सर्पको मान्छेसँग कुनै स्वार्थको सम्बन्ध छैन

- राजाराम पौडेल

फाल्गुन १५, २०७५

स्नेक कन्जरभेसन सोसाइटी नेपालका अध्यक्ष हुन्– महेन्द्रप्रसाद कतिला । उनको पुख्र्यौली थलो बनेपा हो । लमजुङमा जन्मिएका कतिलाको स्थायी बासस्थान पोखरा महानगरपालिका–४, गैरापाटनमा छ । उनी अहिले सर्प संरक्षणका साथै सर्पसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरूमा व्यस्त छन् । वि.सं. २०६५ देखि आफ्नो सबै समय सर्प संरक्षणमा समर्पित गर्ने कतिलासँग साप्ताहिकका पोखरा संवाददाता राजाराम पौडेलको कुराकानी :

सर्प संरक्षणतर्फ कसरी लाग्नुभयो ? 

म बाल्यकालदेखि नै सर्पप्रति आकर्षित थिए, पहिले–पहिले त मानिसहरूले घरमा सर्प आयो भने महेन्द्र आइजा मारिदे भन्थे । गएर मारिदिन्थे पनि । आठ कक्षा पढ्ने क्रममा मेरो घरभित्र एउटा सर्प पस्यो, त्यतिबेला ममा संरक्षणको चेतना थिएन । किन–किन मलाई त्यो सर्प राम्रो लाग्यो, त्यसको माया पनि लाग्यो, त्यही बेला मैले जिउ“दो सर्प छोए अनि त्यसलाई जिउँदै समातेर नारायणस्थानमा छोडिदिए । त्यतिपछि सर्पप्रतिको मेरो माया बढ्यो । त्यतिबेला म १४ वर्षको थिए । बिस्तारै सर्पप्रतिको आकर्षण बढ्दै गयो । कोही सर्पदेखि डराएर भाग्छन्, कोही त्यसलाई मार्न थाल्छन् । म भने फरक भए । सर्पप्रतिको मेरो चाख बढ्दै गयो । 

सर्पका बारेमा अध्ययन–जानकारी कसरी लिन थाल्नुभयो ?

पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक पूरा गरेपछि म दाङतर्फ लागे । त्यहाँ हाम्रो प्रगतिशील पुस्तक भण्डार थियो । म त्यहीँ बस्थें । २०५१ मा दाङबाट पोखरा आउ“दा मेरा एक जना भतिजाले अंकल मैले सर्प पालेको छु भन्यो । उसलाई म सर्प खेलाउन रुचाउँछु भने थाहा थियोे । म उसको घर गए । उसले माछाको एक्वारियममा सर्प पालेको रहेछ । सानो थियो, अहिले ठूलो भयो— उसले भन्यो । यसलाई भ्यागुता र मुसा दिन्छु भन्यो । त्यो देखेर मलाई रमाइलो लाग्यो । उँसग सर्पसम्बन्धी पुस्तक पनि रहेछन् । करण शाहको किताब मेलै पनि पढे । मेरो जिज्ञाशा अझ बढ्यो । पछि काठमाडांै गएर करण शाहलाई भेटेर किताब लिए । २०५४ सालमा दाङमा मैले एउटा सर्प समातेको थिए । त्यो सर्प एकदम राम्रो थियो । तस्बिर खिचेर करण शाहलाई इमेल गरे । सर्प लिएर आउनु भन्नुभयो । त्यो सर्प मरिसकेको थियो त्यसैले डिएफओ कार्यालयबाट स्विकृत लिएर करण शाहलाई देखाए । यो त सामान्य सर्प हो । यसको मुखमा कुकुरको जस्तो दाँत हुन्छ । उहाँले सर्पको जात, मुखभित्रको दाँतको बारेमा जानकारी दिएपछि मेरो चाख अझ बढ्यो । म सर्पसम्बन्धी थप पुस्तकअध्ययन गर्न थाले । 

नेपालमा कति प्रकारका सर्प पाइन्छन् ?

