हामीकहाँ  असीमित अवसर छ : सुमन पोखरेल 

- जनक तिमिल्सिना, महेश तिमल्सिना , भिषा काफ्ले

फाल्गुन २०, २०७५

ललितपुरको लुभुमा जन्मिएका हुन्– सुमन पोखरेल । गाउँकै सामान्य सरकारी स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका पोखरेलले शंकरदेव क्याम्पसबाट उच्च शिक्षा पूरा गरे । ४० वर्षीय पोखरेलले सन् २००३ मा एभरेस्ट बैंकबाट करिअर सुरु गरेका थिए । सन् २००७ मा उनले तत्कालीन ग्लोबल बैंक ज्वाइन गरे । सन् २०१० मा उनी जनरल म्यानेजरका रूपमा इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) प्रवेश गरे । सुरुका दुई वर्ष जनरल म्यानेजरका रूपमा काम गरेपछि सन् २०१२ मा उनी आईएमईको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भए । पछिल्ला सात वर्षदेखि आईएमईको नेतृत्व गरिरहेका पोखरेल त्यसबाहेक ग्रुप अफ कम्पनिजअन्तर्गत डिसहोम, ग्लोबल आईएमई बैंक आदिमा निर्देशकका रूपमा समेत कार्यरत छन् । अहिले उनी मोबाइल वालेटका रूपमा ल्याइएको नयाँ प्रोडक्ट आइएमई पेलाई पनि नेतृत्व प्रदान गरिरहेका छन् । ३ सयभन्दा बढी कर्मचारी कार्यरत अग्रणी संस्थाको कुशल नेतृत्व गरिरहेका व्यवस्थापनका स्नातकोत्तर पोखरेललाई नेपाल व्यवस्थापन संघले यो वर्ष ‘म्यानेजर अफ द इयर’ पुरस्कार प्रदान गरेको छ । हरेक वर्ष उत्कृष्ट व्यवस्थापकलाई प्रदान गरिने यो पुरस्कार हात पारेपछि साप्ताहिकका लागि जनक, भिषा र महेशले उनीसँग व्यवस्थापन, नेपालमा अवसर आदि विषयमा केन्द्रित रहेर कुराकानी गरेका थिए ।

म्यानेजर अफ द इयरको पुरस्कार पाउनुभयो, कस्तो महसुस गर्दै हुनुहुन्छ ? 

हामी युवा तथा संघर्ष गर्दै करिअर बनाउँदै आएका मानिसहरूलाई यो खालको सम्मानले खुसी दि“दोरहेछ । सामान्य पृष्ठभूमिबाट आएको व्यक्तिले आफूलाई ग्रो गर्दै यो तहमा पुगेर पुरस्कार पाउने कुरा एकदम खुसीको कुरा हो । सँगसँगै यसले जिम्मेवार पनि बनाउँदो रहेछ । संस्था मात्र होइन, व्यवस्थापकीय तहमा देश र समाजलाई के योगदान गर्न सकिन्छ भन्ने हुँदोरहेछ । 

के कारणले तपाईंलाई यो पुरस्कार प्रदान गरियो ? 

खुला घोषणा गरिएको थियो, त्यसमा हामीले फारम भरेर बुझाउनुपर्ने थियो । पहिलो चरणमा उहाँहरूले स्क्रिनिङ गर्नुभयो, त्यसपछि सर्टलिस्ट भयो । सर्टलिस्टपछि जुरीसँग हाम्रो झन्डै ४५ मिनेटको अन्तत्र्रिmया भयो । उहाँहरूले क्राइटेरिया र पारामिटर बनाउनुभएको थियो । सबै कुरा बुझाउनुपर्ने थियो । त्यसका आधारमा उत्कृष्ट ३ छनोट गरिएको थियो । त्यसपछि अन्तमा मलाई म्यानेजर अफ द पुरस्कार प्रदान गरियो । 

सिइओ भैसकेपछि तपाईले गरेका नवीनतम कार्य के–के थिए ? 

