स्वयंलाई नियन्त्रण गर्न नसक्दा

- अनिल श्रेष्ठ

फाल्गुन ७, २०७५

 

विराटनगर महानगरपालिका– ८, भलुवाहीकी – १० वर्षीया गुडिया भनिने रूपमती दासको हत्या उनकै दुई छिमेकी युवाले आलोपालो गर्दै बलात्कारपछि घाँटी थिचेर गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । 

प्रहरीले एक साता लामो अनुसन्धानपछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्न विराटनगर– ८ बलुवाहीका १९ वर्षीय चन्दु महतो तथा सोही ठाउँका २५ वर्षीय भुट्टु भनिने अब्बास अन्सारीलाई पक्राउ गरेको छ । यौनसम्पर्क गर्ने तीव्र इच्छा जागेपछि अब्बास र चन्दुले रूपमतीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । उनीहरूले माघ १२ गते राती रूपमतीको बलात्कारपछि हत्या गरेका हुन । 

‘लामो अनुसन्धानपछि अपराधी पत्ता लगाउन सकियो,’ मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले भने, ‘रूपमतीलाई मुख थुनेर आलोपालो गर्दै बलात्कार गरेको बयानका क्रममा अभियुक्तहरूले स्वीकार गरेका छन् । पक्राउ परेका दुवै जना लागूऔषध दुव्र्यसनी रहेको प्रहरीले बताएको छ । ‘रूपमतीको हत्या गर्नुअघि सिमावर्ती जोगवनी बजार गएर अब्बासले ५ वटा नाइट्रोसन नामक लागूऔषध सेवन गरेको प्रारम्भिक अनुसन्धानमा देखियो,’ एसपी केसीले भने, ‘त्यही दिन बलात्कारपछि हत्या गर्ने योजना पनि उनीहरूले बनाएको पाइयो ।’ उनीहरूले लामो समयदेखि गाँजा, नाइट्रोसन, फेन्सिडल आदि लागूऔषध प्रयोग गर्दै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । 

प्रहरीले उक्त घटनामा २४ जनासँग सोधपुछ गरिएको र तीमध्ये १७ जनालाई अनुसन्धानको दायरामा ल्याएपछि निचोडमा पुगेको एसपी केसीले बताए । ‘पोष्टमार्टम रिपोर्टअनुसार पनि रूपमतीको बलात्कार र घाँटी थिचेर हत्या भएको देखिएको छ,’ एसपी केसीले भने । पक्राउ परेका दुवै जनालाई जवरजस्ती करणी गरी कर्तव्य ज्यान अपराध गरेको कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गराई अनुसन्धान भैरहेको उनले जानकारी दिए । 

यसरी गरे हत्या 

लागूऔषध प्रयोगकर्ता अब्बास विवाहित हुन् भने चन्दु अविवाहित । अब्बासकी श्रीमती तीन महिनादेखी माइतीमा बस्दै आएकी छिन् । अब्बासमा तीव्र यौन इच्छा जागेपछि उनका मिल्ने साथी चन्दुलाई सुनाए । चिन्ता नगर भैहाल्छ, म व्यवस्था गर्छु भन्दै रक्सी पिएका चन्दुले अब्बासलाई बचन दिए । 

माघ १२ गते रातको ८ बजे । टिभी हेर्न भनेर छिमेकीको घरअगाडि थिइन् रूपमती । दुबैले आफ्नो योजना पूरा गर्ने सपना तत्कालै बुनिहाले । उनीहरूले रूपमतीलाई समाए । चन्दुले रूपमतीको मुख बन्द गरे । अब्बासले खुट्टा समाएर रूपमतीको घरदेखि १ सय मिटर टाढा रहेको चौरमा लगे । बालिकाले चिच्याउँदै बल गरेपछि अन्सारी र महतोले मुख र घाँटी थिचेर पालैपालो बलात्कार गरे । चन्दुले सुरुमा यौन सम्पर्क गरे, त्यसपछि अब्बासले । आलोपालो बलात्कारमा परेपछि रूपमती अचेत भइन् । बलात्कार गरेको पोल खुल्ने डरले उनीहरूले रूपमतीको घाँटी थिचेर 