एक अध्ययनअनुसार संसारभरि ३७ सय प्रजातिका सर्प भएको पत्ता लागेको छ जसमध्ये ६ सय प्रकारका सर्प विषालु हुन्छन् । नेपालमा ८० भन्दा बढी प्रकारका सर्प पाइन्छन्, जसमा २० प्रकारका सर्प विषालु छन् ।

सर्पको स्वभाव कस्तो हँदो रहेछ ?

सर्पको स्वभाव जातअनुसार फरक–फरक हुन्छ । उनीहरूको चरित्र विभिन्न किसिमको हुन्छ । सर्पको मान्छेसँग कुनै स्वार्थको सम्बन्ध भने छैन । सर्पको सम्बन्ध भनेको त्यसको आहारस“ग छ । सर्पले जीवित रहन आफ्नो भोजन जुटाउनु पर्छ । आहारा खोजेर मार्नु–खानु उसको स्वभाव हो । 

सर्प मानिसप्रति आक्रामक हुन्छ र ?

सर्प मान्छेप्रति आक्रामक हुँदैन, प्रतिक्रिया जनाएको मात्र हो ।  यसलाई प्रमाणित गर्न धेरै कुरा हेर्न सकिन्छ । गोमन सर्प मानिसको ढाडबाट हिँडेको मैले देखेको छु । जबसम्म छुइँदैन, चलाइँदैन उसले केही गर्दैन । कतिपय सर्प राति सक्रिय हुन्छन् भने कतिपय दिउँसो सक्रिय हुन्छन् । सर्पले मानिसको पछाडि परेर आक्रमण गरेको इतिहास छैन । 

मानिसको ओछ्यानसम्म पुगेर टोकेका घटना त छन् नि ?

नेपालमा ६ किसिमको करेत पाइन्छ । त्यसमध्ये कमन करेत, ब्ल्याक करेतले राति ओछ्यानमा मानिसलाई टोकेको छ । ओछ्यानमा पुगेर मान्छे नचली बसेको छ भने उसले टोक्दैन, धक्का लागेपछि मात्र टोक्छ । यस्तो अवस्थामा उसलाई छुने, चलाउने, जिस्क्याउने आदि काम गर्नु हुँदैन । सतर्कता अपनाउनुपर्छ । जिस्क्यायो भने उसले प्रतिक्रिया जनाउँछ । 

सर्प देखेर मानिसहरू डराउँछन् आत्तिन्छन्, के सबै सर्प विषालु हुन्छन् ?

हो, सर्प देखेपछि डराउने, आत्तिने चलन छ । यो ज्ञानको अभाव हो । हेर्नु न हाम्रा पुर्खाले सर्पलाई नाग भनेर पुजा गर्ने चलन त चलाए, तर त्यो कुरालाई वैज्ञानिक रूपमा अघि बढाउन सकिएन । सर्प भन्नेबित्तिकै टोकिहाल्छ, मरिन्छ भन्ने धारणा मात्र रह्यो । सर्प विषालु छ कि विषविहीन छ भन्नेसम्म थाहा हुँदैन । मानिसलाई सबै सर्प विषालु हुन्छन् भन्ने लाग्छ, त्यही भएर मानिसहरू सर्प देख्नेबित्तिकै आतिन्छन्, तर सबै सर्प विषालु ह“ुदैनन् । 

तपाईंहरू सर्प संरक्षणमा लाग्दा खतरा हुँदैन ? सम्झनुहोस् न, केही त्यस्ता घटना जसले तपाईंको ज्यान खतरामा परेको थियो ? 