रेमिट्यान्स म आउनुभन्दा पहिले नै सुरु भैसकेको थियो । त्यसलाई डाइभर्सिफाइड गर्ने, ब्रान्ड प्रमोसन गर्ने आदि काम गरें । हामीले ‘आईएमई गरौं’ भन्ने थिममा आफूलाई ब्रान्डिङ ग¥यौं, त्यसले आइएमई र रेमिट्यान्सलाई पर्यायवाचीजस्तै बनाइदियो । अरू कम्पनीमा रेमिट्यान्स गर्न जानेहरूले पनि आईएमई गरौं भन्न थाले । त्यसले हाम्रो ब्रान्ड बिल्डिङमा ठूलो मद्दत पु¥यायो नै, व्यापार पनि राम्रैस“ग उकालो लाग्यो । त्यसबाहेक म अरू कम्पनीमा समेत संलग्न भएँ । डिसहोममा मैले एक वर्ष जति प्रबन्ध निर्देशकका रूपमा काम गरे, त्यहाँ गरेको योगदानको पाटो पनि थियो । हामीले अहिले आइएमई पेका रूपमा डिजिटल वालेट सुरु गरेका छौं, यो पनि भोलिको दिनमा ठूलो उद्योगका रूपमा अघि आउनेछ । 

छोटो समयमै प्रगति गर्ने कारण के हुन् ? 

मुख्य कुरा आफ्नो मेहनत नै हो । आफूलाई सुम्पिएको जिम्मेवारीमा तपाईंको आफ्नो वचनबद्धता कस्तो हुन्छ, इफोर्ट कतिको लगाउनुहुन्छ, कत्तिको इमान्दारीका काम गर्नुहुन्छ, त्यसले पनि फरक पार्छ । यसले नै हो मुख्य मोटिभेसन हुने । निरन्तर इफोर्ट लगाउनुपर्छ र आफ्नो इन्टिग्रिटी छाड्नु हुदैन । त्यो अनुसार अघि बढ्ने हो भने सफलता पाइन्छ । 

रेमिट्यान्समा प्रतिस्पर्धा पनि बढ्दो छ ? के छ तपाईंको योजना ? 

प्रविधिसँगै धेरै कम्पनीको आगमन भयो अनि प्रतिस्पर्धा पनि बढ्यो, नियम–कानुनहरू पनि नयाँ आए, जसले यो व्यवसायलाई चुनौतीपूर्ण बनाउदै लगेको छ । यो सेवा क्षेत्र हो, सेवालाई कसरी उत्कृष्ट बनाउने भन्ने नै हो । ग्राहकको विश्वासलाई कायम गर्दै जाने, नयाँ–नयाँ प्रोडक्टहरू दिँदैै जाने, आफ्नो नेटवर्कलाई विस्तार गर्दै जाने, ग्राहकको संलग्नतालाई बढाउँदै जाने, प्रविधिलाई प्रयोग गर्दै सेवामा समयानुकूल परिवर्तन गर्दै जाने हो भने स्वतःस्फूर्त रुपमा व्यापार बढ्दै जान्छ । 

अहिले रेमिट्यान्स भित्रिने ट्रेन्ड कस्तो छ ? 

राम्रो छ, पछिल्लो ६ महिनाको तथ्यांक हेर्ने हो भने रेमिट्यान्स झन्डै ३० प्रतिशतले बढेको छ । जबकी पछिल्ला पाँच महिनामा विदेश जाने मानिस लगभग ४० प्रतिशत घटेका छन् । 

व्यस्तताले परिवारिक सम्बन्धलाई कत्तिको प्रभावित गरिरहेको हुन्छ ? 

त्यस्तो प्रभाव नै पार्दैन, यो आफूले व्यवस्थापन गर्ने कुरा हो । भन्न त व्यावसायिक जीवनका कारण निजी जीवनको सन्तुछ भनिन्छ तर त्यस्तो हुँदैन । आफूले कति गर्न सक्नुहुन्छ, त्यो आफूमा भर पर्छ । त्यसबाहेक आफ्नो परिवारलाई कति बुझाउन सक्नुहुन्छ भन्ने कुरा पनि हुन्छ । परिवारमा समझदारी बनाइसकेपछि यो धेरै ठूलो कुरा होइन् । चौबीसै घण्टा कार्यालयलाई दिने भन्ने कुरा पनि हु“दैन । आफ्नो समयलाई म्यानेज गर्न सक्नुपर्छ, परिवारलाई समय निकाल्न सकिन्छ । 

युवा उमेरमा जतिसक्दो मनोरन्जन गरौं, डुलौं, घुमौं भन्ने पनि त हुन्छ नि ? 

