चर्चित अविवाहित पुरुषहरु

- कृष्ण भट्टराई

फाल्गुन ७, २०७५

विवाहलाई बनारसको लड्डु भन्न थालिएको वर्षौं भयो । खाए पनि पछुताउने अनि नखाए पनि पछुताउने भएकाले विवाहलाई लड्डुसँग तुलना गरिएको होला । उमेर पुगेपछि विवाह गर्नु प्राकृतिक कुरा हो । विवाह भएपछि महिला हुन् अथवा पुरुष, जिम्मेवारीमा बाँधिन्छन् भन्ने आमधारणा छ । हाम्रो नेपाली समाजमा विवाहका आफ्नै मूल्य–मान्यता छन् । ग्ल्यामर क्षेत्रमा त विवाहले अझ ठूलो भूमिका निर्वाह गर्छ । करियरले उचाइ लिइरहेका बेला विवाह गर्नु हुँदैन भन्ने मान्यता एकातिर छ भने अर्कातिर विवाहित अभिनेता–अभिनेत्रीहरूले सफलताको उचाइ चुमेका उदाहरण पनि छन् । साप्ताहिकको यो अंकमा केही त्यस्ता अविवाहित महिला तथा पुरुष सेलिब्रेटीहरू समेटिएका छन्, जसमध्ये अधिकांशले यसै वर्षदेखि आफ्नो करियर प्रारम्भ गरेका छन् । 

धीरज मगर 

यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत रजतपटमा उदाएका अभिनेता हुन्— धीरज मगर । पहिलो चलचित्रबाटै स्थापित भएका यी अभिनेता यही वर्ष दोस्रो चलचित्र आई एम ट्वान्टी वानमा पनि मुख्य अभिनेताका रूपमा अनुबन्धित भैसकेका छन् । वैशाखदेखि फ्लोरमा जाने उक्त चलचित्रको निर्देशन पनि रेनशा वान्तवा राईले नै गर्नेछिन्, जसले इन्टु मिन्टु लन्डनमा पनि निर्देशन गरेकी थिइन् । धीरजले ‘इन्टु मिन्टु लन्डनमा’ को अभिनयबाट प्रशस्त प्रशंसक कमाएका छन् । खासगरी युवतीहरूमाझ उनको क्रेज लोभलाग्दो छ । अविवाहित यी अभिनेता बेलायतमा बसोबास गर्छन् । 

मनिष श्रेष्ठ

आकर्षक व्यक्तित्वको धनी छन्— मनिष श्रेष्ठ । मोडलिङबाट रजटपटमा आएका यी अभिनेताले छोटो समयमै दर्शकको मन जितेका छन् । चलचित्र रानीबाट उदाएका मनिषले त्यसपछि तिमी हुन्छौ जहाँ–जहाँमा अभिनय गरे । यतिबेला उनी चलचित्र जानी–नजानीको प्रदर्शनको पर्खाइमा छ । नयाँ पुस्ताका हेन्डसम अभिनेताका रूपमा स्थापित भैसकेका यी अविवाहित अभिनेताले चलचित्रको अभिनयलाई निरन्तरता दिने बताइसकेका छन् । मनिषले यू एन्ड आई शीर्षकको वेब सिरिजमा समेत काम गरेका छन् । 

आशिष पिया

हाल प्रदर्शनरत चलचित्र ‘समर लभ’ बाट उदाएका कलाकार हुन्— आशिष पिया । आशिषले पहिलो चलचित्रबाटै प्रशस्त प्रशंसा पाएका छन् । अविवाहित यी अभिनेताले उक्त चलचित्रबाट आफ्नो अभिनयको सुखद मूल्यांकन भएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । युवा उद्यमीका रूपमास्थापित भैसकेका पिया चितवनका स्थायी बासिन्दा हुन् । आशिषलाई करिब तीन वर्षअघि नै चलचित्र समर लभबाट प्रस्ताव आएको थियो । चलचित्रमा आउनुअघि नै उनले केही विज्ञापनमा काम गरिसकेका थिए । समर लभको अतीतको भूमिकामा प्रस्तुत भएका आशिष अभिनयलाई निरन्तरता दिइरहने बताउँछन् । चकलेटी लुक्सका यी अभिनेताले समर लभका मुख्य पात्रको भूमिका निर्वाह गर्न पाउनुलाई ठूलै अवसर मानेका छन् । ठ्याक्कै ६ फिट अग्ला २५ वर्षीय पियाले अभिनयमा करियर बनाउने विषयमा सकारात्मक रूपले सोच्न थालेको प्रतिक्रिया दिएका छन् । 

हरिहर अधिकारी 

हरिहर अधिकारी युवा ज्योतिष हुन् । यद्यपि अहिले उनी चलचित्र अभिनेताका रूपमा समेत चिनिन थालेका छन् । चलचित्र शुभ लभमार्फत अभिनेताका रूपमा पदार्पण गरेका अधिकारीले अभिनय र ज्योतिष दुवै विधामा सक्रिय हुने संकेत गरेका छन् । उक्त चलचित्रको हालै सार्वजनिक शीर्षक गीतमा हरिहरको आकर्षक नृत्य तथा अभिनय हेर्न सकिन्छ । अविवाहित यी युवा सेलिब्रेटीले चलचित्रमा कस्तो अभिनय गरेका छन् भन्ने जानकारी पाउन चलचित्रको प्रदर्शन मिति चैत १५ गते नै कुर्नुपर्नेछ ।

