प्रकाश सायमीको छनौटमा उत्कृष्ट प्रेम गीत 

- प्रकाश सायमी

माघ २७, २०७५

फेब्रुअरी महिना प्रारम्भ भएसँगै रेडियो तथा टेलिभिजनमा प्रेमभावका गीतको प्रसारण बढ्दो छ । अधिकांश रेडियो तथा टेलिभिजन कार्यक्रममा अहिले रोमान्टिक गीत नै सुन्न पाइन्छ । फेब्रअरी १४ को पूर्वसन्ध्या पारेर साप्ताहिकले साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीलाई सर्वाधिक रोमान्टिक दस–दसवटा नेपाली तथा हिन्दी छनौट गर्न आग्रह गरेको थियो । सायमीले तयार पारेका सबैभन्दा प्रेमिल गीत :

मलाई माफ गरिदेऊ मेरा लोभी नजर 

स्वर : नारायण गोपाल

शब्द/संगीत : गोपाल योञ्जन 

युट्युबमा लिरिकल भिडियो उपलब्ध यो गीतमा एक जना प्रेमीले आफ्नी प्रेमिकाको वर्णन गरेका छन् । गायक दिपेशकिशोर भट्टराईद्वारा रि–रेकर्डिङ गरिएको यही गीतको लिरिकल म्युजिक भिडियो ३ लाखभन्दा बढी पटक हेरिएको छ । 

ऐना नभए आफ्नो अनुहार कहाँ हेर्छौ तिमी

स्वर : प्रेमध्वज प्रधान र तारादेवी 

शब्द : किरण खरेल 

संगीत : शिवशंकर मानन्धर 

एकताका रेडियो नेपालबाट एकै दिनमा दर्जनौं पटक प्रसारण हुने यो रोमान्टिक युगल गीतमा प्रेमि–प्रेमिकाले एक–अर्काको वर्णन गरेका छन् । युट्युबमा यो गीतको लिरिकल भिडियो उपलब्ध छ । 

तिमी लालीगुुराँस फुलेजस्ती 

स्वर : प्रकाश श्रेष्ठ 

शब्द : राजेन्द्र रिजाल 

संगीत : शम्भुजित बासकोटा 

गायक प्रकाश श्रेष्ठका गीत कुनै बेला लोकप्रियताको शिखरमा थिए । चलचित्रको पाश्र्व गायनमा समेत अब्बल गायक श्रेष्ठका दर्जनौं गीतमध्ये ‘तिमी लाली गुराँस फूले जस्ती’ अत्यन्त रोमान्टिक छ । यो गीतमा प्रेमिले आफ्नी प्रेमिकाको रूप एवं सौन्दर्यको वर्णन गरेका छन् । 

तिमी सुन्दर छौ तिमीलाई अझै

स्वर : उदितनारायण झा

शब्द : किरण खरेल 

संगीत : शिवशंकर मानन्धर 

गायक उदित नारायण झा रोमान्टिक गीतका पर्याय नै मानिन्छन् । कुनै बेला बलिउडमा समेत एकछत्र राज गर्न सफल गायक झाको तिमी सुन्दर छौ.. गीत रोमान्टिक शैलीको छ । यो गीतमा पनि प्रेमिले प्रेमिकाको रूप र सौन्दर्यको प्रसंसा गरेका छन् । 

भन भन न तिम्रो हजुर कस्तो छ

स्वर : दीप श्रेष्ठ तथा दावा ग्याल्मो 

संगीत/शब्द : दीप श्रेष्ठ

रोमान्टिक गीत गाएर श्रोताहरूको मनमा बस्न सफल गायक हुन्— दीप श्रेष्ठ । गायक श्रेष्ठले गायिका दावा ग्याल्मोसँग युगल गायन गरेको यो गीत असाध्यै रोमान्टिक छ । 

हिमालसरि म अग्लिरहेछु 

स्वर : नारायणगोपाल र अरुणा लामा

शब्द/संगीत : गोपाल योञ्जन

यो रोमान्टिक युगल गीतका थुप्रै लिरिकल भिडियो युट्युबमा उपलब्ध छन् । नारायण गोपाल तथा अरुणा लामाको स्वरमा रेकर्ड भएको यो गीत कुनै बेला रेडियो नेपालका अनुरोध कार्यक्रममा पटक–पटक प्रसारण हुन्थ्यो । स्वयं नारायण गोपाललाई समेत आफ्ना सयौं गीतमध्ये यो गीत निकै मन परेको बताइन्छ । 

म तिमी नहुँदा मरे तुल्य हुन्छु 

स्वर : विनोद राठौर तथा साधना सरगम 

संगीत : शक्ति बल्लभ 

शब्द : दिनेश अधिकारी 

यो चलचित्र सिमानाको गीत हो । अभिनेता धिरेन शाक्य तथा अभिनेत्री मेलिना मानन्धरको रोमान्टिक अभिनय एवं नृत्य समावेश यो गीत रोमान्टिक छ । गीतमा प्रेमि–प्रेमिकाले एक–अर्काको अभावमा हुन सक्ने सम्भावनाका बारेमा आफ्ना भावना व्यक्त गरेका छन् । 

रिमझिम रिमझिम पानी पर्ला 

स्वर : कुमार बस्नेत 

संकलन : कुमार बस्नेत

लोकगायक कुमार बस्नेतका अधिकांश लोकगीत रोमान्टिक शैलीका छन् । तीमध्ये रिमझिम रिमझिम पानी पर्ला, स्वर मिलाई गीत गाउँला लोक–आधुनिक शैलीको छ । यही गीतबाट गायक बस्नेतले दर्शकलाई नचाउने शैलीका गीत गाउन थालेको केही अन्तर्वार्तामा उल्लेख गरेका छन् । 

सुन–चाँदीभन्दा महँगो यो ज्यानलाई 

स्वर/संगीत : ओमविक्रम विष्ट तथा सुकमित गुरुङ

गायक ओम विक्रम विष्ट तथा गायिका सुकमित गुरुङको यूगल गीत हो ‘सुन–चाँदीभन्दा महँगो यो ज्यानलाई...’ । प्रकाश गुरुङको शब्द तथा संगीतको यो गीतले पनि एकताका रेडियो नेपालमा राम्रै स्थान बनाएको थियो । 

लरबरिन्छ यी पाइलाहरू 

स्वर : इन्दु स्याङ्बो

गायिका इन्दु स्याङ्बोको स्वरमा रेकर्ड भएको यो गीत निकै रोमान्टिक छ । युट्युबमा उपलब्ध नहुने यो गीत एकताका श्रोताहरूको जिब्रोमा झुन्डिन सफल भएको थियो ।

प्रकाशित :माघ २७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्