चलचित्र घरमा रुमालै छ चिनो 

- साप्ताहिक संवाददाता

फाल्गुन १०, २०७५

चलचित्र रुमालै छ चिनोको प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । यो चलचित्र काँठ क्षेत्रका गायक रेशम थापाको लोकदोहोरी रुमालै छ चिनोबाट शीर्षक सापटी लिएर तयार पारिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रमा वीर गोर्खालीको कथा प्रस्तुत गरिएको छ । 

दिनेश सिंह ठकुरीद्वारा निर्देशित यो चलचित्रको कथा गायक रेशम थापाले लेखेका हुन् भने पटकथा दिनेश ठकुरीको छ । ज्योति फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र रुमालै छ चिनो चन्द्रबहादुर खड्का, दीपक ढकाल तथा रामप्रसाद पाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन् । यो चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, रश्मी भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, सन्ध्या खड्का आदि कलाकारले अभिनय गरेका छन् । 

चलचित्रको केहीसमय अघि सार्वजनिक ट्रेलरमा गोर्खाली योद्धा देशको सुरक्षाका लागि घर छोडेर गएको कथा प्रस्तुत गरिएको छ । रुमालै छ चिनोमा अर्जुन पोखरेल तथा अञ्जु पन्तको स्वरको ए माया गीत पनि समावेश छ । उक्त गीतको शब्द तथा संगीत अर्जुन पोखरेलकै हो । यस्तै, यो चलचित्रको बिरही कार्कीको स्वर तथा संगीतको आमा नबस्नु पर्खेर गीत पनि युट्युबमार्फत सार्वजनिक भैसकेको छ । 

फिंगर प्रिन्ट

चलचित्र फिंगर प्रिन्ट आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो चलचित्र मेडिकल साइन्स तथा फिंगर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधका विषयमा केन्द्रित भएको निर्माण पक्षले जनाएको छ । नवीन निरौलाको लेखन, निर्देशन तथा सम्पादनको चलचित्र फिंगर प्रिन्ट कामना फिल्म्सको ब्यानरमा अनिल श्रेष्ठ रोमनले निर्माण गरेका हुन् । 

यो चलचित्रमा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, शंकर आचार्य, जेसिका भुसाल आदि कलाकारले अभिनय गरेका छन् । निर्माण पक्षले केही साता पहिले युट्युबमार्फत यो चलचित्रको ट्रेलर सार्वजनिक गरेको थियो । 

युट्युबमार्फत सार्वजनिक ट्रेलरले खासै भ्युज पाएको छैन । सुमन तण्डुकार तथा राहुल राईको छायांकनको यो चलचित्रमा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत एवं कविराज गहतराजको कोरियोग्राफी छ ।

प्रकाशित :फाल्गुन १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्