प्रश्नमाथि प्रश्न

- साप्ताहिक संवाददाता

फाल्गुन १८, २०७५

नेपाली क्रिकेटमा अब कहीं कतै निकै खराव स्थितिको उदाहरण दिनु प¥यो भने संजय श्रेष्ठको भनाइ उद्धृत गरिनेछ । काठमाडौं गोल्डेन्सका व्यवस्थापक संजयले भनेका थिए, ‘फ्रेन्चाइज लिग हो, खेल्न मन लागे खेलिन्छ, मन लागेन भने खेलिंदैन ।’ यसलाई हदसम्मको कुतर्कका रूपमा सम्झिइनेछ, किनभने उनले भने जस्तै हुने हो भने अब नेपालमा कुनै पनि प्रकारको प्रतियोगिता हुन सक्नेछैन । भए पनि त्यो पूरा हुन सक्दैन, कसैलाई के चित्त बुभ्mदैन र टिमले प्रतियोगिता नै बहिस्कार गर्नेछ । 

धनगढी प्रिमियर लिगको तेस्रो संस्करण सम्पन्न भएको छ । यसअघिका प्रतियोगिताको तुलनामा यसपटकको डीपीएल केही विवादास्पद रह्यो । विवादको मुख्य बिन्दु थियो— काठमाडौं गोल्डेन्स । रमेश सिलवालको काठमाडौं गोल्डेन्सका कप्तान हुन्, ज्ञानेन्द्र मल्ल अनि प्रशिक्षक राजु बस्नेत । यी सबै नेपाली क्रिकेटका ठूला नाम हुन् । यद्यपि यही टिमले दोस्रो क्वालिफायर बहिस्कार ग¥यो । काठमाडौंले महेन्द्रनगर युनाइटेडविरुद्धको निर्णायक खेल नै खेलेन । 

त्यसको नतिजा, महेन्द्रनगर फाइनलमा पुग्यो । काठमाडौंको यो कामले पूरा प्रतियोगिताको मज्जा किरकिरा पारिदियो, तर नेपाली क्रिकेट समर्थक अहिले बुझ्ने भैसकेका छन् र त्यसको उदाहरण हो— डीपीएलको फाइनल । सीवाईसी अत्तरिया र महेन्द्रनगरबीचको फाइनल हेर्न फाप्लाको मैदानमा खचाखच दर्शक थिए । कसैलाई पनि काठमाडौंको बहिस्कारका सम्बन्धमा सोच्ने फुर्सद भएन । 

फाइनलसम्म पुग्दा काठमाडौंको वहिस्कार सबैले बिर्सिसकेका थिए, फाइनलमा कसैले काठमाडौंको कमी महसुस गरेनन् । बरु फाइनल गज्जबको रह्यो जसमा अत्तरिया ३ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको महेन्द्रनगरले १ सय २४ रनको लक्ष्य तय गरेको थियो । त्यसलाई अत्तरियाले १९ दशमलव ५ ओभरमा पूरा ग¥यो । फाइनलमा हुनु पर्ने सबै रोमाञ्चक कुरा उक्त खेलमा थियो । त्यसैले पनि काठमाडौंको बहिस्कार ओझेलमा प¥यो । 

काठमाडौंको बहिस्कारले अनेकन प्रश्न भने उठाएको छ । पहिलो प्रश्न, काठमाडौंले किन बहिस्कार ग¥यो ? टिम मालिक सिलवालका अनुसार यसको मुख्य कारण, भारतीय खेलाडी अंकित दवासमाथि लागेको बलिङ प्रतिबन्ध नै हो । उनीहरूको दाबी छ— अंकितमाथि यसरी प्रतिबन्ध लगाउन पाइँदैन, उनी भारतको माथिल्लो स्तरमा खेलिसकेका खेलाडी हुन् । काठमाडौंले प्रतियोगितामा तय गरेको यात्राका क्रममा एक प्रकारले अंकित नै निर्णायक खेलाडी थिए । 

उनलाई प्रतिबन्ध लगाउने काम प्रतियोगिताको प्राविधिक कमिटीले गरेको थियो । त्यसका प्रमुख तथा अन्तर्राष्ट्रिय रेफ्री बुद्धि प्रधानका अनुसार अंकितको डेलिभरी एक्सन नै गलत छ । यस विषयमा कमिटीले काठमाडौंलाई पनि जानकारी दिएको थियो, तर टिमले उनलाई लगातार खेलाइरह्यो, त्यसैले प्रतिबन्ध बाहेक अर्को विकल्प थिएन् । कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसम्म नै यो गुनासो पु¥याएपछि अब अंकितको खेल जीवन नै धरापमा परेको छ । 

