लुट्न सके लुट्

- अधिकारी रवीन्द्र

फाल्गुन १४, २०७५

पछिल्लो दुई साता पशुपति शर्मा सर्वाधिक चर्चामा रहे । उनको लुट्न सके लुट गीतले सारा नेपालीभाषीको मात्र नभै नेपाल सरकारको समेत ध्यान आकृष्ट ग¥यो । शर्माले सदाझैँ गीतमार्फत प्रस्तुत गर्ने व्यंग्य शैली यसमा पनि कायमै राखे । गीतमा वर्तमान परिप्रेक्ष्यमा परिघटित यथार्थको छनक दिँदै शिक्षक, डाक्टर, सरकारी कर्मचारी, सरकार, राजनैतिक कार्यकर्ता, नेतादेखि राष्ट्रपतिसम्मलाई व्यंग्य गरिएको पाइन्छ । युट्युबमा ट्रेन्डिङमा परिसकेको यो गीतलाई शर्मा आफैंले माफी मागेको आशयको फेसबुक स्टाटस राख्दै अकस्मात डिलिट गरेका छन् । त्यसपछि त उक्त गीत खोजीखोजी हेर्ने क्रम अझ तीव्र भएको थियो ।

सर्जक भनेका राष्ट्रका गहना हुन् । देशलाई सकारात्मक बाटोतर्फ अघि बढाउन राष्ट्रका गहना मानिएका सर्जकहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ । राष्ट्रको गहना त्यत्तिकै हुन पाइँदैन । गीत–सङ्गीत वा कुनै अन्य विधाका सिर्जनाहरू सार्वजनिक गर्दा निश्चय पनि उक्त सर्जकले केही अध्ययन गरेर मात्र त्यसो गर्नुपर्छ नकि हचुवाको भरमा । अपुष्ट समाचारलाई तथ्यका रूपमा गीतमार्फत प्रस्तुत गरियो भने अवश्य नै ती सत्यजस्तै लाग्न थाल्छन् । त्यसमाथि पनि कुनै जात, दल वा धर्मविशेष समूहप्रति प्रहार गर्नुअघि हजार पटक सोच्नुपर्छ— कतै यो गीतले सामाजिक मूल्य, मान्यता एवं मर्यादामा विचलन त ल्याउँदैन ? भारतमा कैयाँै चलचित्र छन् जसले कुनै धर्मको अपमान गरेको, इतिहासलाई तोडमोड गरेको वा बदनीयतपूर्ण हिसाबले राजनीतिलाई छेड्खानी गरेको आधारमा संवेदनशील क्षेत्रहरूमा प्रतिबन्ध लगाइएका छन् । तसर्थ सरकारले अनुचित ठहर गरेको खण्डमा केही चीजमाथि प्रतिबन्ध लगाउनु नौलो कुरा होइन । यो गीतको प्रसङ्ग अलिक छुट्टै यस अर्थमा छ कि आधिकारिक रूपमा यसमाथि प्रतिबन्ध लगाइएको कुरा कतैबाट खुलासा भएको छैन । 

आफ्नो एकाउन्टमा अपलोड गरेको भिडियो आफ्नै इच्छाबिना डिलिट पनि हुँदैन । यसर्थ पशुपति शर्माले आफ्नै राजीखुसीले उक्त भिडियो डिलिट गरेका हुन् भन्ने कुरामा कुनै शंका रहेन, तर गालीगलौज, धम्की वा मानसिक दबाबका कारणले उनी त्यसो गर्न बाध्य भएका हुन् भन्ने कुरा अन्दाज लगाउन भने गाह्रो छैन । गीतको भिडियोमा राष्ट्रपतिले अर्बौको हेलिकप्टर चढ्ने, यमराजको शासन, गफ मात्र धेरै गर्ने नेताहरू, वाइडबडी घोटालाको सन्दर्भसमेत जोड्दै आकलझुक्कल रातो झन्डाको दृश्यहरू देखाइएको छ । यसले प्रत्यक्ष रूपमा वर्तमान नेकपा सरकारलाई इङ्गित गरेको कुरा प्रस्ट हुन्छ । ३३ किलो सुन र वाइडबडीकै लाइनमा कार्यकर्तालाई कुकुरजस्तै भुक्ने भनिएको हु“दा नेकपाका कार्यकर्ता चिढिने नै भए । युवा संघदेखि लिएर दुईतिहाइको सरकार सम्हालेको दलका निकट संघसंस्था अनि कार्यकर्ताले चर्को विरोधसाथ कारबाहीको आवाज उठाए । त्यसबीच कुन्नि के–के भयो, पशुपति शर्मा हच्किए र भिडियो हटाए । बालुवाटारमा समेत यो गीतलाई लिएर गभीर संवाद भयो रे भन्ने समेत सुनियो ।

