गेष्ट पोजर रोली

- साप्ताहिक संवाददाता

फाल्गुन १०, २०७५

शिरमा कालो टोपी, भीमकाय शरीर । खचाखच दर्शकमाझ बडिबिल्डिङमा संसारकै सबैभन्दा वलिष्ठ शरीर भएका रोली विंकलार स्टेजमा झुल्किए । सिट्ठी र हुटिङका बीच उनले करिब ५ मिनेटसम्म स्टेजमै सुंगठित शरीरका विभिन्न पोज प्रस्तुत गरे । स्टेजको प्रस्तुतिपछि केही शब्द बोले । रोली मञ्चमा उक्लिएदेखि नै गर्माएको वातावरण जब उनी दर्शकदीर्घामा झरे त्यसपछि थप गर्मायो । 

शनिबार कमलादीस्थित प्रज्ञा भवनमा आईएफबीबी बडिबिल्डिङ प्रो–क्यालिफायरको मुख्य आकर्षकका रूपमा आफ्नो भीमकाय शरीरका लागि संसारभर प्रख्यात बडिबिल्डर रोलीले गेष्ट पोजरका रूपमा स्टेजमा प्रस्तुत भए । उक्त अवसरमा उनले सबैतिर घुमेर आफूसँग सेल्फी खिच्ने दर्शकको हुटहुटी पनि पूरा गरिदिए । 

आइएफबीबी बडिबिल्डिङ प्रो–क्यालिफायरका दौरान गेष्ट अपरियन्सका लागि रोली दुई दिनअघि मात्र काठमाडौं आएका हुन् । रोलीले आफ्ना प्रशंसकहरूको प्रशंसा गर्दै उनीहरूलाई धन्यवाद दिए । यस पटक थोरै समयका लागि भए पनि नेपाल आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै अर्को पटक लामो समयका लागि नेपाल आउने उनले बताए । 

१ सय ३० किलोका रोली ५ फिट ७ इन्च अग्ला छन् । उनको हातको पाखुरा मात्र २४ इन्च, छाती ६० इन्च तथा खुट्टा ४८ इन्चको छ । उनको पिँडुला २० इन्च र गर्धन १९ इन्चको छ । उनी डच बिस्ट, दि विष्ट तथा सामुराईजस्ता उपनाम चर्चित छन् । सार्वजनिक कार्यक्रमहरूमा एकदमै कम देखिने रोली यो वर्ष पहिलो पटक नेपालको सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । दुई पटकका धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फ्रेन्चाइज नेपाल भित्र्याएर प्रो–क्यालिफायरमा गेष्ट पोजरका रूपमा उनलाई नेपाल ल्याएका हुन् ।

 

प्रकाशित :फाल्गुन १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्