सर्पको उद्दार गर्ने मात्र होइन, सर्पसँग गर्ने सबै काम, सधै चुनौतीपूर्ण नै हुन्छ । सर्पसँग काम गर्नु जिन्दगीसँग खेल्नु हो । हुनत विषविहीनसँग काम गर्दा केही हुँदैन । विषालु सर्प चल्नु–समाउनु भनेको जिन्दगीसँग खेल्नु नै हो । चार वर्षअघि जिल्ला वन कार्यालय कास्कीको अनुरोधमा फिस्टेल लजमा देखिएको गोमनलाई उद्दार गर्ने कुरा आयो । हामी त्यहाँ गयौं, तर सर्प नदेखेर फर्कियौं । पछि फेरि सर्प आयो भन्ने खबर आयो । म एक जना साथी लिएर त्यहाँ पुगे । हाम्रो टिमका सबै साथी थिएनन् । सर्पलाई समाएर झोलामा राख्ने क्रममा एकतिरको दाँत हातमा गडिहाल्यो । उक्त्त सर्पको तस्बिर खिच्दा टाउकोको कत्ला हेर्दा राज गोमन सँग मिलेजस्तो लागेन तर त्यो गोमन भने थियो । त्यसपछि तुरुन्त मणिपाल अस्पतालको इमर्जेन्सीमा लगियो जहाँ डाक्टरले सोधे— कुन सर्पले टोकेको हो हामीले चिन्नुपर्छ अनि मैले भनें— सर्प त छ, झोलामा छ त्यो पनि जिउँदै । डाक्टरले त्यसलाई मारेर निकाल्न भने । मैले भनें— मैले सर्पलाई जोगाउन खोज्दा उसले मलाई टोकेको हो । त्यसलाई मार्नु हुँदैन । म सर्प मार्ने कुराको विरोधी हुँ– मैले भने तर टोक्ने गोमन हो । बल्ल डाक्टर सहमत भए अनि उनीहरूले सर्पका बारेमा हामीलाई पनि तालिम दिनुप¥यो भने । पछि म ठीक भए । मैले डाक्टरलाई पनि भनेको थिएँ, म मरें भने पनि त्यो सर्पलाई नमार्नु, जंगलमा लगेर छोडिदिनु । त्यसैले विश्वभरि नै सर्पसँग काम गर्ने सबैको जीवन जहिले पनि खतरामा हुन्छ । गएको वर्ष पनि सर्पसँग काम गर्ने तीनजना मानिस सर्पको टोकाइबाट मरे ।

नेपालमा सर्प संरक्षणमा लाग्नेहरू कति होलान् ?

यसको राम्रो तथ्याङ्क त छैन । झन्डै २५ जना जति छन् होला । १५ जना त हामी स्नेक कन्जरभेसन सोसाइटी नेपालमा सँगै छौँ ।

तपाईंहरू के काम गर्नु हुन्छ ?

सामान्यतः घरभित्रको सर्प समाउने र जंगलमा लगेर छोडिदिने हो । सर्प संरक्षणका लागि जनचेतनाको कार्यक्रम चलाउँछौ । सर्पसँग सम्बन्धित अनुसन्धान गर्ने, अध्ययन गर्ने आदि काम पनि गर्ने गरेका छौं ।

हालै म्याग्दीको घतानमा देखिएको काली नाग पहिलो पटक पहाडमा देखियो भनिन्छ नि ? 

म्याग्दीको घतानमा देखिएको सर्प कहिलेकाहीं देखिने सर्प हो । पहिलो पटक देखिएको भने होइन । त्यसलाई तिरिस भनिन्छ । यो पहाडमा हुने सर्प नै हो । उद्धारका लागि जाने क्रममा त्यहाँका केही मानिससँग भेट्दा पहिले पनि देखेको भनेका थिए । यसलाई काली नाग अथवा राज गोमन पनि भनिन्छ ।

राज गोमन कस्तो खालको सर्प हो ? यो कत्तिको विषालु हुन्छ ?

राज गोमन संसारको सबैभन्दा लामो विषालु सर्प हो । यसको विष चाहिँ अरू विषालु सर्पको विषको तुलनामा पातलो हुन्छ । करेत सर्पको ४ देखि ७ मिलिग्रामसम्म विषले मानिसको मृत्यु हुन्छ । राज गोमनको २० मिलिग्रामले बल्ल मान्छे मर्छ, तर यसले एकपटकको डसाइमा ६ सय मिलिग्रामसम्म विष छोड्छ । ठूलो मात्रामा विष फाल्ने ह“ुदा यसले आक्रमण गरे पछि मानिस तुरुन्त मर्छ । नेपालमा १४ फिट सम्मको राज गोमन फेला परेको थियो । राज गोमन १९ फिटसम्म लामा हुन्छन् । 

नेपालमा राज गोमनको आक्रमणमा मृत्यु भएका घटना छन् कि छैनन् ?

