अमर प्रेमकथा

- अधिकारी रवीन्द्र

फाल्गुन ५, २०७५

जस्तै प्रगाढ प्रेम भए पनि वियोगपछिको पीडामा जीवन गुजार्ने सर्त अब हामीलाई मञ्जुर छैन, किनभने यो संसारमा रोदन र आँसुको कमी छँदै छैन । यहाँ हाँसो चाहिएको छ, संयोग र पुनर्मिलनका कथाले भित्र्याउने खुसी चाहिएको छ । अनि चाहिएको छ कुम जोडेर यात्रामा निस्कने र वर्तमानमा सँगै बाँचिरहने असंख्य नरनारीको भीड, जसले वियोगलाई बिर्साउनेछ ।

 

प्रेम अजबको छ, गज्जबको छ । यो अप्रत्याशित रूपले बस्न सक्छ, यसले अवैधानिक रूपले कस्न सक्छ । यसको प्रारुप हुँदैन, बहुरूप हुन्छ । प्रेम सधैं चुम्बनको बाटो भएर हामीमाझ पस्दैन, कहिलेकाहीं चड्कनको झटारो बनी गालामा बर्सिन्छ । कहिले कर्के नजरको डुङ्गा चढेर आँउछ प्रेम, कहिले क्रोधको भुमरीमा बेरिएर आउँछ प्रेम । सबै प्रेम अमर हुन् तर कुनै प्रेम दन्त्यकथा जसरी जनजिब्रोमा झुन्डिने गरी हामीबीच हुन्छन् भने कुनै समयको छालसँगै अतीतमा पुरिएका पनि छन् । यहाँ चर्चामा आउँछन दुई किसिमको प्रेम: असाधारण बनाइएको ऐतिहासिक, औपन्यासिक वा फिल्मी चरित्रहरूबीचको प्रेम र सामान्य नै रहने हामीजस्ता सर्वसाधारणको प्रेम ।

करिब एक दशकअघि जब म ट्युसन पढाउँथे, एउटा विद्यार्थी प्राय: केटी साथीसँगै आउँथ्यो । उसको एकघण्टे कक्षा नसकुन्जेल उसकी साथी बाहिर कुरेर बस्थिन् । जब एक घण्टा बित्नै लाग्थ्यो, ऊ हतारिन्थ्यो । मैले झपार्दा एक दिन उसले सोध्यो, ‘सरले टाइटानिक हेर्नु भा’छ ?’ मैले ‘छैन’को इसारा गरेँ । उसले भन्यो, ‘टाइटानिक देखाइदिनुपर्ने सरलाई अनि थाहा हुन्छ, लभ भनेको के हो ?’ उसको अगाडि देखाउने कुरा त भएन तर आखिर के रै’छ त टाइटानिकमा भन्नेको कौतूहलता जाग्यो । केही समयपछि उक्त चलचित्र हेर्ने अवसरसमेत जुर्‍यो । ज्याक र रोजको अभुतपूर्व प्रेमकथा रहेछ । 

चाहे सानैदेखि कण्ठ गर्दै आएको मुनामदन होस् वा रोमियो जुलिएट, हीर राँझा हुन् वा लैला मजनु प्रसिद्धि कमाएका प्राय: सबै प्रेमकथा वियोगान्त छन् । मार्क एन्टोनी र क्लियोपाट्राको आत्महत्यादेखि शारजहाँको प्रेममा मोमताज महलको प्रसव वेदनायुक्त देहावसानसम्म, नेपोलियन र जोसेफिनको बिछोडदेखि आफ्नो प्रियतम सलिमलाई बचाउन जिउँदै गाडिएकी अनारकलीको विलापसम्म सबै कथामा चित्रित दुखान्तका अवयवहरूले हाम्रो जीवनलाई केही न केही असर पारेकै छन् । मैले बुझ्न नसकेको कुराचाहिँ के भने वियोगको पीडा बोकेका कहानीहरूलाई किन मानिसले कहिल्यै नबिर्सिने इतिहास बनाए ? के मानिस वियोग मन पराउने प्राणी हो र ? यस हिसाबले हामी सामान्य मानिसका कथा प्रसिद्ध हुन प्रेम मौलाउनु अघि नै मर्नु वा अलप हुनुपर्ने हो त ? 

