आशा जगाउने आइकनहरू

- भिषा काफ्ले

फाल्गुन ११, २०७५

१० वर्षे सशस्त्र युद्ध, झन्डै १० वर्षे संक्रमणकाल अनि त्यही बीचमा विनाशकारी भूकम्पको मार खेपे नेपाली जनताले । त्यति मात्र नभएर भारतले नेपालमा पाँच महिना अघोषित नाकाबन्दीसमेत गर्‍यो । यी र यस्तै अप्ठ्यारा परिस्थितिका कारण देशमा राजनैतिक मात्र नभएर हरेक क्षेत्रमा अस्थिरता सिर्जना भैरह्यो । पछिल्लो समयलाई नै लिने हो भने पनि विकासका हरेक सूचकांक सन्तोषजनक अवस्थामा छैनन् ।

नेपाली जनतामा आशाभन्दा निराशा बढ्दै गएका बेला देशका केही व्यक्तिले भने आशाको सञ्चार पनि गरिरहेका छन् । कृषिप्रधान देश भनिएको नेपालमा विदेशबाट ७ सय करोडको फलफूल तथा तरकारी आयात हुँदै गर्दा व्यवसायिक कृषि बागवानीका लागि प्रेरणा दिने मुकुन्द रञ्जितको प्रयासको प्रशंसा नगर्ने सायदै होलान् ।

भूकम्प गएको चार वर्ष बित्न लागिसक्दा पनि उल्लेख्य प्रगति हुन नसकेको पुनर्निमाणको भद्रगोल अवस्थालाई सान्त्वना दिने काम गर्ने धुर्मुस–सुन्तलीको सामाजिक पाइला नेपाली जनताले स्वीकारेका छन् । चलचित्रमा लगातार लगानी डुबिरहेको अवस्थामा नाट्य क्षेत्रले सकारात्मक आशा जगाएको छ, जसमा नाट्यकर्मी सुनिल पोखरेलको भूमिकालाई कसैले नकार्न सक्दैनन् ।

दैनिक १८ घण्टा लोडसेडिङ खेपिरहेका नेपाली जनतालाई जादुको छडी खेलाए जसरी उज्जालो दिने कुलमान घिसिङको नाम सुन्दैखेरि नै नेपालीको मनमा आशाको दियो बल्न थाल्छ । कर्मले देश र जनतालाई आशाको दियो बाल्न सक्ने यिनै व्यक्तिहरूलाई कान्तिपुर फाउन्डेसनले यस वर्षको विभिन्न विधामा आइकन घोषणा गरेको छ ।

नाटक विधालाई आमरूपमा लोकप्रिय बनाउन र त्यसको स्तर उकास्नमा अत्यन्त महत्वपूर्ण योगदान पुर्‍याउनुभएकाले तपाईंको धैर्य, कलाप्रतिको प्रतिबद्धता र समर्पणको कदर गर्दै तपाईंलाई कान्तिपुर आइकन अर्पण गरिएको छ ।

सुनिल पोखरेल, रंगकर्मी /सिर्जना–कला

मनोरञ्जन क्षेत्र ओरालो लागिरहेको समयमा काठमाडौंका अधिकांश नाटक डबलीहरू भने हाउसफुल हुन्छन् । व्यवसायिक रूपमा डबली स्थापना गरेर आमजनमानसलाई पैसा तिराएर नाटक हेर्न बानी पार्ने सुशील पोखरेल नै हुन् । तीन दर्जनभन्दा बढी नाटक निर्देशन गरिसकेका पोखरेल नाटक निर्देशन मात्र गर्दैनन्, दक्ष शिष्य पनि उत्तिकै उत्पादन गरिसकेका छन् । अहिलेसम्म कति शिष्य उत्पादन गर्नुभयो होला ? प्रश्न भुइँमा नपर्दै उनले भने, ‘गनिसक्नु छैन ।’ त्यही भएर पोखरेललाई कला–सृजना विधामा आइकन दिनुको औचित्य कान्तिपुर फाउन्डेसनले यसरी प्रस्ट पारेको छ, ‘तपाईंको अगुवाइमा स्थापित ‘गुरुकुल’ले नाटकमा अभिनय गर्ने एउटा पुस्ता नै उत्पादन गरेको, सुषुप्त अवस्थामा पुगेको रंगमञ्चलाई ब्युँझाएको, मुलुक जटिल ऐतिहासिक संक्रमणबाट गुज्रिरहेका बेला नाट्यकलाको माध्यमबाट झकझक्याएको र यस विधाप्रति समर्पित रहेर समाजमा उल्लेखनीय योगदान पुर्‍याएकाले तपाईंलाई ‘कान्तिपुर आइकन : सिर्जना–कला’ बाट सम्मानित गरिएको छ ।’