कहिलेकाहीँ केही गुमाएँ कि भन्ने अनुभव हुन्छ, तर तपाईंले दीर्घकालीन कोणबाट सोच्नुभयो भने र अर्को कोणबाट हेर्नुभयो भने त्यो गुमाएको होइन । एउटा उमेरको एउटा चरणमा त्यस्ता सोचहरू आउन सक्छन्, त्यो स्वभाविक पनि हो, तर त्यो चिजनै जीवनको प्राथमिकता होइन, जीवनको प्राथमिकता अरु नै हुन्छ भन्ने बुझिसकेपछि त्यसले खासै महत्व राख्दैन् । तपाईंको आफ्नो जीवनको लक्ष्य, उद्देश्य, दृष्टिकोण के हो भन्ने कुरा स्पष्ट भयो भने यस्ता चिजहरूले त्यति महत्व राख्दैनन् । कुनै बेला सोचसम्म आउन सक्छ, तर त्यसले प्रभाव भने पार्दैन । 

आफ्नो करिअर छनौटका लागि कुन उमेर उपयुक्त रहेछ ? 

यसमा तपाईंको विकास कसरी भएको छ भन्ने कुराले महत्व राख्छ । तपाईं कुन पृष्ठभूमिबाट आउनुभएको छ । सामान्यतः तल्लो वा मध्यम परिवारको मानिसको स्कुलिङ नै जीवनमा केही गर्नुपर्छ, प्रगति गर्नुपर्छ, केही लक्ष्य लिनुपर्छ भन्ने हुँदो रहेछ, जसका कारण उसले कम उमेरदेखि नै सपना देख्न थाल्छ । केही मानिसले जीवनका बारेमा खासै नसोचेका पनि हुनसक्छन्, उनीहरूले जीवनको उत्तराद्र्धमा त्यसको अनुभव गरेका हुन सक्छन् । 

झन्डै १७ वर्षभन्दा बढी जागिरे जीवन बिताइसक्नुभयो । जागिरमा कस्तो बेलामा निराशा आउ“दो रहेछ ? अनि त्यसलाई कसरी नियन्त्रण गर्नुपर्दो रहेछ ? 

ममा त निराशा आएको छैन, तर आउन सक्छ । निराशा कुन बेला आउन सक्छ भने हाम्रो समाजको जुन संरचना छ, त्यसले गर्दा आउन सक्छ । मानिसहरू अरूबाट चाँडै प्रभावित हुने कारणले पनि यस्तो हुन्छ । फ्लानो त्यहाँ पुग्यो भनेर आफूमाथिकालाई मात्र हेर्ने बानीले निराशा सिर्जना गर्न सक्छ । जब तपाईं आफूभन्दा तल हेर्नुहुन्छ, त्यहाँ पनि धेरै मानिसहरू हुन्छन् । कोही जागिर नपाएर बसिरहेका, कोही सानोतिनो जागिर गरिरहेका, कोही दुःख गरेर जीवन बिताइरहेका, त्यो हेर्दा निराश हुनुपर्ने कारण फेला पर्दैन् तर, माथि मात्र हेर्न थालियो भने अवश्य निराशा आउँछ । 

पछिल्लो समय रोजगार कि स्वरोजगार भन्ने बहस पनि चलिरहेको छ । मुख्य लक्ष्य के हो ? 

यो हाम्रो अर्थतन्त्र र व्यवसायको चक्रीय प्रणाली हो । सबैले स्वरोजगार हुने हो भने काम कसले गर्ने त ? व्यवसायिक रूपमा काम गर्ने मानिस पनि चाहियो, व्यवस्थापनमा काम गर्ने मानिस पनि चाहियो र व्यवसायीहरू पनि चाहियो । व्यवसाय सबैले गरेर हुने चिज पनि होइन, त्यसका लागि जन्मजात गुण पनि हुन्छ, चुनौती लिन सक्ने क्षमता पनि हुनुपर्छ । जसले त्यसो गर्न सक्दैनन्, उनीहरूले जागिरेकै रुपमा काम गर्नुप¥यो नि । 

भनेपछि उद्यममा जति प्रगतिको सम्भावना छ, त्यति नै सम्भावना जागिरमा पनि छ ? 

