नगर्ने गर्ने, गर्ने नगर्ने

- राजेन्द्रप्रसाद पन्त

फाल्गुन १७, २०७५

हामी अचम्मका प्राणी, यहाँ फोहोर नफाल्नुहोला भनेर ठाउँ–ठाउँमा टाँस्नुपर्ने बाध्यता । गर्ने भन्दा हेर्नेलाई लाज भनेझैं अझ अचम्म त तब हुन्छ जब फोहोर नफाल्नुहोला भन्ने बडेमानको सूचनापाटीमुनि नै फोहोरको डंगुर देखिन्छ । फरक–फरक व्यक्ति फरक–फरक कुराको अम्मली छन्, जुन स्वभाविक हो । 

भीम बोगटी ललितपुरको पुल्चोकबाट सुविधायुक्त निजी कारमा अनामनगरस्थित निवासतर्फ जाने क्रममा सुन्तलाको बोक्रा हातमा समाउँदै गम्भीर मुद्रामा देखिए । केही क्षणमै कारभित्र राखिएको सानो डस्टबिनमा हातमा खेलाइरहेको सुन्तलाको बोक्रा खस्न पुग्यो । डस्टबिनलाई नियाल्दै उनी विगत सम्झन्छन् । मंसिरको मध्यघाममा सल्लेरीको फाप्लु बजारबाट सुन्तला खाँदै वसन्तबजारस्थित एउटा कार्यालयमा पुगेको केही समयपछि कार्यालयको मेचमा पोलिथिनभरि सुन्तलाको बोक्रा देखेपछि उनी अचम्मित भएका थिए । सुन्तला हुनुपर्ने ठाउँमा बोक्रा राख्ने मान्छे कस्तो होला ? यसो यताउति हेरेको त झसंग हुन्छन् । एकदमै चिर–परिचित न्युजिल्यान्डका नागरिक जिम स्टिङ मुस्कुराइरहेको देखेर । जिमको मुस्कान र सुन्तलाको बोक्राको इसाराले बुझ्न पर्याप्त थियो ती बोक्रा, उनी स्वयम्ले बाटोभरि फाल्दै आएका थिए । ती फालिएका बोक्रा नै जिम स्टिङले बाटोबाट टिप्दै टेबलमा राखेको दृश्य थियो त्यो । भीम तिमीले आफ्नो भोक मेटायौ, मैले प्रकृतिको भोकलाई मेटाएँ तिमीले फालेका बोक्रा टिपेर । आफ्नो भोक मेटाउन अरूको भोकको ख्याल गर्नु जरुरी हुन्छ । 

हामी अचम्मका प्राणी, यहाँ फोहोर नफाल्नुहोला भनेर ठाउँ–ठाउँमा टाँस्नुपर्ने बाध्यता । गर्ने भन्दा हेर्नेलाई लाज भनेझैं अझ अचम्म त तब हुन्छ जब फोहोर नफाल्नुहोला भन्ने बडेमानको सूचनापाटीमुनि नै फोहोरको डंगुर देखिन्छ । फरक–फरक व्यक्ति फरक–फरक कुराको अम्मली छन्, जुन स्वभाविक हो । कोही चुरोटका अम्मली छन् त कोही त्यसलाई आफ्नो सानसँग जोडेर वातावरण प्रदूषणमा योगदान दिँदै छन् । बाँकी रहेको ठुटोलाई बूढी औंला र चोर आंैलाको बलले यसरी फाल्छन् मानौं त्यो चुरोटको ठुटोले छुने अन्तिम बिन्दु उसको क्षेत्राधिकारभित्र पर्छ । के यो गर्ने काम हो त ? कतिपयको दैनिक आहारा भएको गुट्का, पानपराग आदिका खोल उनीहरू यसरी मिल्काउँछन् मानौं यो सारा जमिनमा उनीहरूकै मात्र अधिपत्य छ । पानका धेरैजसो पारखीले जमिन नभए नि हरेक भवनका भित्तालाई आफ्नो पैतृक सम्पत्ति मानेर रंग्याएका हुन्छन् । मानौं त्यो ठाउँ ती अम्मलीकै लागि छुट्याइएको हो । 

सार्वजनिक यातायातको साधनमा ज्येष्ठ नागरिक भनी निर्दिष्ट गरिएको सिटमा लक्का जवान बसेर फेसबुक चलाइरहेको दृश्य, महिला लेखिएको सिटमा बसेको पुरुषलाई गाडीको कर्मचारीले यो त महिला सिट भनी सम्झाउनुपर्ने बाध्यता । विशेष क्षमता भएका (अपाङ्ग) हरूका लागि छुट्याइएको सिटमा सपाङ्ग बसेका बेला विशेष क्षमता भएका यात्री आउँदा सपाङ्ग भनाउँदाले ए उहाँलाई सिट छोडिदिनु न भनी अर्को सिटमा बसेका यात्रीलाई इसारा गरेको दृश्यले सपाङ्गको सपाङ्गतालाई कतिको गिज्याउँछ होला ? आफूलाई कुलिनवर्गका मान्ने वा आफ्नै सुविधा सम्पन्न गाडीमा सवारहरूले पानीको खाली बोतल गाडीबाट यसरी फाल्छन् मानौं सडकमा त उनीहरूको जन्मसिद्ध पैतृक अधिकार नै छ । यस्ता दृश्य प्रदर्शन गर्नेलाई अति सम्पन्न भन्ने कि दरिद्रताको प्रतिरूप मान्ने ? 