२०२० सालमा खोटाङमा जन्मिएर विराटनगरमा हुर्किएका पोखरेल १६ वर्षको उमेरमा नाटकसम्बन्धी औपचारिक अध्ययनका लागि काठमाडौं आएका थिए । नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट नाट्य–रङ्गमञ्च विधाको अध्ययन गरेका पोखरेलले डेनमार्क, अस्ट्रिया, ब्राजिल तथा जर्मनीमा समेत प्रशिक्षण लिएका छन् । 

मुकुन्द रञ्जित, बागवानी विज्ञ /विज्ञान–अन्वेषण

राज्यको नीतिमा कृषिमा आधुनिकीकरण र किसानको जीवनस्तर उकास्ने कुरा मुख्य प्राथमिकतामा छ, तर त्यो कागजमा मात्र छ, व्यवहारमा होइन । वर्षभरि नै किसान खेतबारीमा काम गर्छन् र सोहीअनुरूप खटिन्छन् । विडम्बना, किसानले गरेको मेहनतअनुसार प्रतिफल पाउन मुस्किल पर्छ । प्रतिफल नपाउनुको प्रमुख कारण भनेको मेहनत गरेअनुसार उत्पादन नहुनु हो । किन प्रतिफलअनुसार उत्पादन हुँदैन त ? ‘खाद्यान्न, तरकारी तथा फलफूलहरूमा ढुसी पर्ने, ब्याक्टेरियाले हमला गर्ने र भाइरस लाग्ने हुन्छ ।’ बागवानी विज्ञ मुकुन्द रञ्जित भन्छन्, ‘ढुसी परे वा ब्याक्टेरिया लागे त्यसको औषधी छ, तर भाइरस छ भने त्यो फलफूल तथा तरकारीलाई सही अवस्थामा ल्याउन सकिँदैन ।’

बागवानी विज्ञका रूपमा तपाईंको निरन्तर लगाव र व्यावसायिक उन्नयनका लागि तपाईंलाई कान्तिपुर आइकन अर्पण गरिएको छ । 

खाद्यान्न, तरकारी तथा फलफूलमा भाइरसका कारण किसानको श्रम, लगानी खेर गैरहेको अवस्था छ । किसानको त्यो समस्यालाई नजिकबाट हेरे–बुझेका वैज्ञानिक रञ्जितले यो उपायको खोजी सुरु गरे । २०४८ सालमा उनकै मेहनतबाट आलुमा लाग्ने भाइरसमुक्त बनाउने प्रविधि भित्रियो । कृषिको आधुनिकी एवं व्यवसायीकरणमा जैविक प्रविधिको माध्यमबाट उनले पुर्‍याएको योगदानलाई स्मरण गर्दै विज्ञान तथा अन्वेषणतर्फको उपाधि प्रदान गरिएको हो । नेपालमा व्यवसायिक रूपमा पुकिनी, अंगुर, स्ट्र्रबरी, एभोकाडो, काल्पी बदामजस्ता फलफुल भित्र्याउन पनि उनको महत्वपूर्ण भूमिका छ । 

