फागुन ३ देखि ९ गतेसम्मको राशिफल

  • साप्ताहिक राशीफल 

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

फाल्गुन ३, २०७५

फागुन ४ गते : भीमा एकादशी । ७ गते : प्रजातन्त्र दिवस । 

मेष 

साताका सुरुका दिनमा मनस्थिति दोधार भए पनि काममा कुनै बाधा उत्पन्न हुनेछैन । बुधबारदेखि काममा गति आउनुका साथै साथीभाइसँग रमाइलो गर्ने अवसर प्राप्त हुन सक्छ । स–साना कुराले पनि पारिवारमा खटपट सिर्जना गर्न सक्छ । रातिको यात्रामा सावधानी अपनाउनुहोला । 

वृष

बौद्धिक क्षेत्रमा आफ्नो कार्यको चर्चा–परिचर्चा हुन सक्छ । आम्दानी र खर्च बराबर हुनाले बचत हुने सम्भावना न्यून छ । मद्दत गर्ने मित्रहरू फेला पर्नुका साथै सभा–सम्मेलन तथा जमघटहरूमा उपस्थिति हुने अवसर प्राप्त होला । खानपिनमा सजगता अपनाउनुपर्ने समय छ । 

मिथुन 

आफूले गरेका ठोस निर्णयका कारण अधुरा कार्य सहजै सम्पन्न हुनेछन् । पदोन्नतिको सम्भावना छ । घरजग्गा तथा अचल सम्पत्ति जोडिने प्रबल सम्भावनासमेत छ । प्रियजनसँग यात्रा गर्दा मन खोलेर भलाकुसारी गरिनेछ । साताको अन्त्यमा आर्थिक अभाव महसुस होला । 

कर्कट 

आफनो बोलीले सबैको मन छुँदासमेत आलोचनाको सामना गर्नुपर्नेछ । मंगलबारपछि भाग्यले साथ दिनुका साथै नसोचेको कार्य सम्पन्न हुनेछ । पूण्य कार्यप्रति आकर्षित भइनेछ । साताको अन्त्यमा मान–सम्मान प्राप्त गर्ने सम्भावना छ । 

सिंह 

व्यवसायमा उन्नति हुनुका साथै प्रशस्त मुनाफा हात लाग्नेछ । प्रेमी–प्रेमिकाको इच्छा मुताविक नयाँ स्थानको यात्रा तय होला । आर्थिक कारोबारमा झन्झट आइलाग्न सक्छ, होस पुर्‍याउनुहोला । स्वास्थ्य प्रति विशेष ध्यान दिनुपर्ने समय छ । 

कन्या 

आत्माविश्वास वृद्धि भै मन प्रसन्न हुनेछ । व्यवसायिक सफलताका कारण सामाजिक प्रतिष्ठा वृद्धि होला । पूण्य कार्यमा सहभागी हुने अवसर प्राप्त गर्न सकिनेछ । साताको अन्त्यमा भोज–भतेरमा सरिक हुँदा सञ्चित धनमाल गुम्न सक्छ । 

तुला 

आफ्नो कामको मूल्यांकन हुनुका साथै आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थ्य समस्याका कारण मनमा नैराश्यता छाउनेछ । साताको अन्त्यतिर स्वास्थ्यमा सुधार आउला । बोलीको प्रभावले महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् । आय आर्जनको काममा आकर्षित भइनेछ ।

वृश्चिक 

सफलताका लागि कडा मेहनत गर्नुपर्नेछ । अध्ययनमा बाधा खडा हुनुका साथै बोलीको आलोचनासमेत हुन सक्छ । चोटपटक लाग्ने सम्भावना टरिसकेको छैन । पश्चिमतर्फको यात्रा फाइदाजनक हुनेछ । आफ्नो एकल निर्णयमा सम्पन्न गरिएका कार्यमा सफलता हात लाग्नेछ ।

धनु 

आफन्तहरूसँगको सहकार्यमा धनलाभ गर्ने अवसर जुट्नेछ । खानपानले स्वास्थ्यमा गडबडी ल्याउन सक्छ । आलोचना गर्नेहरू सक्रिय भए पनि काममा सफलता हात लाग्नेछ । तपाईंको व्यक्तित्वको प्रशंसासमेत होला । प्रेम जीवनमा खटपट सिर्जना हुन सक्छ । घरायसी व्यवहारबाट टाढै रहनुपर्नेछ ।

मकर 

आफ्नै पराक्रमद्वारा कार्य सम्पन्न हुँदा मन प्रसन्न हुनेछ । विचार नगरी गरिएका निर्णयमा विवादको सामना गर्नुपर्ला । आम्दानीका मार्गहरू पहिल्याउन सकिनेछ । पूर्वतर्फको यात्रा हुनसक्छ । साताको अन्त्यमा पुराना मित्रसँग मनोरञ्जनक भेटघाट हुनेछ ।

 

कुम्भ 

प्रियजनको सहयोगमा वैदेशिक यात्राको प्रवल सम्भावना छ । तपाईंको पराक्रमको प्रशंसा हुनुका साथै कामको मूल्यांकनसमेत होला । प्रेमी–प्रेमिकाबीच विवाद उत्पन्न हुन सक्छ । साताको अन्त्यमा बहुमुल्य उपहार प्राप्त गर्न सकिनेछ । सुनौलो रंग प्रेरणादायक सावित हुनेछ । 

मीन 

साताको प्रारम्भमा अपेक्षित काममा खर्च हुँदा मन खिन्न हुनेछ । मंगलबारपछि विवादको सामना गर्नुपरे पनि निर्णय आफ्नै पक्षमा हुनेछ । कर्मचारी वर्गले काममा ध्यान पुर्‍याउनुहोला । खानपानको निम्तोमा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । 

प्रकाशित :फाल्गुन ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्