‘नगर्ने–गर्ने’ जस्तै एकचोटि ‘गर्ने–नगर्ने’ कामको पनि चर्तिकला हेरौं न † एयरक्राफ्ट क्र्युको जहाज पूरा नरोकिन्जेलसम्म सिटको पेटी नफुकाउनु भन्ने शब्द पूरा हुन नपाउ“दै यात्रीको दिमागले नफुकाउनुको ‘न’लाई बिर्सिसकेको हुन्छ । एकाधचोटि जहाजको यात्रा गरेकाभन्दा धेरैजसो जहाजको यात्रा गर्नेहरू नै पेटी फुकाउन हतारिन्छन् । जहाजमा बसेपछि पेटी बाँध्नुपर्ने ‘गर्नै पर्ने’ काम हो तर हामी गर्ने काम नगर्नेमा उद्यत हुन्छौं । बस, ट्याक्सीचालकको त कुरा झन बेग्लै छ । सवारी साधन चलाउँदा पेटी लगाउनैपर्ने काम ट्राफिक प्रहरीका लागि लगाइदिएझैं चेकपोस्ट कटेसँगै त्यो ‘गर्नुपर्ने’ काम गराउने ट्राफिक प्रहरीको सत्तोसराप गरिएको पाइन्छ । यसरी सरापेको लाग्ने भए नेपालभरिका ट्राफिक प्रहरी सायद स्वर्गलोकमा सिग्नल दिइरहेका भेटिन्थे । घर, पसल वा सडकछेउमै फोहोर फाल्ने भाँडो ठड्याइएको छ भने पनि हामी प्रायः त्यो भाँडाको प्रयोगमा अभ्यस्त हुन सकेका छैनौं । हामी नयाँ पुस्तालाई ‘गर्नुपर्ने नगर्ने’ बानीको उपहार पुस्तान्तरण गर्दैछौं । होटल तथा रेस्टुराँमा बस्दा धारा, बिजुली, पंखा, हिटर आवश्यकताअनुसार प्रयोग गर्ने हो तर सोच राख्छौं त्यो दिनको त पूरै पैसा तिरेका छौं, यही हो अवसर, धारा खुल्लै भए होस्, बत्ती त्यसै बलिरहोस्, मेरो के नै पो जान्छ र ? आवश्यकताअनुसार खपत गर्नु हामी सबैको कर्तव्य हो तर हामी त्यो गर्नुपर्ने काम कमै गर्छौं ।

हामी आफंैलाई एक पल्ट फर्केर हेरौं । आफ्नै कामलाई अन्तर्मनले विश्लेषण गरौं । प्रायःजसो गर्नुपर्ने÷नगर्ने गरेको त नगर्नुपर्ने गरेको पाउँछौं । तैपनि हामीले आफ्नै बानीमा सुधार ल्याउन सकेका छैनौं किन ? प्रस्ट छ, हामी आफूले गर्ने तर अरूले किन गरेको भन्ने सोचबाट ग्रसित छौं । एकछिन मनन गरौं, के हामी आफू बस्ने कोठामा यत्रतत्र फोहोर फाल्छौं ? त्यही फोहोर बाटोमा फाल्नु अघि एक पल पनि सोच्दैनौं । किन ? उत्तर सोझो छ, कोठा आफ्नो हो सडक अर्कैको हो । अब फेरि सोचौं । सडक अर्कैको भए किन हामी सडक प्रयोग गर्दैछौं ? यतिसम्म किन बुझ्न सकेनौं वा किन बुझेर बुझ पचायौं ? हामी आफू बस्ने कोठा सफा चाहिने तर अरूले हिँड्ने ठाउँ सफा नचाहिने सोचको विकास कसरी गर्दैछौं ? आफू र आफ्ना आफन्तका लागि सुरक्षा, न्याय, सम्मान, सहभागिताजस्ता सामाजिक उत्तरदायित्वको अभिलाषा राख्ने तर अरूका लागि असुरक्षा, अन्याय, असमानता, असहभागिता भए पनि कानमा तेल हालेर सुत्ने कस्तो खालको संस्कारलाई बढावा दिँदैछौं हामी ? अनि यी कुरा अब पनि नसोचे कहिले सोच्ने त ? 

(लेखक हिमालयन ट्रस्ट युके÷रिड नेपाल नामक गैरसरकारी सस्थामा प्रबन्धकका रूपमा कार्यरत छन् ।)

प्रकाशित :फाल्गुन १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्