माया के होला ?

- जमुना न्यौपाने

माघ २८, २०७५

 

माया देखिने कुरा होइन । यो त मनले महसुस गर्ने कुरा हो । आखिर माया सबैमा हुन्छ तर दर्साउने शैली फरक–फरक हुन्छ । मायालाई हेर्न सकिँदैन, रोक्न सकिँदैन, छेक्न सकिँदैन । ह्दयमा आफसे आफ उत्पन्न हुने चिज हो यो, जसलाई खोजेर भेटिँदैन । राम्रो लाग्यो भन्दैमा समात्न पनि मिल्दैन ।

माया छातीमा कुँदिएको हुन्छ । शरीरको एक–एक धमनीमा रगतसरि बगिरहन्छ । पूरै मन मस्तिष्कमा, हातखुट्टा, टाउको अनि रसिला ती आँखामा सबैतिर मायाले ठाउँ ओगटेको हुन्छ । माया अपवाद हो । माया बिल्कुल फरक केहीसँग नमिल्ने पूर्णविराम हो । प्रश्न चिन्ह हो, माया । अल्पविराम बनी वाक्यलाई निरन्तरता दिने अर्थहीन शब्द पनि हो, माया । 

माया आगो हो, माया स्वार्थ हो, माया जलन हो । माया जबरजस्ती भोगाइ, सम्झाइ, बुझाइ पनि हो । अरूलाई हँसाउनु र रुवाउनु पनि माया नै हो । कसैलाई दु:खी नबनाई खुसी बटुल्नु मायाको उपलब्धि हो । माया सबैमा हुन्छ, तर पाउन मुस्किल पर्छ । बाटोमा हिंड्दैमा र बोल्दैमा माया बस्ने भए, हामी अहिलेसम्म अनगिन्तीसँग बोल्यौं होला, अनगिन्तीसँग साथ–साथै हिंड्यौं होला, तर किन जोसुकै सँग हिंड्दा पनि उसको यादले मात्र सताउँछ ? यद्यपि माया भनेको मनसँग मन मिल्ने अदृश्य स्वरूप रहेछ । यदि कसैले आफूलाई बारम्बार पीडा दिँदा पनि आफूले भने बारम्बार माया दिइरहन सकिन्छ भने त्यो नै साँचो माया हो ।

भनिन्छ, मानिसको शरीर ठूलो छ । त्योभन्दा नि ठूलो मानिसको मन र अझ ठूलो मानिसको माया हुन्छ रे । सबसे ठूलो त प्रेमी–प्रेमिकाको प्रेम हो रे वा भनौं मनले मन खोज्ने माया रे । मानिसको माया र मानिसभित्रको मनको मायामा कति फरक हुन्छ ? मानिसले गर्ने माया मानिससँग हो जुन स्वार्थी हुन्छ । रूप, धन र योग्यता यी सबलाई समावेश गरेर माया गर्न थाल्छ मानिसले । मनले गर्ने माया बिल्कुल फरक हुन्छ । जुन भावुक र प्रेमिल हुन्छ । मनले मनलाई नियाल्छ । मनले आफूजस्तो मन खोजेर मात्र माया गर्न थाल्छ, जसमा केही कुरा समावेश हुँदैन, न त उसको साथीभाइ, न उसको बुवाआमा, न त आफन्त । मात्र एक–अर्कामा जोडिएको मनलाई खोजिरहन्छ मनले ।

मनको माया अटल हुन्छ, शिथिल हुन्छ । मनसँग मन मिल्नासाथ एक ठाउँमा अडिएर बस्न सक्दैन । एक–अर्काको परेलीमा, घरिघरि आँखाको नानीमा, आँखाको नजरमा, कसैले नदेख्ने त्यो सुनसान मध्यरातमा छताछुल्ल हुन्छ ।

मानिस रुँदा मानिससँगै बसेर रुन्छ । खुसी हुँदा मानिससँगै बसेर भलाकुसारी गरेर खुसी व्यक्त गर्छ, तर मन रुँदा एकान्त खोज्छ, एकान्तमा बसेर उही दुखाएको मनलाई नै सम्झेर रुन्छ । हाँस्दा पनि उसैसँग हाँसिरहेको हुन्छ । मानिसको खुसी सबैसँग बाँडिन पुग्छ । त्यो खुसि बाँडिँदा एक ठाउँदेखि अर्को ठाउँ र एउटा मानिसदेखि अर्को मानिससम्म पुग्छ । मन खुसी र दु:खी जे हुँदा पनि उही खोजिरहेको मनमै ठोक्किन पुग्छ । मनको मायामा यथार्थता हुन्छ । स्वच्छ गङ्गाजस्तै निश्चल । मानिसले गर्ने मायामा स्वार्थ नै स्वार्थले भरिएको हुन्छ । न त उसले आमा–बाबु भन्छ न त दिदीबहिनी न त भाउजू–बुहारी तर मनले जसलाई माया गर्छ उसले मन मिल्ने मानिसबाहेक अरू लाई हेर्नु र भेट्नुको कुरा पनि टाढै जाओस् सोच्न पनि सक्दैन ।

प्रकाशित :माघ २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्