सञ्जाल : सामाजिक कम, असामाजिक बढी 

- युजिर शर्मा

फाल्गुन ४, २०७५

विज्ञान र प्रविधिको यो युगमा सामाजिक सञ्जालमा नजोडिएका सायदै कोही होलान् । अझ हाम्रो जस्तो अल्पविकसित देशमा त इन्टरनेट भनेकै सामाजिक सञ्जाल मात्र हो भनेर बुझ्ने ठूलो जमात छ । भर्खर स्कुल जान थालेका केटाकेटीदेखि तिनका हजुरबुबा–हजुरआमासम्म अंग्रेजी नजाने पनि फेसबुकका भित्तामा औंला दौडाउन सिपालु भैसकेका हुन्छन् ।

बीसौं शताब्दीको एउटा महत्वपूर्ण उपलब्धि इन्टरनेट पनि हो । केही वर्षअघिसम्म सोच्दै नसोचिएको, कल्पनाभन्दा धेरै परका कुरा पनि इन्टरनेटमा आएपश्चात् एकै निमेषमा पूरा हुने अवस्था अहिले छ । यसका धेरै प्रयोगमध्ये सामाजिक सञ्जाल पनि एक हो । नेपालमा इन्टरनेट चलाउने र स्मार्टफोन भएका मानिसहरू (अपवादबाहेक) सबैले चलाउने सामाजिक सञ्जाल फेसबुक नै हो । त्यसपछि धेरै प्रयोगकर्ता भएको सञ्जालमा पर्छ— ट्विटर ।

ट्विटर एउटा माइक्रो ब्लगिङ साइट हो, जसमा विचार पढ्न मन लाग्ने एकाउन्टहरू फलो गरिन्छ र आफ्नो विचार पढ्न मन लाग्नेहरूले आफूलाई फलो गर्छन् । आफूले फलो गरेको अकाउन्टबाट भएका ट्विटहरू रियल टाइममा अर्थात् त्यतिबेला नै आफ्नो टाइमलाइनमा देख्न सकिन्छ । त्यसलाई रिट्विट, लाइक एवं रिप्लाई गर्न सकिन्छ । रियल टाइम अन्तक्र्रिया हुने भएकाले पनि केही समययता युवा पुस्तामाझ ट्विटर लोकप्रिय हुँदै गैरहेको छ ।

ठूला सेलिब्रेटी तथा पब्लिक फिगरहरूलाई फलो गर्नेहरू एकदमै बढी हुन्छन् । नेता, कलाकार, गायक, खेलाडीहरूको एकाउन्टमा धेरै फलोवर देख्न सकिन्छ । उनीहरू छिटफुट कुनै–कुनै आवश्यक कुरामा कहिलेकाहीं ट्विट गर्छन् । अर्कातर्फ प्राय:जसो ट्विटरमै भेटिने केही मानिस पनि छन् । उनीहरू निरन्तर ट्विट गरिरहन्छन् । भेनेजुएलाको मामिलादेखि सिरिया आक्रमणसम्म, प्रिमियर लिगदेखि आइपिएलसम्म, चन्द्रमादेखि अन्टार्कटिकासम्म, उनीहरूले नजानेको केही हुँदैन । बेलाबेला लाग्छ, उनीहरू हिँडडुल गर्ने अर्थात् चल्ताफिर्ता गुगल हुन् ।

जीवन र जगत्का बारेमा यसरी बहस हुने भएपछि स्वत: केही कलह पनि हुने नै भयो । यस्तो अवस्थामा परिचय प्रयोग नगरिएका हुँडार एकाउन्टबाट व्यक्तिगत गाली–गलौज र अपमानपूर्ण शब्दहरू प्रयोग गर्ने स्तरसम्म पुग्छन् ट्विटेहरू । यसले सामाजिक सदभाव भड्काउने मात्र नभएर मानिसलाई कुनै विषयप्रति धारणा बनाउन नकारात्मक प्रभाव समेत पार्छ ।

आफ्नो परिचय प्रयोग नगरिएका फेक तथा हुँडार एकाउन्टहरूलाई नियमन गर्नु आवश्यक छ । ट्विटर मुख्यालयसँग सहकार्य गरेर नेपालबाट ट्विटर एकाउन्ट लग–इन गर्दा नागरिकताको फोटोकपी पनि पेस गर्ने व्यवस्था गर्न सके त्यस्तो स्थितिमा नियन्त्रण ल्याउन सहज हुन्छ, अन्यथा यी सञ्जालहरू बिस्तारै असामाजिक बन्दै गएर राज्यका कोर भ्यालुहरूमाथि नै आक्रमण गरेर राज्यलाई कमजोर बनाउनतिर नलाग्लान् भन्न सकिँदैन ।

 

प्रकाशित :फाल्गुन ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्