प्रादेशिक राजधानी हेटौंडा

- किशोर नेपाल

माघ २२, २०७५

प्रदेश नम्बर ३ को ‘अस्थायी’ राजधानी बनेपछि हेटौंडा राजधानी भएकोमा ओंठ लेप्य्राउने धेरै भए ।सबैका लागि ‘निकास द्वार’ सावित भैसकेको यो सहर भौगोलिक हिसाबले कसैका लागि अप्ठेरो छैन । काठमाडौंकै कुरा गर्ने हो भने हेटौंडाबाट काठमाडौं पुगिने मोटर चल्ने थुप्रै बाटा छन् । फर्पिङ, सिस्नेरी, मातातीर्थ र चित्लाङ चार महत्वपूर्ण नाका भैहाले । 

 

नौबीसेबाट टिस्टुङ–पालुङ हुँदै कालिटारको नागबेली ओरालो पार गरेपछि सुरु हुने समथर भूभाग, भैंसेको पुल पार गरेपछि चल्ने भित्री मधेसको तातो–चिसो हावा र त्यसपछि आउने सानो सहर हेटौंडा । उकाली, ओराली र घुम्तीहरू तथा सिमभन्ज्याङको हिउँले अपूर्व सुन्दर देखिन्थ्यो त्रिभुवन राजपथ । सवारी दुर्घटना पनि उत्तिकै हुन्थे, तर त्यो पहाड नाघ्ने विकल्प थिएन । पृथ्वी राजमार्गलाई जोडेर चितवन–मुग्लिन–गोर्खा राजमार्ग बनेपछि त्रिभुवन राजपथ चुमुर्कियो । काठमाडौंबाट मधेस छिर्नेहरूको रोजाइमा पृथ्वी राजमार्ग नै पर्‍यो । त्रिभुवन राजपथलाई ग्रामीण पर्यटन पथका रूपमा विकास गर्न नसकिने थिएन ।

त्यसो गरेको भए यहाँका जनजाति फाइदामा हुन्थे । साना गाडीहरूको लस्कर त्रिभुवन राजपथतिर मोडेर पृथ्वी राजमार्गमा ठूला गाडी चलाएको भए पनि हुन्थ्यो, तर कसैले चासो देखाएनन् । बाढी, पहिरो, चक्काजामजस्ता घटनाले पृथ्वी राजमार्ग अवरुध्द भएका बेला त्रिभुवन राजपथकै प्रयोग हुन्छ । 

हो, विकासवादीहरू पृथ्वी राजमार्गमै रमाए । चिनियाँ सहयोगमा बनेको चितवन–गोर्खा मार्ग काठमाडौंलाई पूर्व–पश्चिमसँग जोडने एक मात्र विकल्प बन्यो ।

भैंसेबाट हेटौंडाको दूरी धेरै छैन । हेटौंडा जीवन्त सहर हो । पहिले यो ट्रान्सपोर्ट सिटीका रूपमा चिनियो । पछि उद्योग हव बन्यो । अहिले हेटौंडा मिश्रित छ— एकातिर स–साना उद्योग छन् । ठूलामा हेटौंडा सिमेन्ट उभिएको छ । अर्को ठूलो शिवम सिमेन्ट पनि यतै छ अनि व्यापार पनि यतै छ । देशका चर्चित वित्त खेलाडीको ‘कोठी’ पनि यतै छ । रमाइलो कुरा, हेटौंडाको बजार खासै बिस्तार भएको छैन । होटल संख्यामा पनि सार्‍है ठूलो वृद्धि भएको छैन तर जनघनत्व छ, यसमा कुनै शंका छैन । ‘चालक, सह–चालक’ हरूले बसाएको सहर भए पनि यसको अस्मिता गज्जबकै छ । श्री भूटनदेवी माईले रक्षा गरुन ! हो, भुटनदेवी यो सहरकी रैथाने भगवती हुन । श्रद्धालुहरू त्यहाँ पुगिरहेका हुन्छन् ।

चिसापानी र मकवानपुर दुई ऐतिहासिक गढीको महत्व स्थापित गर्न हेटौंडाको भूमिका महत्वपूर्ण छ । यो कस्मोपोलिटन सहर हो जहाँ सबै प्रकारका धर्म र बिश्वासहरूको कदर हुन्छ । यो सहरको प्राकृतिक, व्यवसायिक एवं राजनीतिक वातावरण राम्रो छ । बस्तीहरू कतै राम्रा छन्, कतै ठीकैका छन् । यहाँ मानिसले आफनो औकातअनुसारको काम गर्न पाएको छ ।

प्रदेश नम्बर ३ को ‘अस्थायी’ राजधानी बनेपछि हेटौंडा राजधानी भएकोमा ओंठ लेप्य्राउने धेरै भए ।सबैका लागि ‘निकास द्वार’ सावित भैसकेको यो सहर भौगोलिक हिसाबले कसैका लागि अप्ठेरो छैन । काठमाडौंकै कुरा गर्ने हो भने हेटौंडाबाट काठमाडौं पुगिने मोटर चल्ने थुप्रै बाटा छन् । फर्पिङ, सिस्नेरी, मातातीर्थ र चित्लाङ चार महत्वपूर्ण नाका भैहाले । त्यसबाहेक निजगढ फास्टट्रयाक हेटौंडाबाट १४ किलोमिटर पर छ भने धरान चतरा मार्ग १८–२० किलोमिटर पर छ । ऐतिहासिक मानिएको कान्ति राजपथको सम्भार सुधार हुँदैछ ।

तैपनि कुरा काट्नेहरूले कुरा काट्न छोडेका छैनन् । हेटौंडाका बारेमा यति भन्न सकिन्छ— यसले ३ नम्बर प्रदेशको राजधानीका रूपमा स्थायी मान्यता पाउनुपर्छ । यसले काठमाडौंको सरकारी तथा सार्वजनिक जीवनलाई विकेन्द्रित गर्न सक्छ । सडक विस्तारका हिसाबले हेटौंडा साँघुरो होला, तर हेटौंडामा सरकारी जमिन अथाह छ । यी जमीनहरूको प्रयोग गरेर जन सुविधा बढाउन सकिन्छ । राजधानी सहर बन्न चाहिने सबै गुण छन् हेटौंडामा । ती गुणहरूको समुचित प्रयोग हुनुपर्छ । 

हेटौंडासँग फैलिने प्रशस्त क्षमता छ । यो पूर्व पश्चिम उत्तर दक्षिण जता फैलिए पनि हुन्छ । बनाउने नै हो भने नामटारदेखि भैंसेसम्म पहाडी सहर बनाउन नसकिने होइन । हेटौंडाको विस्तारको सम्भावना दक्षिणमा पनि नभएको होइन । पूर्व–पश्चिम त तानिएकै छ । त्रिभुवन राजपथ निर्माण हुनुभन्दा धेरै पहिलेदेखि अस्तित्वमा रहेको हेटौंडा देशका लागि एउटा राम्रो सहरका रूपमा विकसित हुन सक्छ । विकासमा राजनीति नगर्ने हो भने हेटौंडाले भित्री मधेसको कायापलट गर्न निकै मद्दत पुर्‍याउनेछ ।

प्रकाशित :माघ २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्