काठमाडौंको जैसीदेवलमा २००४ सालमा जन्मिएका रन्जितले छात्रवृत्तिमा लेबनानस्थित एक अमेरिकी विश्वविद्यालयबाट कृषि तथा कृषि इन्जिनियरिङमा डिप्लोमा गरेका हुन् । रञ्जितले २०३५ सालमा छात्रवृत्ति पाएर क्यालिफोर्निया स्टेट विश्वविद्यालयमा कृषिमा मास्टर अफ साइन्स गरे अनि त्यसको ६ वर्षपछि कृषिका लागि विश्वकै उत्कृष्टमध्येमा पर्ने युनिभर्सिटी अफ क्यालिफोर्निया डाभिसबाट ‘प्लान्ट फिजियोलोजी’ मा विद्यावारिधि गरे । ललितपुरको काठमाडौ भ्याली कलेजको जैविक विविधता विभागका निर्देशक रञ्जितले अहिलेसम्म २ सय ५० विद्यार्थी उत्पादन गरेका छन्, तर नेपाल सरकारले उनीहरूका लागि उचित व्यवस्थापन गर्न नसक्दा अधिकांश बिदेसिएको रञ्जित बताउँछन् । ‘सरकारले बायोटेक्निकल विषयलाई प्राथमिकता दिएको छैन,’ उनी भन्छन्— ‘यो विषयमा राज्य गहन नहुन्जेल कृषिमा फड्को मार्छौं भनेर माक्र हुँदैन ।’

 

सही व्यवस्थापन गरी आमनेपाली नागरिकको जीवनमा कहरसरह बनेको लोडसेडिङ अन्त्य गर्ने अभियानको सफलतापूर्वक नेतृत्व गर्नुभएको र नेपालमा नवीकरणीय ऊर्जा विकासको थप सम्भावना पहिल्याउनुभएकाले तपाईंको कार्यकुशलता, समर्पण र दृढताको कदर गर्दै तपाईंलाई कान्तिपुर आइकन अर्पण गरिएको छ ।

 

कुलमान घिसिङ, प्रबन्धक

अर्थ–उद्यम

अघिल्लो दिनसम्म १८ घण्टा लोडसेडिङको मारमा रहेका नेपाली जनता एकाएक लोडसेडिङमुक्त भए । धेरैले भने, कुलमान घिसिङले फु मन्तरको जादु देखाइदिए । हुन पनि त्यस्तै भएको थियो, दुई वर्षअघिको लक्ष्मी पूजाको रात । त्यो लक्ष्मीपूजाको दिन कुलमानले नेपाल प्राधिकरणको नेतृत्व लिएको दुई महिनामात्र भएको थियो । एकाएक उनको कार्य र क्षमता यस्तो भयो कि उज्जालोको सपना बोकेका नेपालीका लागि उनी नायक बनेर उदाए । घिसिङले नेतृत्वकर्तामा दृढ इच्छाशक्ति भए ढिलासुस्ती तथा अकर्मण्यताले ग्रस्त संयन्त्रमा समेत सुधार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरिदिए । १८ घण्टासम्मको लोडसेडिङ कसरी हट्यो त ? ‘इनर्जीको समस्या समाधान गर्न आफूमा पनि इनर्जी हुनुपर्छ ।’ कुलमान भन्छन्, ‘राइट म्यान इन द राइट प्लेस विद राइट टाइम हुनुपर्छ ।’

कुलमानलाई किन अर्थ उद्यम आइकन उपाधि दिइयो त ? ‘विद्यमान प्रशासनिक संरचनाभित्रै रहेर अनपेक्षित नतिजा आर्जन गरेको, उपलब्ध स्रोत–साधनलाई देशको हितमा उपयोग गर्न सकेको ।’ उनलाई दिएको सम्मान–पत्रमा भनिएको छ, ‘अन्य स्रोतबाट उपलब्ध जलविद्युत्को सही व्यवस्थापन गरी आमनेपाली नागरिकको जीवनमा कहरसरह बनेको लोडसेडिङ अन्त्य गर्ने अभियानको सफलतापूर्वक नेतृत्व गर्नुभएको र नेपालमा नवीकरणीय ऊर्जा विकासको थप सम्भावना पहिल्याउनुभएकाले तपाईंको कार्यकुशलता, समर्पण र दृढताको कदर गर्दै आइकन अर्पण गरिएको छ ।’ 