निश्चित रूपमा छ । दुवै चिजको राम्रो नराम्रो पाटो त भैहाल्छ । हामी धेरैजसो सफलताको कथा सुन्छौं, असफल कथाहरू सुन्दैनौं । आजको दिनमा विश्वका सबैभन्दा बढी स्टार्टअप स्थापना हुने सिलिकन भ्यालीमा आउने ८०÷९० प्रतिशत त असफल भैरहेका हुन्छन् । फेसबुक, गुगलको सफलताको कथा सुनेर व्यवसाय भन्ने कुरा त गज्जब रहेछ भन्ने मान्नु हुँदैन । किनभने, त्यहाँ ९० प्रतिशत मानिस त असफल भएर बसिरहेका छन् । उनीहरूको पुँजी तथा मेहनत खेर गैरहेको छ । त्यसैले दुइटैमा राम्रा–नराम्रा पाटाहरू छन् । व्यावसायिक काम गर्नेहरू पनि कतिजना उन्नति नगरी बसिरहेका होलान् । चाहे उद्यममा लाग्नुहोस्, चाहे जागिर गर्नुहोस्, राम्रो गर्न सक्नुभयो भने दुवैतिर सम्भावना छ, भविश्य छ । राम्रो गर्न सक्नुभएन भने यता पनि राम्रो छैन, उता पनि राम्रो छैन । 

तपाईं सफल संस्थाको नेतृत्व गर्दै हुनुहुन्छ । तपाईंको विचारमा सफलताको सूत्र के हो ? 

नेतृत्वको दृष्टिकोण सबैभन्दा महत्वपूर्ण हुन्छ । नेतृत्वले दिएको त्यो दृष्टिकोणमा सबै जनालाई सँगै हिडाउन सक्नुपर्छ । आजको दिनमा कुनै पनि कम्पनीको अध्यक्षले जे सोच्छ, जे बोल्छ, सिइओले पनि त्यही सोच्ने त्यही बोल्ने र त्यो संस्थाका अन्य कर्मचारीहरूले पनि त्यही सोचेर त्यही बोल्ने भए भने त्यो कम्पनी ठीक दिशामा जान्छ र सफल हुन्छ । सबैले एउटै बोली कसरी बोल्छन् र एउटै कसरी सोच्छन् भने उनीहरूलाई त्योअनुसार ओरिएन्टेसन दिनुप¥यो, मोटिभेट गर्नुप¥यो । त्यहीअनुसार मानिस छनौट गर्नुप¥यो, त्यो अनुसार जिम्मेवारी र अधिकार दिनुप¥यो । त्यो भएपछि तलदेखि माथिसम्म टिम इफोर्ट र ज्वाइन्ट इफोर्ट हुन्छ । संस्थाहरू एक जनाको बलमा सफल हुने होइनन् । नेताले नै नेतृत्व गरेर समर्पित भावना देखायो भने सम्पूर्ण टिमले पनि त्यसैगरी समर्पण देखाउँछ । ब्यक्तिगत तवरमा निरन्तर इफोर्ट, लगाव, मेहनत एवं अनुशासन आवश्यक हुन्छ । 

झन्डै ३ सय कर्मचारीको नेतृत्व गर्नुहुन्छ । उनीहरूको मोटिभेसन र डिमोटिभेसनको ख्याल कसरी गर्नुहुन्छ ? 

हाम्रा अन्र्तकृया गर्ने विभिन्न संरचना छन् । सञ्चारका पनि विभिन्न संरचना छन्, माथिल्लो तहमा, तल्लो तहमा । जहाँबाट त्यस्ता खालका प्रतिक्रिया आउँछन् । त्यसपछि हामी एसेसमेन्ट पनि गर्छौं । त्यसबाट पनि को डिमोटिभेट भैरहेको छ भन्ने थाहा हुन्छ । क्षमता भएर पनि काम गर्न नसकिरहेको छ भन्ने कुरा पत्ता लगाउन मानव संसाधनका संरचनाहरू हुन्छन् । मुख्य कुरा त माथिदेखि तलसम्म सञ्चार नै हो । तलबाट आएको समस्या माथि व्यवस्थापन तहमा छलफल गरेर कसरी हल गर्ने भन्ने निष्कर्ष निकालिन्छ । त्यसबाहेक हामी कामको मूल्यांकन पनि गर्छांै । 

शारीरिक रूपमा आफूलाई कसरी फिट राख्नुहुन्छ ? 