नेपालको सन्दर्भमा अहिलेसम्म जंगलमा राज गोमनले मानिस टोकेको इतिहास छैन, तर सर्प अनुसन्धानकर्ताहरूले समातेर खेल्ने क्रममा टोक्दा तीन जनाको मृत्यु भएको छ । ती घटना भैरहवा, सर्लाही तथा झापामा भएका थिए । झापामा त रुखमा एउटा सर्प समात्दा त्यसमाथि रहेको अर्को सर्पले टोकेको थियो । धेरै वर्ष पहिले लमजुङ र कास्कीमा भैंसीलाई टोकेर भैंसी मरेको इतिहास चाहि“ छ । राज गोमनले आफ्नो गु“ड बनाएर त्यसको रक्षा गरेर बस्छ । आफ्नो लम्बाइको एकतिहाइ माथी टाउको उठाएर दौडन सक्छ । यसको मुख्य आहारा सर्प नै हो । त्यसैले यसलाई ओफियो फागस हाना भनिन्छ । 

अहिलेसम्म कतिवटा सर्प समाउनुभयो ? 

त्यसको तथ्याङ्क राखेको छैन । मैले हजारौं सर्पको उद्दार गरे । नेपालका झापा देखि वर्दिया कैलाली सम्मका ठाउँमा पुगेर उद्धार गरेको छु ।

नेपालमा सर्पको संख्या कस्तो छ ?

नेपालमा सर्पको संख्या घटेको छ । यहाँ सर्प देख्ने बित्तिकै मार्ने चलन छ । कुनै जनचेतना छैन । यसरी नै घट्दै गए केही पुस्तापछि सर्प भन्ने प्राणि थियो र भन्ने अवस्था सिर्जना हुनसक्छ ।

सर्प लोप भए के होला ?

लोप भयो भने पृथ्वीको जैविक पारिस्थिकी प्रणालीमा पार्ने प्रभाव एकदम भयानक र डरलाग्दो हुन सक्छ । सर्प हाम्रो जैविक पारिस्थिकी प्रणालीको एउटा अभिन्न अंग हो । साइकलबाट एउटा पाङ्गा झिकिदियो भने साइकलमा जे असर पर्छ, त्यस्तै असर सर्पको अभावमा जैविक पारिस्थिकी प्रणालीमा पर्छ । 

यसको संरक्षणमा राज्यको ध्यान पुगेको छ त ?

राज्यको ध्यान यसको संरक्षणमा हुनुपर्ने हो, तर भएको छैन । जैविक पारिस्थिकी प्रणालीको अभिन्न अंगका रूपमा मात्र होइन । सर्पबाट मानिसले लिन सक्ने फाइदा धेरै छन् । हाम्रो धर्म–संस्कृतिमा सर्पलाई नाग देवताको दर्जा दिइएको छ । नागको पूजा वर्षमा एकदिन गर्ने अनि वर्षभरी सर्प मार्ने काम भने गलत हो । सर्पको विषबाट सर्पलेनै टोकेको औषधी बन्छ, क्यान्सर, मुटु, रगत, नसा सम्बन्धी रोगहरूमा समेत सर्पको विष प्रयोग भैरहेको छ ।

नेपालमा यस विषयमा रिर्सच भएको छ त ?

नेपालमा अनुसन्धान कसले गर्ने ? भएको छैन । राज्यले कुरा गर्छ तर भेट्ने चासो दिँदैन, २०७३ सालको नयाँवर्षको कार्यक्रममा वर्तमान प्रधानमन्त्री केपी ओलीसँग मेरो भेट भएको थियो । उहाँ आफंैले भन्नुभयो, कतिलाजी तपाईंले सर्पमा अध्ययन गरिरनुभा’छ, म अपडेट छु, काठमाडांैमा बसेर कुरा गरौला, तर त्यसपछि हामीबीच कुनै भेट हुन सकेन । 

तपाईंहरूको कुनै योजना छैनन् ?