अब गीत हटाइसकिएपछिको कुरा गरौँ । डिलिट हुनुअघि नेकपाका कार्यकर्ता कुर्लिए, डिलिट भैसकेपछि सरकारविरोधीहरू कुर्लिन थाले । गीत बनाउँछ, अपलोड र डिलिट गर्छ एउटाले तर काठमाडौंदेखि हरेक गाउँसम्म कुर्लनेहरूको मेला लाग्छ । सोसल मिडिया त पशुपति शर्माको गीत राखिएका अनेकानेक च्यानलका लिङ्क र भिडियोले भरिएका छन् नै, संसद भवनभित्र समेत उक्त गीतकै बारेमा रस्साकसी चल्छ । यसबाट बुझ्न सकिन्छ कि हामी नेपाली जनता कुन युगमा छौँ । हामीसँग यति समय छ कि हप्तौंसम्म एउटा गीतका बारेमा सडकदेखि संसद्सम्म बहस गरेर बिताइदिन्छौँ । मूल मुद्दा एउटा होला, संसद भवनमा समेत यो कुराले स्थान पाउनुले ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तो भएको छ । 

अब त्यसो भए निचोड के त ? पशुपति शर्मा स्वयंले बुझ्नुप¥यो कि उनका गीतमा प्रमाणित भैसकेका तथ्यहरू छन् भने लोकदोहोरी प्रतिष्ठानको आग्रहलाई स्वीकार गरेर पुनः उक्त गीतलाई जस्ताको तस्तै राख्नुपर्छ । सही काम गरेको छु जस्तो लाग्छ भने किन डराउनुप¥यो ? धम्की वा असुरक्षाको अवस्था छ भने खुलेर आउन सक्नुप¥यो, कानुनी उपायहरू पनि प्रशस्तै छन् । हाम्रा यस्तै अधिकारलाई स्थापित गराउन हामीले दुईतिहाइ मत दिएका होइनौं र ? 

उत्कृष्ट प्रजातन्त्रको प्रतीक मानिने विश्वको शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिकामा त राष्ट्रपति ट्रम्पको घोर भत्र्सना वा उनलाई गाली नगरी मूलधारका पत्रपत्रिका र च्यानल एक दिन पनि प्रकाशित–प्रसारित हुँदैनन् भने नेपाल कुन त्यस्तो देश हो र आफूलाई लागेको कुरा गीतमार्फत व्यक्त गर्न नपाउने ? यदि सरकारी रोहबरमै उक्त गीत हटाउन लगाइएको हो भने त्यसको विरोध हुनैपर्छ, किनभने विरोध भएन भने यो अंकुश बिस्तारै बढ्दै जनताको घरदैलोसम्म आइपुग्न सक्छ । अपुष्ट, प्रमाणित भैनसकेको वा कुनै भ्रामक कुरा यदि गीतमा छ भने पशुपतिले ती गल्तीउपर थप गृहकार्य गरेर पुनः भिडियो सार्वजनिक गर्न सक्छन् । अघिनै भनिएजस्तै विशुद्ध मनोरञ्जक गीतभन्दा सामाजिक राजनीतिक विसङ्गतिलाई चिरफार गरेर ल्याइएका गीत बढी संवेदनशील हुन्छन् र यस्ता गीत बजारमा पठाउनुअघि धेरै पक्षमा द¥हो गृहकार्य गर्नैपर्छ । 

प्रकाशित :फाल्गुन १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्