लभ म्यासेजलाई सिरियसली लिन्नँ : करिश्मा विष्ट

- नरेन्द्र रौले

फाल्गुन ८, २०७५

अत्तरिया, कैलालीकी करिश्मा विष्ट नेपाल आइडलमा सहभागी भएपछि एकाएक चर्चामा आइन् । उनी सोसल मिडियाहरूमा छाइन् । उनले गाएको र्‍याप गीत तथा कविता आमदर्शक तथा श्रोताहरूको मुखमा झुन्डियो । नेपाल आइडलको फाइनलमा पुग्न असफल भए पनि उनलाई देशभरका कार्यक्रमबाट अफर आए । यसबीच उनले इको नि लाग्यो, विद्या नाशजस्ता गीत रेकर्ड गराइसेकेकी छिन् । जाँदाजाँदै विष्टसँग नरेन्द्र रौलेको कुराकानी :

नेपाल आइडलमा आएपछि अझ राम्री देखिनुभयो नि ? 

के भन्ने अब ? त्यस्तो केही होइन । पहिले मलाई मेकअप गर्न आउँदैनथ्यो । नेपाल आइडलमा सहभागी भएपछि नीलिमा थापामगर र अस्मिता अधिकारीले तिमीले आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ भनेर सिकाउनुभयो । मैले उहाँहरूको कुरालाई फलो गरें । नेपाल आइडलमा मेकअप आर्टिस्टहरूले नै मेकअप गरिदिन्थे । मेकअप आर्टिस्ट नहुँदा हिना मल्ल, नीलिमा र अस्मिताले मेकअप गरिदिन्थे । त्यही भएर राम्री देखिएकी होला । 

तपाईंलाई प्रेम र विवाहमध्ये कस्तो प्रस्ताव बढी आउँछ ?

कसैले सीधै आएर प्रस्ताव गरेका छैनन् । कहिलेकाहीं फेसबुकमा आई लभ यू भन्ने म्यासेज आउँछ । म थ्यांक यू भनिदिन्छु, सक्कियो । म त्यसलाई सिरियस्ली लिन्नँ । 

यदि मिल्ने भए नेपाल आइडलका सहभागीमध्ये क–कसलाई दाइ, प्रेमी तथा श्रीमान्का रूपमा रोज्नुहुन्थ्यो ? 

नेपाल आइडलमा सबैभन्दा कान्छी मै थिएँ । जन्मदर्ताको हिसाबले क्रिसल कँडेल केही महिना कान्छा भएकाले म उनलाई भाइ भन्थें । विक्रम बराल, सुमित पाठक, रवि ओड सबै दाइ नै हुन् । नेपाल आइडलको फाइनलमा नआउँदै थिएटर राउन्डबाटै आउट भएका अजय कार्कीलाई म साथी भन्थें । प्रेमी वा श्रीमान्का रूपमा त कसलाई रोज्नु खै ? 

तपाईंलाई गायिका बन्न मन छ कि नायिका ?

बाल्यकालदेखि नै गायिका बन्न मन थियो । म अरु कुरालाई त्यति प्राथमिकता दिन्नँ । म नायिका बन्न तयार भैसकेकी छैन । 

तपाईंको पढाइ कहाँ पुग्यो ? 

दुर्गालक्ष्मी नमुना मावि, अत्तरियामा १२ मा पढ्दैछु । 

तपाईंको इको लाग्यो, अकाउन्ट लाग्यो भन्ने गीत खुब हिट छ । कक्षा ११ मा कुनै विषय लाग्यो कि ?

लागेन, पूरै क्लियर छ ।

स्कुल पढ्दा त कुनै विषय लागेको थियो होला ?

कक्षा १० मा गणितमा अनुत्तीर्ण भएँ । त्यतिबेला म एकदमै बिरामी थिएँ । दिनहुँजसो बेहोस हुन्थें । ६ महिनाभन्दा बढी बिरामी भएँ । मेरो काठमाडौंका दुईवटा अस्पतालमा उपचार गरियो । 

तपाईंलाई पाउन मरिहत्ते गर्ने कुनै फ्यान छन् ? 

मिल्ने साथीहरू छन् । त्यस्तो मरिहत्ते गर्ने खासै कोही छैनन् । मलाई सिधै कसैले भनेको छैन । अरू साथीहरूको मुखबाट केही कुरा सुनिन्छ । ‘तेरो साथीलाई मन पराउँछु, तर स्वीकार्दिनँ होला’ भनिरहेका हुन्छन् ।

तपाईं कविता पनि राम्रो लेख्नुहुन्छ हैन ? 

धेरै त होइन, मैले ८ वटाजति कविता लेखेकी छु । ती कविता मेरो फेसबुक पेजमा पढ्न सकिन्छ भने केही कविता वाचन गरेर युट्युबमा समेत राखेकी छु ।

नेपाल आइडलमा एउटा कविता सुनाएपछि विदेश गएका बुबालाई नेपाल फर्काउनुभयो नि ?

त्यो कविता नेपाल आइडलको अडिसनमा सहभागी हुनुभन्दा एक महिनाअघि लेखिएको हो । त्यो कविता सुनाएपछि बुबा नेपाल फर्कनुभयो । हुन त त्यो संयोग मात्र होला । उता कतारमा धेरै गर्मी हुन्थ्यो, काम गर्न गार्‍है थियो । घरबाट बुबालाई नेपाल फर्कन भनिरहनुभएको थियो । त्यसले गर्दा पनि फर्कनुभएको होला । 

नेपाल आइडलले गाउँकी सोझी केटीलाई पूरै मोडल बनायो भन्ने चर्चा छ । त्यो कुरालाई कसरी लिनुहुन्छ ?

नेपाल आइडलले मलाइ नाम दिएको हो । सुरुमा मलाई कसैले चिन्दैनथे । म अत्तरियामा सीमित थिएँ । कमेन्ट गर्नेहरूले त गरिहाल्छन् । यदि म पहिलेजस्तै भएकी भए केही परिवर्तन भएन भन्थे होलान् । पहिले बुद्ध लामाले जित्दा धनीले जित्यो भने, अहिले रवि ओडले जित्दा गरिबले जित्यो भन्छन्, त्यस्तै हो । कमेन्ट गर्नेहरूको चित्त बुझाउन सकिँदैन । 

तपाईंको दाइ पनि मीठो गीत गाउनुहुन्छ । दाइ–बहिनी मिलेर संयुक्त एल्बम निकाल्ने सोच 

छ कि ? 

कत्ति पनि छैन । यदि मैले त्यो प्रस्ताव राख्ने हो भने दाइले नाइँ भन्नुहुन्छ । 

तपाईं नायक प्रदीप खड्काको ठूलो फ्यान हुनुहुन्छ । भेट भयो भने के भन्न चाहनुहुन्छ ?

मलाई प्रदीप खड्काको सबै कुरा राम्रो लाग्छ । उहाँ ह्यान्डसम हुनुहुन्छ । उहाँको अभिनय, बोल्ने शैली तथा पर्सनालिटी सबै मन पर्छ । यदि उहाँसँग भेट भयो भने म तपाईंको फ्यान हुँ भनेर सेल्फी खिच्थें र त्यो तस्बिरलाई फ्रेममा हालेर आफ्नो बेडरुममा सजाउँथे ।

प्रकाशित :फाल्गुन ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्