लभ बर्ड्स

- कृष्ण भट्टराई

फाल्गुन ५, २०७५

हलिउड–बलिउडझैं नेपाली चलचित्र उद्योगमा पनि सेलिब्रेटीहरूको लभ–रोमान्स तथा ब्रेकअपको श्रृंखला चलिरहन्छ । कुनै एउटा चलचित्रमा सँगै काम गर्नेबित्तिकै रोमान्समा परेको गसिप बन्नु तथा दोस्रो चलचित्रमा त्यही जोडी दोहोरिएन भने ब्रेकअप भएको अनुमान गर्दै पुन: अर्को गसिप बन्नु नौलो कुरा रहेन । यद्यपि हामीले भ्यालेन्टाइन्स डेको अवसर पारेर छ वटा त्यस्ता जोडीका बारेमा सामग्री तयार पारेका छौं, जो रियल लाइफमै रोमान्स गरिरहेका छन् ।  चलचित्र क्षेत्रमा सक्रिय लभ बर्ड्सको रोमान्सका बारेमा साप्ताहिक संवाददाता कृष्ण भट्टराईको खोजीनीति : 

पल शाह र आँचल शर्मा 

हुन त अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माले आजका मितिसम्म आफूलाई ‘जोडी’ भएको औपचारिक घोषणा गरेका छैनन् । यद्यपि आमदर्शकमाझ मात्र होइन चलचित्रवृत्तमा समेत उनीहरू ‘कपल’ हुन् भन्ने कुराको जानकारी छ । ‘आँप’ जोडीका रूपमा समेत चर्चित यो जोडीले दर्जनौं भिडियोमा जोडीकै रूपमा अनस्क्रिन रोमान्स गरिसकेको छ भने केही चलचित्रमा पनि उनीहरूले जोडीकै रूपमा अभिनय गरेका छन् । काठमाडौंमा हालै आयोजित एउटा सार्वजनिक समारोहमा अभिनेत्री आँचल शर्मा तथा एक सञ्चारकर्मीबीच भएको सवाल–जवाफपछि अभिनेता पल शाहले आँचलको बचाउ गर्दै लेखेको स्टाटसले उनीहरूको निकटता पुष्टि गरेको छ । विगत केही वर्षदेखि नै रोमान्समा रहेको यो जोडीले आफूलाई बेस्ट फ्रेन्ड मात्र बताइरहेको छ । यो जोडीले तीन वटा चलचित्रमा लगातार सँगै काम गरे पनि पछिल्लो समयमा आएर उनीहरूले केही चलचित्रमा अलग–अलग अभिनेता–अभिनेत्रीसँग काम गरेका छन् । अलग अभिनेता–अभिनेत्रीसँग काम गरेर के भयो त ? आँप जोडी भित्रैदेखि जोडिएको छ भन्ने कुराको प्रमाण अभिनेता शाहको स्टाटसले पुष्टि गर्छ । समारोहमा आँचलले सार्वजनिक रूपमै माफी मागे पनि पलले फेसबुकमा उक्त घटनाप्रति असन्तुष्टि व्यक्त गरे । पलले माफी मगाउँदै र माग्दैमा समस्या हल नहुने बताएका छन् । कलाकारहरूसँग कसरी प्रस्तुत हुने भन्ने कुरा पनि पत्रकारहरूले सिक्न आवश्यक रहेको पलले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् । 

