सोसल मिडिया फिल्म एवार्ड

- साप्ताहिक संवाददाता

फाल्गुन ३, २०७५

सोसल मिडिया फिल्म एवार्ड–२०७५ अन्तर्गत विभिन्न १२ विधाका विजेतालाई काठमाडौंमा आयोजित एक समारोहबीच एवार्ड वितरण गरिएको छ । ड्रिम वल्र्ड फिल्म मेकर्सको आयोजनामा छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका उत्कृष्ट संघसंस्था वा व्यक्तिलाई उक्त एवार्ड प्रदान गरिएको हो ।

यो एवार्डमा उत्कृष्ट न्युज भिडियोको पुरस्कार एबीसी टेलिभिजनकी प्रस्तोता सन्तोषी अधिकारी प्राप्त गरिन । सर्वोत्कृष्ट लघु चलचित्र निर्देशक अनिरुद्र दवाडी घोषित भए भने सर्वोत्कृष्ट डकुमेन्ट्रीमा ‘जोगी’ तथा सर्वोत्कृष्ट लघु चलचित्रमा ‘अलिखित’ ले बाजी मारे ।

त्यसैगरी उत्कृष्ट सर्ट फिल्मतर्फको सम्पादकबाट ‘पुन्टेको पांग्रो’का मुकेश चौधरी र युवराज खनालका साथै उत्कृष्ट सिनेमेट्रोगाफरबाट विकल थापाले एवार्ड उचाले । त्यस्तै उत्कृष्ट सर्ट फिल्म ध्वनितर्फ ‘पुन्टेको पांग्रो’कै विनय अधिकारी सफल भए । उत्कृष्ट सर्ट फिल्म अभिनेतातर्फ अनिशजंग थापा र निमेष श्रेष्ठ एवं अभिनेत्री स्मृति न्यौपानेले एवार्ड जिते । 

समारोहमा उत्कृष्ट फेसबुक भिडियोको एवार्ड फन रिभोलुसन टिभीका निमेष श्रेष्ठ तथा उत्कृष्ट ट्रोलको एवार्ड ट्रोल फुटबल नेपालले प्राप्त गर्‍यो । छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवं संस्थाहरूलाई हौसला र अवसर प्रदान गर्दै उनीहरूको सिर्जनालाई सम्मानस्वरूप जनमानसमाझ ल्याउन यस्तो एवार्ड सुरु गरिएको ‘ड्रिम वोल्ड अफ फिल्म मेकर्स’ का अध्यक्ष एवं निर्देशक सबनम मुखियाले बताइन् ।

कार्यक्रममा प्रथम नेपाली अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुषाल, निर्देशक आकाश अधिकारी आदिको उपस्थिति थियो । निर्णायक मण्डलले कार्यक्रममा ‘बोकाहरू’ को टिमलाई जुरी एवार्डबाट सम्मान गरे । 

 

प्रकाशित :फाल्गुन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्