बुलबुलमाथि समीक्षक टिप्पणी

- साप्ताहिक संवाददाता

फाल्गुन ११, २०७५

गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र बुलबुल हेरेका अधिकांश दर्शक तथा समिक्षकले यसको विषयवस्तु, प्रस्तुति तथा कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् । काठमाडौंका मल्टिप्लेक्सहरूमा बुधवारसम्म चलचित्रले राम्रै शो पनि पाएको छ । यद्यपि चलचित्र जति नै स्तरिय भए पनि सिनेमा हलका सिटहरू खाली–खाली भए भने त्यसले खासै अर्थ राख्दैन । समीक्षकले अति नै प्रशंसा गरे पनि उक्त चलचित्र हेर्ने दर्शकहरू सिनेमा हल पुगेनन् भने निर्माताहरू डुब्छन् । यतिबेला चलचित्र बुलबुलको अवस्था पनि त्यस्तै छ । चलचित्र प्रदर्शन त भैरहेको छ, तर विभिन्न कारणले सिनेमा हलमा दर्शकको संख्या न्यून छ अर्थात् विगत केही सातादेखि देखिएको दर्शकको खरेडी यो चलचित्रले समेत बेहोरेको छ । विनोद पौडेलद्वारा निर्देशित यो चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, जोयश पाण्डे, लक्ष्मी वर्देवा आदि कलाकारले अभिनय गरेका छन् ।

चलचित्रका बारेमा विभिन्न सञ्चारमाध्यममा विविध प्रकारका समीक्षाहरू प्रकाशित भएका छन् । अधिकांश समिक्षकले उत्कृष्ट बताएको यो चलचित्रलाई केही समिक्षकले आलोचनासमेत गरेका छन् । भूमिका र अभिनयका दृष्टिकोणले यो चलचित्रलाई अभिनेत्री स्वस्तिमा खड्काको करियरकै उत्कृष्ट चलचित्र भनिएको छ । यद्यपि चलचित्रको क्लाइमेक्सप्रति दर्शकसंगै समिक्षकहरू पनि असन्तुष्ठ छन् । कतिपयले चलचित्रलाई स्लो भनेका छन् भने कतिपयले यसअघिको चलचित्र ‘साँघुरो’ को धङधङीसमेत मानेका छन् ।

प्रायः नेपाली चलचित्र भाषाले मात्र नेपाली हुन्छन्, कथा, पात्र एवं प्रस्तुतिमा स्थानीयपन हुँदैन । कथ्य संरचनालाई उपेक्षा गरिन्छ भने बजारु सूत्र पछ्याइन्छ, तर कतिपय सिनेकर्मी यस्तो ‘भाइरस’ बाट मुक्त हुन खोज्छन्, सिर्जनशीलतामा विश्वास राख्छन् । यही सोच र साहसको परिणाम हो, बुलबुल । फिल्ममेकिङको औपचारिक अध्ययन गरेका पौडेलले कथित मूलधारका सिनेमामा नअटाउने पात्र र तिनका व्यथालाई बुलबुलको केन्द्रमा राखेका छन् । कथा पस्कने शैली पनि कलात्मक छ । यतिविघ्न आफ्नोपनको आभास गराउने चलचित्र हामीकहाँ बिरलै बन्छन् । बासी मसलेदार चलचित्रबाट दिक्दार दर्शकलाई बुलबुलले राहत दिनेछ । रैथाने स्वाद रुचाउनेहरूले त छुटाउने कुरै भएन । यसले मौलिक दृश्य–भाषा निर्माणमा एउटा दरिलो इँटा थप्नेमा सन्देह छैन ।

नेपाल साप्ताहिक

बलिउडले बासी बनाइसकेको फर्मुलामै चलचित्र बन्ने आरोप खेप्दै आएका नेपाली फिल्मकर्मीले पछिल्लो समय आफ्नै कथा, परिवेश एवं पात्रलाई टिपेर चलचित्र बनाउने प्रयास गर्नु राम्रो हो । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ पनि यही प्रयासको सिलसिला हो । व्यावसायिक धारका चलचित्रबाट अलग रहेर बनेका यसअघिका धेरै चलचित्रको समस्याजस्तै ‘बुलबुल’ मा पनि कथाको बहाव ढिलो र द्वन्द्वको ग्राफले उत्कर्ष लिन सकेको छैन । चलचित्र पात्र, चरित्र र संवाद लवजकै भुमरीमा बढी रुमल्लिएको छ । यसअघि पनि ‘साँघुरो’ जस्तो वैकल्पिक धारको चलचित्रको पटकथा लेखेर प्रशंसा बटुलेका विनोद पौडेल यसपटक ‘बुलबुल’ बाट निर्देशनमा पनि होमिएका हुन् । आफ्नै कथालाई पटकथामा ढालेकाले उनको चलचित्र चेतबारे जानकारका लागि यो चलचित्र अपेक्षित पनि हो । पात्र निर्माण, तिनको संवाद, लवज र लवाइखवाइमा पौडेल जति प्रस्ट छन्, उति नै विषयप्रवेशमा ढिलो, कथा बहावमा सुस्त र कथा बैठानमा चुस्त बन्न सकेका छैनन् । छायांकन, सेटअप चलचित्रको मुडअनुसार अब्बल छन् । पृष्ठभूमि संगीत मध्यम छ । यसले पनि चलचित्रको साख जोगाउन मद्दत गरेको छ । त्यसबाहेक निर्देशकले चलचित्रमा बिम्बको मीठो प्रयोग गरेका छन् । ‘बुलबुल’ को सरप्राइज प्याकेज चोपेन्द्रको चरित्र निर्वाह गरेका मुकुन हुन् । रणकलाको भूमिकामा स्वस्तिमा र पतिको प्रताडना सहेर पनि जीवन चलाइरहेकी भीमाको भूमिकामा लक्ष्मीको अभिनय सहज छ तर पटकथा भने सहायक पात्र र तिनका उपकथालाई मूल कथा र मूल पात्रसंग एकाकार गराउनबाट चुकेको छ । वैकल्पिक धारमा रहेर आफ्नै समाजका भुइँपात्र र तिनका सामान्य लाग्ने असामान्य कथालाई उनेर चलचित्र बनाउनु ‘बुलबुल’ को असल प्रयास हो । यो चलचित्रले दर्शकलाई जैविक खुराक चखाउन त खोज्यो तर त्यसको पक्वानमा पर्याप्त ध्यान दिन सकेन ।