प्रतियोगिताकै क्रममा एम्पायरको केही निर्णयमाथि पनि प्रश्न उठे, तर सबैको एउटै धारणा थियो, जस्तै स्थिति भए पनि काठमाडौंले यसरी प्रतियोगिता छोड्नु ठीक थिएन । नेपालका पूर्व कप्तान एलबी क्षेत्रीले भने जस्तै, पूरा घटनाक्रममा ‘यदि र तर’ भन्ने धेरै स्थान होलान, तर पनि बहिस्कार गर्ने काठमाडौंको निर्णय गलत हो । त्यसकै सफाइ दिने क्रममा व्यवस्थापक संजयले भनिहाले— हामीलाई मन लागे खेल्छौं, मन लागेन भने खेल्दैनौं । 

खासमा पूरा घटनाक्रमले प्रश्नमाथि प्रश्न नै उठाएको छ । आफ्नो टिमले किन खेलेन भन्ने कुरा कप्तान ज्ञानेन्द्र तथा प्रशिक्षक राजुले अहिलेसम्म भन्न सकेका छैनन् वा भन्न चाहेका छैनन । उनीहरूसँग यसलाई जायज भन्ने तर्क पनि छैन, बरु पूरा घटनाले उनीहरूको खेल जीवनमै एउटा दाग भने लागेको छ, जसलाई उनीहरूले पानीले धोएर हटाउन सक्नेछैनन् । 

नेपाली टिमका कप्तान पारस खड्कासँग मिलेर ज्ञानेन्द्रले पोखरा प्रिमियर लिग (पीपीएल) गरेका हुन् । ज्ञानेन्द्रको व्यवस्थापन कम्पनीको मद्दतमा अरू प्रतियोगिता पनि हुन्छन् । डीपीएल र पीपीएलसँगै नेपालमा तेस्रो फ्रेन्चाइज क्रिकेट पनि हुन्छ, एभरेस्ट प्रिमियर लिग (ईपीएल) । ईपीएलका आयोजक आमिर अन्तर हुन् भने डीपीएलका सुवास शाही । अब के आरोप पनि लगाउन थालिएको छ भने ईपीएल र डीपीएललाई असफल बनाउन नै पारस र ज्ञानेन्द्रले यस्तो काम गरेका हुन् । पछिल्लो ईपीएलमा पारसले प्रतियोगिताको कडा आलोचना गरेका थिए । 

अहिले ज्ञानेन्द्रले डीपीएल नै बहिस्कार गरेका छन्, त्यसलाई असफल बनाउन । त्यसको अर्थ, उनीहरूको काम भनेको पीपीएल मात्र राम्रो भनेर सिद्ध गर्नु हो । त्यसो त कम्तीमा पारस र ज्ञानेन्द्रले यस्तोसम्म गर्छन् भनेर सोच्न पनि सकि“दैन । उनीहरूको उद्देश्य कहिल्यै नेपाली क्रिकेटलाई बिगार्नु हुने छैन, किनभने उनीहरू अहिले जहाँ जस्तो स्थितिमा छन्, त्यो क्रिकेटकै कारणले छन् । 

बहिस्कारकै क्रममा काठमाडौंले यसपटकको प्रतियोगिताका लागि प्रयोगमा आएको फाप्ला मैदानको पनि आलोचना गरेको थियो । काठमाडौंको दाबी छ, यो मैदान अन्तर्राष्ट्रिय स्तरको छैन । उक्त दाबीलाई पनि धेरैले राम्रो मानेनन्, बरु एउटा नयाँ मैदान अस्तित्वमा आएकोमा नेपाली क्रिकेट खुसी नै भयो । अबदेखि नेपालमा माथिल्लो स्तरको क्रिकेट हुन सक्ने एउटा राम्रो मैदानको विकास भएको छ, जहाँ आवश्यक पूर्वाधारको विकास गरिनेछ र साँच्चैको अब्बल दर्जाको अन्तर्राष्ट्रिय मैदान तयार हुनेछ । 

यसअघि डीपीएलका दुवै सुरुवाती संस्करण एसएसपी क्रिकेट ग्राउन्डमा सञ्चालन भएका थिए । फाप्ला मैदान धनगढी उपमहानगरपालिका–३ को मोहन नदीको किनारमा छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले दुई वर्षअघि नै ‘ड्रिम फाप्ला’ अभियान सुरु गरेको थियो । त्यस क्षेत्रको सबैभन्दा महत्वाकांक्षी क्रिकेट योजना हो— फाप्ला क्रिकेट मैदान र अहिले त्यसले रंग देखाउन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले फाप्ला क्रिकेट मैदानको स्तरोन्नतिका लागि यो चालू आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजनसमेत गरेको छ ।

 

प्रकाशित :फाल्गुन १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्