प्रियंका कार्की र आयुष्मान देशराज जोशी 

नेपाली चलचित्र क्षेत्रकी नम्बर एक अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीको जोडी अहिले चर्चामा छ । करिब दुई वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रूप दिने निर्णय गरिसकेका छन् । केही महिनाअघि नै इन्गेज्मेन्ट गरेर उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रूप दिइसकेका छन् । पारिवारिक रूपमै सहमति गरेर इन्गेज्मेन्ट गरेका प्रियंका र आयुष्मानले आफ्नो प्रेम सम्बन्धलाई थप मजुबत बनाउँदै लगेका छन् । प्रियंका र आयुष्मानको प्रेम सम्बन्ध छोटो समयका लागि हो भन्नेहरूलाई उनीहरूले गरेको इन्गेज्मेन्टले ठूलै जवाफ दिएको छ । उनीहरूले आगामी असार महिनामा विवाह गर्ने घोषणा नै गरिसकेका छन् । दुवैको परिवारका अधिकांश सदस्य अमेरिकामा रहेको तथा असारपछि त्यहाँ केही महिना बिदा हुने भएकाले प्रियंका र आयुष्मानले आफ्नो परिवारका सदस्यहरूको बाक्लो उपस्थितिका लागि विवाहको मिति पछि सारेका हुन् । त्यसो त प्रियंका र आयुष्मानको प्रेम सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी तथा ट्रोलको बाढी नै चल्छ । प्रियंकाको अघिल्लो वैवाहिक सम्बन्ध असफल भएको तथा उनी आयुष्मानभन्दा उमेरले जेठी भएका कारण यो सम्बन्ध दिगो नहुने आशयका टिप्पणीहरू पनि सार्वजनिक भएका छन् । यता प्रियंका र आयुष्मानले हालै मात्र आयंका फाउन्डेसनको घोषणा सभामा जीवनभर साथ रहने ‘कसम’ नै खाएका छन् । उनीहरूले प्रेममा जात तथा उमेरले फरक नपार्ने समेत बताएका छन् । 

दिवाकर भट्टराई तथा दीपिका प्रसाईं 

चलचित्रका अभिनेता तथा अभिनेत्रीहरू एक–अर्काको प्रेममा पर्नु अनि घरजम गर्नु सामान्य भैसकेको छ । त्यस क्रममा निर्देशक दिवाकर भट्टराई तथा अभिनेत्री दीपिका प्रसाईंले आफूहरू प्रेममा रहेको तथा विवाहको तयारी गरिरहेको घोषणा नै गरे । चलचित्र ‘ऐश्वर्य’ मार्फत रजतपटमा पदार्पण गर्ने अभिनेत्री हुन्–दीपिका प्रसाईं । उक्त चलचित्रलाई दिवाकर भट्टराईले नै निर्देशन गरेका हुन् । वास्तवमा दीपिकालाई चलचित्रमा ल्याउने व्यक्ति दिवाकर नै हुन् । दीपिका अध्ययन पूरा गरेर बैंकिङ क्षेत्रमा करियर बनाउने योजनामा थिइन् । उनका प्रेमी दिवाकरले उनलाई चलचित्रमा सम्भावना देखाए अनि आफ्नै निर्देशनको चलचित्र ‘ऐश्वर्य’ डेब्यु गराए । दिवाकरको सपना साकार भयो । दीपिकाले पहिलो चलचित्रबाटै राम्रो सम्भावना देखाइन् । उनले दोस्रो चलचित्र छक्का पञ्जा–३ मा पनि उत्कृष्ट अभिनय गरिन् । लगातार दुईवटा चलचित्र सफल भएपछि दीपिका र दिवाकरले केही महिनाअघि आफ्नो प्रेम सम्बन्ध मात्र सार्वजनिक गरेनन्, इन्गेज्मेन्ट नै गरे । यतिबेला उनीहरू पनि विवाहको तयारीमा छन् यद्यपि दुवैले विवाहको मिति भने सार्वजनिक गरिसकेका छैनन् । दिवाकर र दीपिकाले आफूहरू झन्डै चार वर्ष अघिदेखि प्रेममा रहेको बताएका छन् । 