कान्तिपुर दैनिक

बिहेको भिडियो र अहिले फटाफट बनिरहेका नेपाली चलचित्रबीच के भिन्नता छ ? जवाफका लागि ‘फरक छुट्याऊ’ शैलीमा घोत्लिनुपर्छ । यसको प्रष्ट संकेत के भने, नेपाली सिनेमाबाट निर्देशकीय उपस्थिति हराउँदैछ । नतिजा, ६ दशक लामो फिल्मी अभ्यासपछि पछि पनि हामी ‘सिनेमा कस्तो हुनुपर्छ’ भन्ने आधारभूत प्रश्नमा अल्झिएका छौं । यो प्रश्नको गाँठो केही हदसम्म फुकाउनेछ, चलचित्र ‘बुलबुल’ले । हरेक दृश्य, अझ भनौं हरेक शटमा निर्देशकको रचना–शिल्प कसरी पोतिन्छ ? घतलाग्दो जवाफ छ, बुलबुलसँग । विनोद पौडेलद्वारा निर्देशित यो चलचित्रमा कथाको दस्तावेज छैन, उपदेश छैन, आर्दश छैन, सन्देश छैन, तर्क छैन । अव्यक्त कथा छ, अदृश्य पीडा छ र त्यसलाई पोख्ने रहरलाग्दो ‘सिनेम्याटिक’ भाषा छ । चलचित्रमा मसला खोज्नेहरूले यो चलचित्र नरुचाउन सक्छन् । यसको क्लाइमेक्सले पनि फर्मुला चलचित्रका दर्शकलाई चित्त नबुझाउन सक्छ । यो चलचित्र कमेडी होइन, लभस्टोरी होइन, एक्सन होइन । बुलबुलमा हल्काफुल्का मनोरञ्जनको डोज खोजेर पाइँदैन । किनभने निर्देशकले बजार लक्षित चलचित्र बनाएका होइनन्, यसमा आफ्नो शिल्प खिपेका हुन् । हाम्रो जस्तो संवेदनशील चलचित्र बजारमा यो एउटा जोखिम हो ।

अनलाइनखबर डटकम 

स्वस्तिमा खड्काले हालसम्म गरेको काममा बुलबुल उत्कृष्ट छ । उनले टेम्पो चालक बन्न सडकमा र आफ्नो व्यक्तित्वमा गरेको प्रयास स्पष्ट देखिन्छ, तर डायलग डेलिभरिमा भने उनी पुरानै चलचित्रहरूमा जस्तै लाग्छिन् । लक्ष्मी वर्देवा र जोयश पाण्डेको कथा र अभिनयले फिल्मलाई आधासम्म रणकला केन्द्रित हुन दिएको छैन । उनीहरूको कथा थोरै पनि बनावटी लाग्दैन । दुबै नाटकीय प्रस्तुत हुँदैनन् । 

पहिलोपोस्ट डटकम

यो चलचित्र प्रदर्शनमा आएको पाँच दिन (मंगलबारसम्म) भैसकेको छ । निर्माताले चलचित्रको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छैनन् । किन गरेनन् ? त्यो उनले नै जान्दछन्, तर एउटा सत्य चाहिँ के हो भने चलचित्रको कलेक्सन सुनाउन लायक छैन । मल्टिप्लेक्समा विदेशी दुई चलचित्र ‘गल्ली ब्वाई’ र ‘एलिटा’ को चेपुवामा परेको छ । यो चलचिक्र सिंगल ‘स्त्रिन’ मा दर्शक उपस्थित औसत छ ।

फिल्मीखबर डटकम

अर्ग्यानिक तरकारीमा पनि कहिलेकाहीँ किरा लाग्न सक्छ, विभिन्न रोग हुन सक्छ । त्यसलाई अर्ग्यानिक भन्दैमा राम्रो र उत्तम मान्न सकिँदैन । त्यस्तै चलचित्र बुलबुललाई पनि ठिकै भन्दा माथि उठेर राम्रो चलचित्र भन्न सक्ने आधार छैन । गरिबीमा पेलिएको परिवारको दैनिकी गुजार्न र आफ्ना समस्याहरू पूर्ति गर्न काठमाडौंमा टेम्पो चलाउने महिला चालकहरू धेरै छन् । चलचित्रको विषयवस्तुले दर्शकलाई सन्तुष्ट बनाउन सक्दैन तथापि चलचित्रका पात्रहरूको काम भने प्रशंशा योग्य नै छ ।

फिल्मीफन्डा डटकम

प्रकाशित :फाल्गुन ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्