राज्यको ध्यान नजादासम्म हाम्रो योजनाको खासै अर्थ रहँदैन । हामीले त चाहिन्छ भन्ने मात्र हो । हिजो मात्र एक जना साथीले विदेशबाट नेपालमा सर्पको कतिवटा उद्यान छन् भनेर सोध्यो । मलाई राज्यले केही गरेको छैन भन्न लाज लाग्यो अनि हामी प्रक्रियामा छौँै भनेर टारे ।

नेपालमा सर्प उद्यान सम्भव छ ?

छ, किन नहुने ? हामीसँग सर्प उद्यान भए यहा“ घुम्न आउनेहरूको संख्या बढ्छ, आम्दानी हुन्छ । अहिले त दक्षिण अफ्रिका, केन्या आदि देशमा सर्प पर्यटनको अवधारणामा काम भैरहेको छ, भारतमा समेत त्यस्तो काम सुरु भएको छ, भारतमा राज गोमन हेर्न पैसा तिरेर जंगलमा जान्छन् । त्यतिमात्र होइन विष उत्पादन गरेर ल्याबहरूलाई बेच्न सक्छौं, त्यसबाट प्रतिविष बनाउन सकिन्छ । खोइ यसमा राज्यको ध्यान गएको ? नेपालमा वार्षिक १ हजारजति मानिसको मृत्यु सर्पदंशका कारणले हुन्छ । सार्वजनिक स्वास्थमा राज्यले ध्यान दिनुपर्ने हो तर भएका अस्पतालमा सर्पदंशको गतिलो उपचार छैन । अस्पताल पु¥याउँदा समेत उपचारको अभावमा मृत्यु भैरहेको छ । 

सर्प संरक्षणको कुरामा सबैले समर्थन गरेका छन् त ?

कति ठाउँमा मुड्की उठाएका छन्, तर कतिपयले कुरा बुझेका पनि छन् । 

फेला परेका सर्पलाई के गर्नुहुन्छ ?

मरेकालाई ल्याबमा राख्ने तथा जिउँदो सर्पलाई जंगलमा छाड्ने काम गर्छौं । सर्प मारेर गाडेको थाहा पाए पनि निकालेर ल्याबमा दिने गरेका छौ । 

अब राज्यले के गर्नुपर्ला ?

सर्प संरक्षणमा राज्यको ध्यानाकर्षण होस् । उद्दार केन्द्रहरू खोलिऊन् । संरक्षणमा उद्धारमा खटिनेहरूको बीमा होस् । यी कुरामा राज्यले सोच्नुपर्छ । अहिले हामीले सबै काम आप्mनै खर्चबाट गरेका छौं । बिस्तारै राज्यको ध्यानाकर्षण होला भन्ने आशा छ । पोखरा आसपासकै कुरा गर्दा पनि यहाँ सबै प्रकारका विषालु सर्प पाइन्छन् । यहाँ दुई प्रजातिको गोमन पाइन्छ । यहाँ ठूलो कालो करेत समेत पाइन्छ । लमजुङ, कास्की तनहुँ, बाग्लुङ आदिमा सर्पदंशबाट मानिसहरू मरेका छन् । यहाँ मुन्ना सर्प, हरियो सर्प पनि पाइन्छ तर अस्पतालमा सर्पदंशलाई लक्षित मात्र गरेर उपचार हुँदैन । सर्पले टोकेको उपचारका लागि प्रतिविष सँगै भेन्टिलेटर चाहिन्छ तर छैन । भेन्टिलेटर नभए श्वास बन्द भएर मानिस तुरुन्त मर्छ । पूर्वाधार नहुने र डाक्टरहरू प्रशिक्षित नहुँदा समस्या छ । यहाँ मात्र होइन, नेपालका अन्य ठाउँमा समेत यस्तै समस्या छ । यसतर्फ राज्यको ध्यान जानुपर्छ ।

 

प्रकाशित :फाल्गुन १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्