सुदर्शन थापा र पूजा शर्मा 

नेपाली चलचित्रमा एउटा त्यस्तो जोडी पनि छ, जो प्रेममा छ, यद्यपि खुलेर त्यो प्रेमलाई अभिव्यक्त गर्न रुचाउँदैन । उक्त जोडी हो— निर्देशक सुदर्शन थापा तथा अभिनेत्री पूजा शर्माको । पूजा र सुदर्शनले चलचित्र निर्माणमा सहकार्य गरेको धेरै भयो । पूजाले अभिनय गरेका अधिकांश चलचित्र सुदर्शनले नै निर्देशन गर्छन् । सुदर्शन पनि आफ्नो चलचित्रमा पूजालाई नै मुख्य अभिनेत्री बनाउँछन् । यतिबेला पूजा र सुदर्शन बेलायतमा छन् । उनीहरू चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकनका लागि त्यहाँ पुगेका हुन् । लामो समयदेखि सहकार्यमा रहे पनि उनीहरूले आफूलाई असल साथीबाहेक माथि राखेको कुरा व्यक्त गर्न चाहेका छैनन् । नजिकबाट चिन्नेहरूले भने उनीहरूलाई प्रेमी–प्रेमिकाकै रूपमा लिन्छन् । उनीहरूको जोडीले आधा दर्जनभन्दा बढी सफल चलचित्र दिइसकेको छ । अभिनय तथा निर्देशनको करियरमा दुवै एक–अर्काका परिपूरक भए पनि सार्वजनिक जीवनमा भने उनीहरूले आफूलाई प्रेमी–प्रेमिकाका रूपमा कहिले चिनाउने हुन् ? यसै भन्न सकिँदैन । 

साम्राज्ञी राज्यलक्ष्मी शाह तथा देवांश जंगबहादुर राणा

माथि उल्लेख गरिएका पाँच जोडीझैं अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तथा देवांश जंगबहादुर राणा पनि प्रेममा छन् । यद्यपि माथिका चार जोडीझैं यिनीहरूले भने आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गरेका छैनन् । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक नगरे पनि पछिल्ला सार्वजनिक समारोहहरूमा उनीहरू प्राय: सँगसँगै देखिएपछि सञ्चार माध्यमहरूले उनीहरूको प्रेम प्रसंग सार्वजनिक गरेका हुन् । भनिन्छ– उनीहरू पछिल्लो ८–९ महिनादेखि प्रेममा छन् । साम्राज्ञीका प्रेमी राणा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् । यसअघि मयंक खड्कासँग प्रेम सम्बन्धमा रहेकी साम्राज्ञी उक्त सम्बन्ध बिग्रिएपछि देवांशसँग नजिकिएकी हुन् । साम्राज्ञी र देवांशको प्रेम सम्बन्ध चलचित्र निर्देशक रेनशा वान्तवा राईको बर्थडे पार्टीमा खुलासा भएको थियो । उक्त पार्टीमा उनीहरूले क्लोज अप सेल्फी मात्र होइन, अंगालोमा बाँधिएर नृत्य गरेको समाचार सार्वजनिक भएको थियो । साम्राज्ञीले त्यसयता सहभागिता जनाएका अधिकांश सार्वजनिक समारोहमा देवांशलाई आफूसँगै लाने गरेकी छिन् । देवांशले स्विट्जरल्यान्डबाट हस्पिटालिटी म्यानेज्मेन्टमा स्नातक गरेका छन् । 

सृष्टि श्रेष्ठ र सौगात मल्ल 

अभिनेत्री सृष्टि श्रेष्ठ तथा अभिनेता सौगात मल्लको सम्बन्ध पनि निकै रोचक छ । प्रारम्भमा यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गर्न चाहेन । उनीहरूले आफूहरू असल साथीका रूपमा मात्र सीमित भएको बताइरहे । यद्यपि सञ्चारमाध्यमले लगातार पछ्याइरहेपछि उनीहरूलाई आफ्नो प्रेम सम्बन्ध स्वीकार गर्न करै लाग्यो । उनीहरू दुवैले आफ्नो प्रेम स्वीकार मात्र गरेनन्, लामो समयदेखि प्रेममा रहेको समेत बताइदिए । उनीहरूले फुर्सदको क्षण सँगै बिताउने बताइसकेका छन् । सृष्टि र सौगातले आफ्नो सम्बन्धलाई विवाहको रूप दिने विषयमा भने मुख खोलिसकेका छैनन् ।

प्रकाशित :फाल्गुन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्