उत्तिकै घतपूर्ण मिलनका कथा किन यहाँ मानिसहरूले बिर्सन खोज्छन् ? हुन त प्रेमकथा पुस्तान्तरण हुँदै अमर बन्नुपर्छ भन्ने पक्षमा म छैन, तर वियोगका कथा नै यसका लागि काबिल हुन सक्छन् भने रहन दिनुहोस् हाम्रा सामान्य प्रेमका किस्साहरूलाई अमर बनाउनु छैन । बाँचुन्जेल प्रेम जहीँतहीँ र जहिले–तहिले कायम रहोस्, बस यत्ति काफी छ । प्रेमको भावभङ्गी प्रस्फुटन गर्न ज्याकजसरी चिसो समुद्रमा डुब्ने कथा अब हामीलाई आवश्यक छैन, जबकि बिदा हुने बेलामा हात हल्लाइरहँदा प्रेमिकाको मुहारमा पुन: भेट्ने आशातित मुस्कानमा समुद्रभन्दा गहिरो प्रेम अटाएको हुन्छ । जस्तै प्रगाढ प्रेम भए पनि वियोगपछिको पीडामा जीवन गुजार्ने सर्त अब हामीलाई मञ्जुर छैन, किनभने यो संसारमा रोदन र आँसुको कमी छँदै छैन । यहाँ हाँसो चाहिएको छ, संयोग र पुनर्मिलनका कथाले भित्र्याउने खुसी चाहिएको छ । अनि चाहिएको छ कुम जोडेर यात्रामा निस्कने र वर्तमानमा सँगै बाँचिरहने असंख्य नरनारीको भीड, जसले वियोगलाई बिर्साउनेछ । 

सर्वसाधारणको प्रेम अपराह्नमा प्रेमिकाको फोनको हरेक घण्टीमा कानसम्म तरङ्गित हुन्छ जहाँ केही समयपछि सुमधुर स्वरमा उनले सोध्छिन्– खाजा के खायौ ? टेलिकमले पैसा सकिएको जनाउ सन्देश पठाएर कल काटिँदासमेत ती प्रश्न थाक्दैनन् । रोमियो र जुलिएटले गरेका आत्मदाहको कथालाई प्रश्रय दिनुमा भन्दा थाकेर घर आईपुग्दा तिम्रो दिन कस्तो रह्यो भन्ने जिज्ञासाभित्र लुकेको प्रेमकथामा बढी सार्थकता हुन्छ जहाँ तत्क्षण प्रेमिल मुहारको दर्शनमात्रले सम्पूर्ण थकानहरू हिमालपारि पुगिसक्छन् । आवश्यकता परेका बेला सुमसुम्याउने हातले दिने अगाध न्यानोपन र बिहानीपख निधारमा लत्पतिएका गुलाबी लिप्स्टिकका डोबहरू पखाल्न पानी छ्यापौँ कि नछ्यापौँको हिचकिचाहटमा हामी हाम्रो सामान्य प्रेमलाई अझ बाक्लो बनाउन खोज्छौं ।

हामी वियोगान्त उपन्यासका पात्र बनेर आगामी पुस्ताका दिमाग विचरण गर्दै स्मृतिका केही शताब्दी पार गर्नुभन्दा कसैद्वारा नलेखिने तर बाँचुञ्जेल सन्तुष्टिमा सँगै जिउने सामान्य व्यक्ति बन्नमा गर्व गर्छांै । अत: ती अमर पात्रहरू कथा बनेर इतिहास र उपन्यासका पाना वा फिल्मी पर्दाभित्रै सीमित रहुन् र अनि वास्तविक जीवनमा अब ती दु:खान्त कहानी हामीमाझ नदोहोरियोस्— प्रणय दिवसका अवसरमा हार्दिक शुभकामना । 

ravinems@iom.edu.np

प्रकाशित :फाल्गुन ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्