प्रेमको संग्रह : चिठ्ठी जमाना

- सुरज काफ्ले

फाल्गुन ४, २०७५

 

एउटा टिकट भेटियो, तर छाप हानेको, छाप हानेको हुलाक टिकट फेरि काम लाग्दैन । २५ पैसादेखि माथि कसैले दिनेबित्तिकै चकलेट किन्ने, खाने बानीले नयाँ टिकट किन्न आफूसँग पैसा पुग्दैन । म ठूलो हुन्जेलसम्म चकलेट–बिस्कुटले धेरै नै मोहनी लगाएका थिए । फेरि बाटोमा ५० पैसा, १ रुपैयाँ भेटियो भने टिप्ने हिम्मत कसैको हुँदैनथ्यो । किनभने त्यो, पैसा भेटिने बाटो लास हिँडाउने बाटो हो । ‘टिलो’ रहेछ भने मृतात्मा आफूसँगै सुत्न आउँछ रे भन्ने डर खै कसले लगाइदिएको थियो, बस हामीलाई यत्ति नै पर्याप्त थियो । आफूलाई जसरी पनि ‘पत्रमित्रता’ स्तम्भमा भएकी एक युवतीलाई पत्र पठाउनु थियो । 

एउटा मसिनो कहानी मलाई अझै प्रस्ट याद छ त्यो दिन, हाम्रो काकाको घरमा तास खेल्न जम्मा भएका थापा दाइले पैसा दिएर मलाई चुरोट किन्न पठाउनुभयो । जाँदा त वास्ता थिएन, चुरोट किनेर २ रुपैयाँ फिर्ता आएपछि मैले फिर्ता पैसा साट्ने विचार गरेँ, ‘टिलो’ सँग । 

सायद २५ पैसाको जमाना थियो । त्यसभन्दा सानोको केही आउँदैनथ्यो, तर ५ पैसा, १० पैसा बजारमा प्रशस्त पाइन्थ्यो । २५ पैसाका चारवटा सिक्का खल्तीमा राखेर, मैले पहिलेदेखि नै नियालेको बाटोको पैसा लिन नै भए पनि दोकानदेखि घुमाउरो बाटो हुँदै गएँ । 

१ रुपैयाँको अभावले निम्त्याएको मास्टर प्लान नै भन्नुपर्छ त्यो बेलाको, बाँसको तामाबाट एउटा ‘पटेस’ तानेर पैसासँग खेल्दै उफार्दै जाने सोचेँ अनि २ रुपैयाँ उफार्दै गएँ । आफ्ना गाउँका दाइको पैसा भए म त्यसो गर्ने थिइनँ, किनभने मलाई मृतात्मासँग सुत्ने कहानीदेखि भयंकर डर थियो । खोलापारि थापा गाउँबाट आएका दाइको पैसा अनि आफ्नो गाउँमा आत्मा नआउने हुनाले पनि त्यस्तो मास्टर प्लान बन्न पुगेछ क्यारे † 

हातले नछोई पटेसमा उफार्दै, तास खेल्नेहरूको बीचमा बाटोबाट उठाएर ल्याएको फिर्ता पैसा फालिदिएँ र चुरोट हातमा दिएँ । तास खेलेको ठाउँबाट बाटाको पैसा उठाएर गोजीमा हाल्दै, ‘चकलेट खा’को भए नि हुन्थ्यो नि’ भन्दै फिर्ता दिने हुन कि भन्ने डर लाग्यो, तर गोजीमा छिरी नै सकेपछि चाहिँ ढुक्क भयो, अब डर गयो थापा गाउँ तिरै । 

पहिलो चिठी तयार भैसकेको थियो, ए ! मतलब, मेरो पत्र–मित्रताको पत्र । लेखेकै दिन पठाउन पाए त कति आनन्द हुन्थ्यो होला । टिकटको व्यवस्था गर्नु ठूलै समस्या थियो । ठूलोबुबाको छोरा गा.वि.स. हुलाकमा काम गर्नुहुन्थ्यो । था’ पाउनुभयो भने जिस्क्याएर हैरान । दाजु जिल्ला गएको मौकामा मैले मित्रताको हात अघि बढाएँ, अर्थात् चिढी पठाएँ । 

पत्रमित्रताको जवाफमा हात फिँजाएकै थिए । नमस्कार अनि धन्यवाद, अर्काे पत्रको आश यस्तै । अब मेरो खाजा खर्च कटौति भयो, चकलेट–बिस्कुटमा कटौती गरेर म पत्र लेख्न थालेँ । अहिले अचम्म लाग्छ, उबेला हुलाक टिकटले मेरो खाजा खोस्यो । मसँग ८/१० रुपैयाँको खाँचै हुँदैनथ्यो । सायद, मित्रताको फाइदा थियो त्यो । 

एकपटक मित्रले लेख्नुभयो, ‘यात्रा कति छन्, कता–कता छन्, के था † हाम्रो देखादेख भयो कि ? नचिनेको त होइन नि ?’ म सायद हुन सक्छ भन्ने सोच्दै पढ्दै थिएँ, अलि तल लेख्नुभएछ, ‘पहिले तपाईंको तस्बिर पठाउनुस् अनि मेरो पठाउँछु ।’ तस्बिर मागिएपछि मैले बजार गएर ९० डिग्रीमा उभिएर पछाडि पर्दामा सिन भएको तस्बिर खिचाएँ । 

मित्रको तस्बिर हेर्ने भावना किन आयो नसोची–नबुझी मैले, हाम्रो पत्रको मित्रतालाई प्रेममा बदल्ने पत्र पनि लेखेँ । अरू बेला ६ दिनमा उत्तर आउँथ्यो, यसपालि आएन । मलाई तनाव भएछ क्यारे, माफी पत्र पनि लेखिहालेँ, पहिलो पत्रको ६ दिनपछि । 

ए ! ढिलाको कारण त उहाँको बजारमा तस्बिर धुलाउन नै १० दिन लाग्दो रहेछ । अहिले थाहा पाएँ, तस्बिर बनाउन हामी जाने बजारको ल्याबमा ल्याउँदा रहेछन्, अनि त्यो ल्याबले जिल्लाको सदरमुकाममा धुलाउँदो रहेछ फोटो । माफी माग्दै प्रेम स्वीकार गरेको पत्र पाएँ । 

मेरो पहिलो प्रेमको स्वीकार्यता माफीको पत्रमा समावेश थियो । यसरी नै पढाइसँग मेरो जीवन पत्र जीवन भयो । कहिले घुक्र्याइको त कहिले मायाको पत्र आउँथ्यो । यसरी नै मेरो प्रेम चलि रहेथ्यो । 

अहिले यी शब्दहरू लेख्ने क्रममा मेरी ती पत्रमित्र चिया पकाएर मेरै छेउमा बसेकी छिन् । मेरो छोरो म्यासेन्जरमा खै के–के गर्दैछ । बास्तवमा ऊ कतै मित्रता खोज्दै छ कि ? सायद हिजोआज, उबेलाजस्तो घुर्की आयो भने म्यासेज डिलेट गर्ने अनि ब्लक गर्ने जमानाले पहिलो प्रेमको चिनो हराउँदो हो । 

हामी त अझै पनि हाम्रो विवाह भएको दिन ती पुराना पत्र पढ्दै हाँस्दै बस्छौं । साँच्चै, हाम्रो प्रेमको संग्रह ज्यादै न्यानो र मीठो छ ।

 

प्रकाशित :फाल्गुन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्