बालश्रम : कलंकको टीका 

- जयकिशोर भण्डारी

फाल्गुन १२, २०७५

नेपालमा गरिबीको सूचकांक बढ्नु तथा शिक्षामा सर्वसाधारणको पहुँच नपुग्नुका विविध कारणमध्ये बालश्रम पनि एउटा हो । हुन त नेपालमा बालश्रम कानुनी अपराध मानिन्छ, तर पनि कानुनको अवहेलना गर्दै गौशाला, बर्दिबास, जलेश्वर, जनकपुरजस्ता स्थानीय तथा प्रादेशिक सहरहरूमा सयौं बालमजदुर काम गरिरहेका देखिन्छन् । मैथिलीमा भनिन्छ, ‘जे न करैछ बाबुभैया, से करैछ रुपैयाँ’ ।

ती बालबालिकाहरू साहू–मालिकको गाली अवहेलना सहँदै दुई छाक टार्न तथा आफ्ना परिवारमा सुखको बिहानीका निमित्त प्रयत्नरत छन् । ती मजदुरमध्ये कसैको परिवारमा बूढा आमाबाबु छन् भने कसैको परिवारमा दुई छाक टार्न पनि नसक्ने दयनीय अवस्था छ । अझ कसैका त कोही आफन्त पनि छैनन् ।

समाजमा व्याप्त बालविवाहलाई बालश्रम अभिवृद्धि गर्ने एउटा प्रमुख पाटो मानिन्छ । उमेर, शिक्षा, आत्मनिर्भरताजस्ता महत्वपूर्ण कुराको अभावका बीच किशोरकिशोरीहरूलाई विवाह बन्धनमा बाँधिदिँदा उनीहरू बालश्रम गर्न बाध्य हुन्छन् । कतिपय मानिसले त बालबालिकाका अभिभावकहरूलाई फकाउँछन्, ‘तपाईंको छोरालाई म पढाइदिन्छु, त्यसको बदलामा उसले मेरो सानोतिनो काम गरिदिनुपर्छ ।’ तर त्यसरी बालबालिका लगेपछि चाहिँ तिनीहरूको इरादा बदलिएको पाइन्छ । ती बालबालिकालाई विद्यालय भर्ना गरिदिए पनि पठनपाठनका लागि कामबाट फुर्सद दिइँदैन । बालमजदुर राख्दा न्यून पारिश्रमिक दिए पुग्ने, अटेरी नगरी अ¥हाएको काम गरिदिने जस्ता कारणले पनि साहू–महाजनहरू बालमजदुरप्रति आकर्षित हुन्छन् ।

 सन् २००५ मा दक्षिण एसियामा बालकल्याण प्रवद्र्धन गर्न सार्क महासन्धि लागू भए पनि यो प्रभावकारी ढंगबाट अघि बढेको पाइँदैन । मैले आफैंले यस विषयमा हेलो सरकारमा धेरै पटक गुनासो दर्ता गराएको छु, तर त्यसको प्रतिउत्तर अझसम्म पाएको छैन । प्रहरी कार्यालयमा सम्पर्क गर्दा प्रहरी कर्मचारीबाट एउटै जवाफ पटकपटक सुन्नुपरेको छ, ‘ल–ल भाइ, हामी एक्सन लिन्छौं ।’

 

धेरै पहिले हाम्रो समाजमा सन्तान बन्धकी राखेर साहूको ऋण चुक्ता गर्नुपर्ने प्रथा कायम थियो । हाल उक्त प्रथा कायम नरहे पनि आफ्ना सन्तानलाई कलिलै उमेरमा पैसाका लागि काम गर्न पठाउने नया“ अवस्था सिर्जना भएको छ, जसले समाज विकासमा गतिरोध मात्र पैदा गर्छ । 

शास्त्रमा लेखीएको छ, ‘माता शत्रु पिता बैरी यन बालो नपढित ।’ अर्थात् जसले आफ्ना सन्तानलाई पढाउँदैनन्, ज्ञानबाट साक्षात्कार गराउँदैनन् भने ती आमाबाबु वास्तवमै आफ्ना सन्तानका महान् शत्रु हुन् । अतः बालबालिकाको हातमा कलम थमाऔं, काम गर्ने औजार होइन् । शिक्षाको ज्योतिले तिनीहरूलाई सुमार्गमा तथा भविष्यको समृद्धितर्फ डो¥याऔंस् नकि दुःखैदुखको अन्धकार भुमरीमा ।

 हाम्रा समिप बालमजदुरजस्ता जघन्य अपराध निराकरण गर्ने कठोर चुनौती छ । यो तबमात्र सम्भव छ जब व्यक्ति, समाज र सरोकारवाला निकायहरू सहकार्य गर्दै यसविरुद्ध सही ढंगले अघि बढ्छन् । 

गौशाला–१०, महोत्तरी

 

प्रकाशित :फाल्गुन १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्