म बिहान एक डेढ घण्टा शारिरीक अभ्यास गर्छु । कहिलेकाहीँ फुटसल खेल्छु । खानपिन पनि एकदम साधारण छ । बिहान हल्का खाजा खान्छु । दिउँसोको खाना र बेलुका पनि हल्का खानेकुरा खान्छु । 

पुस्तक कत्तिको पढ्नुहुन्छ ? 

पुस्तक पढ्नु मेरो एकदमै रुचिको विषय हो । फुर्सदमा पढ्ने नै हो । फिक्सन–ननफिक्सन दुवै पढिरहेको हुन्छु । राष्ट्रिय÷अन्तर्राष्ट्रिय म्यागजिनहरू इकोनोमिस्टदेखि हावर्ड बिजनेस रिभ्युहरू मैले आफै सब्सक्राइब गरेको छु, भने तालिमहरू पनि लिइरहेको हुन्छु । समय उति नमिल्ने भएकाले अहिले चलचित्र हेर्न चाहिँ उति जाँदिन । 

सपिङमा कत्ति रुचि छ ? 

यही पनि सपिङ गर्छु, कहिलेकाहीं बाहिर पनि गैरहेको हुन्छु । चाहिएको सामान जहाँ सजिलो लाग्छ, त्यही किन्ने हो । 

भर्खरै करिअर सुरु गर्न लागेका युवाहरूलाई के सन्देश दिनुहुन्छ ? 

पुरस्कार प्रदान गरिएको समारोहमा मन्तव्य व्यक्त गर्ने क्रममा पनि मैले भनेको थिए– नेपालमै बसेर केही गर्नुपर्छ, केही गर्न सकिन्छ भनेर सकारात्मक रूपमा सोच्ने भोलिको नेतृत्व मैले नै गर्छु भनेर सोच्ने युवाहरूको संख्या ठूलो छ, मलाई दिइएको पुरस्कार तिनीहरूका लागि पनि प्रेरणा हो । हाम्रो समाज, सोसल मिडियामा सबै चिजमा यति नकारात्मक भैसक्यो कि यहाँ केही पनि छैन, सबै बर्बाद भैसक्यो, भन्ने छ, तर यर्थात त्यस्तो छैन । गर्नेलाई अझै पनि अवसरहरू छन्, अब राम्रो पनि हुँदैछ । केही चिज बिग्रिएका छन्, तर धेरै चिज राम्रो पनि भैरहेको छ । म बिर्तामोडदेखि महेन्द्रनगरसम्म गाडीमा घुमे । हामीकहाँ असीमित अवसर छन्, परिवर्तन भैरहेको छ, विकास पनि भैरहेको छ । त्यसकारण अहिलेको पुस्ताले सकारात्मक सोच बनाएर सही उद्देश्य राखेर काम ग¥यो भने भविष्य सुन्दर छ, तर हामीकहाँ नकारात्मकता बढी छ, धेरैमा विदेश नै जाने भन्ने छ । जबकि नेपालमै धेरै राम्रा अवसरहरू छन् । 

नेपालमा अवसर भएका क्षेत्रहरू के–के हुन् ? 

म त जताततै अवसर नै अवसर देख्छु । आजको दिनमा नेपालमा प्रत्येक घरमा पसल छ, प्रत्येक घरको पसल चल्छ । सबै खुसी छन्, सबैले पैसा कमाइरहेका छन् । प्रविधि प्रयोग नभएका, सबै असंगठित, अव्यवस्थित हुँदाहुँदै पनि चलिरहेका छन् । यसमा प्रविधि मिसाउनुहोस्, त्यसलाई व्यवस्थित र व्यवसायिक बनाउनुहोस् र आपूर्ति प्रणालीहरू बनाउनुहोस्, सबै चिज थोरथोरै मिसाइयो भने त के मा अवसर छैन ? सबै चिजमा अवसर छ, नेपालमा प्रतिस्पर्धा नै छैन् । भारतमा हेर्नुहोस्, कति प्रतिस्पर्धा छ ?

प्रकाशित :फाल्गुन २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्