभिनय करियरमा निर्देशक गुरुङसँग पहिलो पटक काम गरेका हुन् । ‘म उहाँको काम गर्ने शैलीबाट निकै प्रभावित भएँ, पहाडी भन्छन्– डबिङका क्रममा सरसर्ती चलचित्र हेरेपछि उत्कृष्ट परिणाम आउने कुरामा ढुक्क भएँ ।

कलाकारहरूको केमेष्ट्री

अभिनेता दयाहाङ राई तथा गौरव पहाडी पहिलो पटक एउटै चलचित्रमा देखापर्न लागेका हुन् । चलचित्रमा उनीहरूले मिलनसार साथीको भूमिका निर्वाह गरेका छन् । चलचित्रको मध्यान्तरअघि यी दुई पात्रले दर्शकलाई प्रसस्त हँसाउने छन् । एसएलसी समेत उत्तीर्ण गर्न नसकेका यी गाउँले बेरोजगार युवाहरू गाउँ चहार्दै दिन बिताउँछन् भने साँझ परेपछि भट्टी तिर छिर्छन् । मध्यान्तरपछि भने चलचित्रको कथा गम्भीरतातर्फ मोडिन्छ ।

साइँलाले गाउँमै साइँली भेटेपछि माया–पिरतीमात्र बस्दैन उनीहरूले विवाह नै गर्छन् । त्यसपछि उनीहरूको जीवनमा आउने उतारचढावसँगै चलचित्रको कथा अघि बढ्छ । चलचित्रमा गौरव पहाडी र मेनुका प्रधानको जोडी सबैभन्दा रोमाञ्चक पक्ष हुनेछ । सुन साइँली...गीतमै उनीहरूको जोडीलाई दर्शकहरूले मन पराइसकेका छन् । चलचित्रमा उनीहरूको जोडीलाई अझ रोमान्टिक बनाउन निर्देशक गुरुङले प्रसस्त मेहनत गरेका छन् । दयाहाङ र नयाँ अभिनेत्री केनिपाको केमेष्ट्री पनि हेर्न लायक हुनेछ । 

गीतको लोकप्रियता

यो चलचित्रमा जम्मा चारवटा गीत समावेश छन्, तीमध्ये नाच माया तथा प्याट प्याटे चप्पल शीर्षकका दुई गीत सार्वजनिक भैसकेका छन् । हेमन्त रानाको स्वरको नाच मायालाई दर्शकले अत्यन्त रुचाएका छन् भने सुशान्त गौतमको स्वरको प्याट प्याटे चप्पलले पनि बिस्तारै गति लिइरहेको छ । बाँकी दुई गीतमध्ये एउटा गीत ‘सुन साइँली...’ कै रिमेक शैलीको छ । चौथो गीत सार्वजनिक हुने तयारीमा छ । 

क्लाइमेक्स र सन्देश 

करिब दुई करोड रुपैयाँ लगानी गरिएको यो चलचित्र यतिबेला पोस्ट प्रोडक्सनको अन्तिम चरणमा छ । हिजो बिहीबार ट्रेलर सार्वजनिक भए लगत्तै चलचित्रको युनिट काठमाडौंका विभिन्न कलेजको भ्रमणमा निस्कँदैछ भने लगत्तै काठमाडौं बाहिरका केही सहरमा समेत पुग्नेछ । नजिकिँदै गएको फागु पूर्णिमाको दिन चलचित्रले विशेष प्रचार–प्रसार गर्ने तयारी गरेको छ । चलचित्रको क्लाइमेक्सलाई रोमाञ्चक बनाइएको अभिनेता पहाडीको भनाइ छ ।

‘यो चलचित्रको क्लाइमेक्सलाई हामीले संयोगान्त पनि बनाएका छैनौं, बियोगान्त पनि बनाएका छैनौं, पहाडी भन्छन्– त्यसको निर्क्यौल गर्ने जिम्मा दर्शकहरूमै छाडिएको छ । सामाजिक विषय वस्तुमा आधारित भएकाले यो चलचित्रबाट दर्शकले धेरै कुरा पाउन सक्नेछन् । ‘ठ्याक्कै यही नै सन्देश छ भन्न गाह्रो छ, पहाडी भन्छन्– चलचित्रले हरेक मोडमा दर्शकलाई केही न केही सन्देश दिइरहनेछ ।’ चैत १५ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रमा हाम्रै ग्रामीण समाजमा घट्ने घटनाहरूलाई चित्रण गरिएको छ । 

प्रकाशित :फाल्गुन २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्