बहुरूपी प्रेम

- बालिका थपलिया

माघ २८, २०७५

रहस्य र रामरमितामय प्रेमलाई जति नै अथ्र्याउन र परिभाषित गर्न खोजे पनि अधुरो नै रहन्छ । सन्दर्भपिच्छे प्रेमलाई फरक–फरक तरिकाले परिभाषित गर्छन् मानिसहरू । प्रेम सफल हुनेहरूले यसलाई आनन्दको सागर रूपमा व्याख्या गर्छन् । असफल हुनेहरूले पीडाको सागर भन्छन् । कसैको जिन्दगीमा यो बसन्त बनेर आउँछ भने कसैको जिन्दगीमा भुइँचालो ।

मुटुलाई प्रेमसँग तुलना गरेर परिभाषित गरिन्छ भन्ने हामी सबैलाई थाहा छ । त्यसैले मुटुलाई प्रेमको वासस्थान भनिन्छ । प्रेमी–प्रेमिकाहरूले प्रेम पत्र लेख्दा कागजका कुनै भागमा मुटुमा वाण हानेको चित्र बनाउँछन् । कसैले जानेर बनाउँछन् तर धेरैले नजानी बनाउँछन् । पश्चिमा समाजले प्रेमका देवता मानेको क्युपिडले साइकीको मुटुमा वाण हानेर आफूतिर ध्यानाकर्षित गरेपछि सुरु भएको उनको प्रेमयात्रा अनेकन् मोड पार गरेपछि सफल भयो । आफू पनि प्रेम गर्न माहिर क्युपिडले दुई अपरिचित महिला र पुरुषको मुटुमा वाण हानेर एक–अर्कासँग नजिक बनाएपछि प्रेमको जालमा फसाइदिन्थे रे । 

प्रेमले जात, धर्म, उमेर सम्पत्ति आदि हेर्दैन भन्ने आदर्श पंक्ति त सर्वविदितै छ । किनभने चोखो प्रेम नियमको चौघेराभित्र पूर्ण बन्न सक्दैन । प्रेमको मामिलामा क्युपिडको धनुषवाणको प्रसङ्ग विल्कुल सान्दर्भिक साबित हुन्छ । पहिले–पहिले मागी विवाह गर्ने चलन हुँदा पनि प्रेमविवाह गर्नेहरूको कमी थिएन । आजकाल त मागी विवाहभन्दा प्रेमविवाहले नै प्रश्रय पाउन थालेको छ । प्रेमले दिन–प्रतिदिन आधुनिक रूप लिइरहेको छ । आफ्नै मिल्दो जात, कुलका पुरुष वा युवतीसँग मात्र विवाह गर्नुपर्ने परम्परा क्रमश: तोडिदै गएको छ । 

कसैको घरमा गएर केटी हेरेर विवाह गर्ने प्रचलन हिजोआज विरलै देख्न पाइन्छ । मानिसहरूले आफ्नो जीवनसाथी आफै रोज्न थालेका छन् । त्यसैले प्रेमको विजय भएको भ्यालेन्टाइन डे नेपालमा पनि भव्यताका साथ मनाइँदै आएको छ । पश्चिमी देशबाट भित्रिए पनि यसको मर्म बुझेर सही ढङ्गले मनाउँदा गलत हुन्छ भन्ने होइन । उमेरपिच्छे प्रेमको अर्थ फरक भए पनि प्रेमको भावना कहिल्यै मर्दैन । चोखो मन नै प्रेमको अनुकूल स्थल हो । 

प्रेम जहिल्यै उत्सवमय हुन्छ । प्रेम गर्न हरेक दिन स्वर्णिम अवसर हुन्छ, तर पनि प्रणय दिवसले प्रेम जीवनमा अनेकन राग र झङ्कारहरू बजाइदिन्छ । विपना, सपना र कल्पनाभरि राताम्य गुलाफको वर्षात् गरिदिन्छ । प्रेमदिवसकै प्रभावमा महँगा फूलहरू किनेर प्रेमी–प्रेमिकाले एक–अर्कालाई उपहार दिन्छन् । प्रेम दिवसले युगल जोडीलाई अझ नजिक ल्याउने काम गर्छ । प्रेमको महत्त्व बुझ्नेलाई यो दिन विशेष हर्षको दिन बन्छ । विभिन्न सञ्चारमाध्यमले यसको महत्त्व दर्साएपछि प्रेमप्रति सचेत हुनेहरू व्यग्रतापूर्वक प्रेम दिवसको प्रतीक्षा गरिरहेका हुन्छन् । 