 

प्रशान्तजंग शाह

२३ वर्षीय प्रशान्त जंग शाह मोडल हुन् । शाह यही वर्ष सम्पन्न मिस्टर इन्टरनेसनल नेपाल–२०१९ मा उपाधि जितेपछि चर्चामा आएका हुन् । यसबीच यी हेन्डसम मोडलले पुरुषहरूको सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल–२०१९ मा नेपालको प्रतिनिधित्वसमेत गरेका छन् । यही बिहीबारदेखि फिलिपिन्सको मनिलामा आयोजना हुने प्रतियोगितामा प्रशान्तले नेपालको प्रतिनिधित्व गर्दैछन् । उनी फुटबल, फिटनेस तथा मोडलिङमा रुचि राख्ने युवा हुन् । प्रशान्तले यसअघि फेस अफ हाउस अफ फेसनको पाँचौं संस्करणमा सेकेण्ड रनर्स अपको उपाधि जितेका थिए । 

विकल्पराज श्रेष्ठ

विकल्प राज श्रेष्ठ पनि मोडल नै हुन् । मोडलका रूपमा सक्रिय विकल्पले यही वर्षको असोज महिनामा सम्पन्न मिस्टर नेपाल वल्र्ड–२०१८ मा सहभागिता जनाएर उपाधि नै हात पारेका थिए । श्रेष्ठ मिस्टर नेपाल वल्र्डको उपाधिसँगै चर्चामा आएका हुन् । २५ वर्षीय विकल्पले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व समेत गर्नेछन् । चितवन, रामघाटका विकल्प बीबीएस अन्तिम वर्षका छात्र हुन् । केही सौन्दर्य प्रतियोगितामा निर्णायकका रूपमा सहभागी भैसकेका विकल्पले मिस्टर नेपालको एकवर्षे कार्यकालपछि ग्ल्यामर क्षेत्रमै आउन सक्ने संकेत गरेका छन् । 

अमृत ढुंगाना

चकलेटी अनुहारका अभिनेता हुन्— अमृत ढुंगाना । चलचित्र सायद–२ बाट रजतपटमा उदाएका यी अभिनेताले अभिनय गरेको नयाँ चलचित्र सयकडा दस हालै प्रदर्शनमा आएको थियो । ५ फिट ९ इन्च अग्ला यी अविवाहित अभिनेता धरानमा जन्मिएका हुन् । केही छोटा चलचित्रमा समेत अभिनय गरिसकेका अमृत सय कडा दशको प्रदर्शनसँगै दर्शकको नजरमा पर्न सफल भएका हुन् । त्यसो त उनले सायद–२ मा पनि प्रभावकारी भूमिका निर्वाह गरेका थिए । 

सुशील सिटौला

हालै प्रदर्शनमा आएको चलचित्र ‘रणवीर’ मार्फत एक्सन हिरोको छवि बनाउन सफल अभिनेता हुन्— सुशील सिटौला । यी अविवाहित अभिनेताले उक्त चलचित्रमा प्रशान्त ताम्राकारसँग गरेको द्वन्द्वलाई दर्शकहरूले निकै मन पराए । यसअघि होस्टल, सुन्तलीलाई भगाई लग्यो झिल्केले तथा गाजाबाजाजस्ता चलचित्रमा अभिनय गरिसकेका सुशीलको करियर यतिबेला रमाइलो मोडमा आइपुगेको छ । रणवीरको व्यवसायिक सफलताले उनलाई उचाइ दिने अनुमान गरिएको थियो, यद्यपि चलचित्रको असफलताले पनि उनको अभिनय कौशल तथा प्रतिभामा भने नकारात्मक प्रभाव पारेको छैन । 

रवि ओड 

दोस्रो नेपाल आइडल हुन्— रवि ओड । पश्चिम नेपालको कञ्चनपुरस्थित कृष्णपुर नगरपालिकामा २१ वर्षअघि जन्मिएका रवि सामान्य परिवारका हुन् । नेपाल आइडलको धनगढी अडिसनमा कमल खत्रीको गीत ‘जाउँला रेलैमा...’ गाएर नेपाल आइडलमा प्रवेश पाएका ओड नेपाल आइडलको उपाधि जितेपछि उनी स्वदेशसहित विदेशसम्म पुगेर आफ्नो सांगीतिक प्रस्तुति दिइरहेका छन् । अविवाहित यी गायक आफूलाई सेलिब्रेटीको सूचीमा राख्न सफल भैसकेका छन् । नेपाल आइडलमा आउनुअघि नै उनी पश्चिम नेपालका विभिन्न मेला–महोत्सवमा गीत गाउँथे । संगीतमा सानैदेखि रुचि राख्ने ओडले नेपाल आइडलको उपाधि जितेपछि भनेका थिए— ‘नेपाल आइडल त मेरा लागि मीठो सपना मात्र थियो, यो मेरो मात्र जित होइन, सबै नेपालीको जित हो । मेरा प्रशंसकहरूको मेहनत, साथ र सहयोगको नतिजा हो यो ।’ 

 

प्रकाशित :फाल्गुन ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्