२०२७ सालमा रामेछापको बेथानमा जन्मिएका घिसिङले पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातकोत्तर तथा भारतको जमसेदपुरस्थित रिजनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययन पूरा गरेका हुन् ।

पेसाले हास्यकलाकार भए पनि आफूले यसअघि हात नहालेको पुनर्निर्माणको क्षेत्रमा अभूतपूर्व कार्य गरी धेरै भूकम्पपीडितको मुहारमा खुसी ल्याउन सफल हुनुभएकाले तपार्इंहरूको योगदानको कदरस्वरूप कान्तिपुर आइकन अर्पण गरिएको छ ।

धुर्मुस–सुन्तली, समाजसेवी/कलाकार

समाज–राजनीति

२०७२ सालको विनाशकारी भूकम्प गएको चार वर्ष लाग्दैछ । कतिपय भूकम्पपीडितले अझै बास बस्ने स्थान जोहो गर्न सकेका छैनन् । सरकारले दिने अनुदान र पुनर्निर्माणको पाटो प्रगतिउन्मुख देखि“दैन । धेरै पुरातात्विक संरचना अझै पनि ढलेकै छन्, तर सोही भूकम्पका कारण हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) तथा कुन्जन घिमिरे (सुन्तली) को जीवनले भने फरक मोड लियो । 

हास्यक्षेत्रमा राज चलाइरहेका उनीहरूको पाइला मानवीय कष्टलाई सानै भए पनि भरथेग गर्नेतर्फ मोडिएको थियो । ‘पहिले सानो सहयोग गर्न सकिन्छ कि भन्ने भावनाले सुरु भएको थियो ।’ सीताराम कट्टेल भन्छन्, ‘सबैको साथ–सहयोगले बिस्तारै ठूलो अभियान बन्दै गयो ।’ शौचालय निर्माण अभियानमा सक्रिय धुर्मुस–सुन्तलीले पहिले भूकम्पले ध्वस्त भएको काभ्रेको पहारी बस्ती उठाउन कम्मर कसे । कम्मर कसेको दुई महिनाभित्रै ६० लाख खर्च गरेर पहिलो एकीकृत पहारी बस्ती निर्माण गरे । पहारी बस्ती निर्माणपछि सिन्धुपाल्चोकको गिरानचौरमा १ सय रोपनीमा ६५ घर निर्माण सम्पन्न भयो । धारा, बगैंचा, शौचालय एवं सामुदायिक भवनसहितको उक्त बस्ती २०७३ कात्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट हस्तान्तरण गरियो । गिरानचौरको बस्ती निर्माण सकिएपछि उनीहरूले बर्दिवासमा मुसहर बस्ती तथा सन्तपुर नमुना बस्ती स्थापना गरे । 

 ‘२०७२ सालको विनाशकारी भूकम्पपश्चात मुलुकभित्र र बाहिरका साधन–स्रोत परिचालन गरी पिछडिएका समुदायका लागि घरको व्यवस्था गरी समाजका निम्ति निःस्वार्थ सेवामा समर्पित भै सबै नेपालीका लागि अनुकरणीय कार्य गर्नुभएको र अचानक आइपरेको विपत्लाई सम्बोधन गर्न अघि सरेर लाखौं नेपालीमाझ आशा जगाउनुभएकाले तपाईंहरूलाई संयुक्त रूपमा ‘कान्तिपुर आइकन ः समाज–राजनीति’ बाट सम्मानित गरिएको छ’, कान्तिपुरले सामाजिक तथा राजनैतिक क्षेत्रको आइकनबाट सम्मान गर्नुको औचित्य यसरी प्रस्ट पारेको छ । पूर्वी पहाडी जिल्ला सोलुमा २०४० सालमा जन्मिएका सीताराम कट्टेल ‘धुर्मुस’ तथा २०४१ सालमा ललितपुरमा जन्मिएकी कुन्जना घिमिरे ‘सुन्तली’ २०६९ सालदेखि हास्यकलाकारका रूपमा कला क्षेत्रमा प्रवेश गरेका हुन् ।

 

प्रकाशित :फाल्गुन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्