‘प्रेमको आँखालाई गुलाफको काँडाले घोचेर फुटाइदिएपछि त्यसको दृष्टि गुमेको हो’ भन्ने मान्यता छ । त्यसैले संसारमा आँखा नभए पनि देख्न सक्ने चीजका रूपमा प्रेमलाई लिइन्छ । हामीलाई थाहै छ, प्रेमले हाम्रो उजाड जिन्दगीमा रंग भरिदिन्छ । यसकै शक्तिको प्रभावले प्रेमी–प्रेमिकाहरू गीत, कविता माध्यममार्फत स्वर्गमै पुगेको बयान गरिरहेका हुन्छन् । ‘प्रेमको स्पर्शले हरेक मानिस कवि बन्न पुग्छन्’ भन्ने एरिस्टोटलको भनाइझैं प्रेमले मानिसलाई कल्पनाशीलका साथसाथै सिर्जनशील बनाउँछ । शरीरको भोक खानेकुराले मेटेझैं, दिमागको भोक शिक्षाले मेटेझैं, मनको भोक प्रेमले मात्र मेट्न सक्छ । प्रेमको भोकमा तड्पिएको मान्छे निराशाले भरिपूर्ण हुन्छ र शून्यता महसुस गर्छ, जसको अभाव उसको पूरै जिन्दगीमा खड्किरहन्छ । 

रहस्य र रामरमितामय प्रेमलाई जति नै अथ्र्याउन र परिभाषित गर्न खोजे पनि अधुरो नै रहन्छ । सन्दर्भपिच्छे प्रेमलाई फरक–फरक तरिकाले परिभाषित गर्छन् मानिसहरू । प्रेम सफल हुनेहरूले यसलाई आनन्दको सागर रूपमा व्याख्या गर्छन् । असफल हुनेहरूले पीडाको सागर भन्छन् । कसैको जिन्दगीमा यो बसन्त बनेर आउँछ भने कसैको जिन्दगीमा भुइँचालो । जेसुकै भए पनि प्रेमले किसिम किसिमले मानिसको मन मुटुलाई छोएको हुन्छ । ढिलो–चाँडो जहिले भए पनि यसले हरेकको मनको ढोका खोलेर प्रवेश गरेकै हुन्छ । हरेक चीजका दुई पक्ष भए पनि संयोग र वियोग पनि प्रेमका दुई छुटाउनै नहुने पक्ष हुन् । यिनीहरूकै आरोह–अवरोहमा प्रेमको चक्र घुमिरहेको हुन्छ । 

अल्पायुमै प्रेमी वा प्रेमिका बितेर जिन्दगीभर एक्लै जिउनेहरू पनि छन् । उनीहरू सम्झनाको सहारामा एक्लो जिन्दगी बाँच्न सम्झौता गरिरहेका हुन्छन् । एक्लै बाँच्न नसकेर अर्को साथीको खोजी गर्नेहरू पनि उत्तिकै छन् । 

‘प्रेम’ नाम एउटै भए पनि यसको रूप विविधताले भरिपूर्ण हुन्छ । यसका अनेकन आयाम हुन्छन् । यसले कतै आनन्दको मधुमास छर्छ त कतै वेदनाको आभास भर्छ । यो अदृश्य छ तर सारा संसार यसमै टिकेको छ । सृष्टि रहुञ्जेलसम्म यसको अन्त्य छैन । प्रेमलाई कसैले ईश्वर मानेर पूजा गर्छन् कसैले आफनो राक्षसी कार्यमा यसको दुरुपयोग गर्छन् । असफलतालाई सहन नसकेर प्रेमी प्रेमिकाले एक–अर्काको हत्या गरेको घटना पनि हामीले देखेका, सुनेका र पढेका छांै । प्रेममा प्राप्तिमात्र नभएर त्यागको पनि अहम भूमिका हुन्छ भन्ने कूरा नबुझनेहरूले त्यस्तो गल्ती गर्छन् । 

क्षणमै हँसाउने र क्षणमै रुवाउने चमत्कारले भरिपूर्ण प्रेमलाई गम्भीर अर्थमा बुझ्नेहरूले विश्व इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखेका छन् । वर्षौंसम्म पनि उनीहरूको नाम उदाहरणका रूपमा लिइन्छ । रोमियो–जुलियट, लैला–मजनू, शिरी–फरहाद प्रेमकै कारण उदाहरणीय छन् । कुनै पनि नियम र सूत्रलाई परिपालन नगर्ने प्रेम हाम्रा लागि भगवान्झंै सम्माननीय छ । अरू चीज बाँड्दा सकिन्छ तर प्रेम जति बाँड्यो त्यति बढ्छ । प्रेम मृगतृष्णा हो जुन जहिले पनि तिर्खाका रूपमा उपस्थित हुन्छ तृप्तिको रूप लिन सक्दैन । प्रेम हाम्रा निम्ति अमृतझैं मीठो र दुर्लभ छ । 

जसरी जूनबिना ताराको अस्तित्व छैन, जसरी धर्तीबिना आकाशको अस्तित्व छैन, जसरी फूलबिना भमराको अस्तित्व छैन त्यसरी नै प्रेमबिना जीवनको अस्तित्व छैन । नदेख्ने गरी सर्वत्र छाएको प्रेमले कदम–कदममा हामीलाई पछ्याइरहेको हुन्छ । हामी यसबाट भागेर कतै पनि लुक्न सक्दैनौं । हाम्रो प्रयास जहिले पनि प्रेमलाई प्रेमकै रूपमा कायम रहन दिने हुनुपर्छ । यसपालीको प्रणय दिवसमा अरूलाई प्रेम गर्न सिकौं । सबैलाई प्रेममय दृष्टिकोणले हेरौं र प्रेम बाँडौं– शुभकामना ।

 

प्रकाशित :माघ २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्