सर्भिस तथा हस्पिटालिटीको क्षेत्रमा सम्भावना छ 

- साप्ताहिक संवाददाता

माघ २२, २०७५

 

नरेन्द्र भाट लामो समयदेखि कतारलाई कर्मथलो बनाइरहेका अनुभवी व्यक्ति हुन् । उनी एनआरएन कतारको कार्य समिति सदस्य हुँदै महासचिव (२००६–२००९), अध्यक्ष (२००९–२०११), क्षेत्रीय संयोजक (२०११–२०१३), आइसिसी सल्लाहकार (२०१३–२०१५) तथा हाल आइसिसी मानार्थ सदस्य छन् । 

 

तपाईं कतार बसेको कति भयो ?

१७ वर्ष भयो । 

कुन सिलसिलामा पुग्नुभएको थियो ?

सुरुमा घुम्न भनेर गएँ । पाँच–छ महिनापछि साथीले व्यापार गरौं भनेपछि व्यापारमा हात हालियो । निर्माणका कामहरूमा लागियो । हामीले सडक, भवन आदि संरचना बनाउने कम्पनि सुरु गर्‍यौं । 

कतारको अनुभव कस्तो रह्यो ?

कतार अरू देशभन्दा भिन्न छ । फरक संस्कृति छ । शान्ति–सुरक्षा राम्रो छ । हामी विदेशमा बस्नेहरूले जन्मभूमिजत्तिकै अनुभूति गर्न नपाए पनि त्यति बिरानो पनि लाग्दैन । ३५ वर्षअघिदेखि नेपालीहरूले कतारलाई आफ्नो कर्मथलो बनाइरहेका छन् । नेपालमा रोजगारीको अवसर नपाएको हुनाले बाध्य भएर कतार जानुपरेको हो । कतार र नेपालबीच राम्रो सम्बन्ध छ । वैदेशिक रोजगारीमा भएका कमी–कमजोरीहरू सुधारिनेछन् भन्ने सम्झौता भएका छन् । यहाँ सबैले कानुनको अनुभुति गर्न पाउँछन् । 

कतारमा रोजगारीका लागि के–कस्ता सम्भावना के–के छन् ?

सर्भिस तथा हस्पिटालिटीको क्षेत्रमा नयाँ–नयाँ सम्भावनाहरू छन् । 

कतारमा नेपालीहरू कुन–कुन पेसामा छन् ?

कतारमा इन्जिनियर ४ सय, एकाउन्टेन्ट २ हजार, सुपरमार्केट सेल्स एक्जिक्युटिभमा १ हजार ५ सय, कतार एयरवेजमा १ हजार ५ सय तथा सेक्युरिटी डिपार्टमेन्टमा १ हजारजति नेपाली छन् । त्यस्तै डाक्टर, होटलमा म्यानेजर, कुक तथा सेफहरू पनि राम्रै संख्यामा छन् । 

कतारबाट नेपालमा कति रेमिट्यान्स भित्रिन्छ ?

नेपाल भित्रिने रेमिट्यान्सको ३० प्रतिशतको हाराहारीमा खाडी राष्ट्रको योगदान हुन्छ जहाँ ४ देखि साढे ४ लाख नेपाली छन् । रेमिट्यान्समा योगदान दिने मुलुकमध्ये कतार पनि प्रमुख मुलुक हो । 

कतारले नेपालमा लगानी गर्ने तयारी गरिरहेको छ कि ?

आउने मार्चमा नेपालमा एउटा सेमिनार हुँदैछ । कतारमा हाम्रा राजदूतले लगानीकर्ताहरूलाई नेपाल निम्त्याउने प्रयास गरिरहनुभएको छ । लगानी भित्र्याउन दूतावास तथा व्यवसायीहरूले आ–आफ्नो तर्फबाट प्रयास गरिरहेका छन् । हाइड्रो, एयरपोर्टका साथै पर्यटकीय क्षेत्रमा लगानी गर्ने कुरा भैरहेको छ । 

प्रकाशित :माघ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्