हत्या गरे । 

डिलबाट खोलामा फाले

नशामा रहेका उनीहरूले रूपमतीको हत्या गरेपछि उनको कपडा फोहोर फ्याँक्ने ठाउँतिर मिल्काइदिए भने शव लिएर सिंघिया खोलातर्फ लागे । त्यहाँ पुगेपछि शव खोलामा हुत्याइदिए अनि सुत्न भनेर घरतिर गए । ‘रूपमतीको बलात्कारपछि हत्या गरेपछि प्रमाण नष्ट गर्न अभियुक्तहरूले निक्कै चलाखी गरेको देखियो,’ एसपी केसीले भने, ‘रूपमतीले लगाएको कपडा खोल्सीमा फेला पर्‍यो । चप्पल आइतबार, टोपी बुधबार र कपडा शुक्रबार फेला परेको थियो ।’ रूपमतीको हत्यापछि अभियुक्तहरूले विराटनगर–८ भलुवाहीस्थित बलात्कार गरेको ठाउँदेखि १ सय मिटर टाढा डिलबाट सिंघिया खोलामा शव फालिदिएको प्रहरीले जनाएको छ । शव खोलाले बगायो कि बगाएन भनेर अभियुक्तहरू भोलिपल्ट बिहान पुन: त्यहाँ पुगेको जानकारी दिँदै एसपी केसीले भने, ‘लास अड्किएको देखेपछि अब्बासले लासलाई खोलातर्फ धकेलिदिएको अनुसन्धानका क्रममा थाहा लाग्यो ।’ 

सिंघिया खोलामा माघ १३ गते दिउँसो निवश्त्र अवस्थामा रूपमतीको शव फेला परेको थियो । छिमेकी मोहम्मद नहिमकहाँ टिभी हेर्न जान्छु भन्दै आमा मुन्नीदेवीसँग माघ १२ गते राति लगभग ८ बजे विदा मागेर हिँडेकी रूपमतीको शव हत्या गरेर फ्यालिएको अवस्थामा बगिरहेको खोलाको पानी भित्र भोलीपल्ट फेला परेको हो । 

आफन्त जोगिइन् 

अब्बासले रूपमतीकै एक आफन्त युवतीलाई नशालु पदार्थ मिसाएर यौन सम्पर्क गर्ने इच्छा सफल हुन नसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यो प्रयास असफल भएपछि टिभी हेर्न भनेर निस्किएकी बालिका रूपमती उनीहरूको जघन्य अपराधको सिकार भएकी प्रहरीले बताएको छ । युवतीलाई निशाना बनाउनुअघि पनि अन्सारीले अर्की एक महिलालाई पाउरोटीमा लागूऔषध नाइट्रोसन मिसाएर खुवाइ बलात्कारको योजना बनाएको एसपी केसीले बताए । ‘कहिल्यै खानेकुरा नदिने युवाले पाउरोटी दिएपछि ती महिलाले खान अस्वीकार गरेकी थिइन्,’ एसपी केसीले भने, ‘उनले खान अस्वीकार गरेपछि अन्सारीले नै भुइमा नाइट्रोसन खसाउँदै त्यो पाउरोटी आफैले खाएका थिए ।’ प्रहरीले बरामद गरेको नाइट्रोसन प्रहरीको विधी विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको एसपी केसीले बताए । 

को हुन् रूपमती ?

रामप्रसाद र मनीदेवी दासका दुई छोरीमध्ये कान्छी छोरी हुन्— रूपमती । उनका दुइ भाइ पनि छन् । रूपमती स्थानीय नारायणी स्कूलमा कक्षा १ मा अध्ययनरत थिइन् । रामप्रसादले रिक्सा चलाएर ७ जनाको परिवार पाल्दै आएका थिए । 

प्रकाशित :फाल्गुन ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्