हामीकहाँ पूर्वाधारकै समस्या छ

- जनक तिमिल्सिना, महेश तिमल्सिना

माघ २१, २०७५

नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण सदस्य रोहित चन्द वीरेन्द्रनगर, सुर्खेतका हुन् । २७ वर्षीय युवा फुटबलर रोहित केही वर्षयता इन्डोनेसियामा लिग फुटबल खेलिरहेका छन् । गएको सिजन उनी आबद्ध फुटबल क्लब पेर्सिजा जकार्ताले इन्डोनेसियन लिग वानको उपाधि हात पार्‍यो । एसियाकै लोकप्रिय व्यवसायिक लिगमध्ये एक इन्डोनेसियन लिग वानमा रोहित सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

रोचक त के भने उनी लिग वानको सर्वोकृष्ट खेलाडी घोषित हुने क्रममा ब्राजिल र नेदल्यान्डजस्ता फुटबलका पावरहाउस मुलुकका खेलाडी प्रतिस्पर्धामा थिए । इन्डोनेसियाको राजधानी जकार्ताका गल्ली–गल्लीमा भव्य फ्यान फलोअर कमाएका रोहित आफैं भने रिजर्भ र लजालु स्वभावका छन् ।

सर्वोत्कृष्ट खेलाडी भएलगतै स्वदेश फर्किएका रोहित अहिले नेपालमा बिदा मनाइरहेका छन् । केही दिनमै फेरि इन्डोनेसिया फर्कने तयारी गरिरहेका चन्दले विदेशी लिगको अनुभव, उनका व्यक्तिगत रुचि, चाहना आदि विषयमा साप्ताहिकका लागि जनक तिमिल्सिना र महेश तिमिल्सिनासँग खुलेर कुराकानी गरे ।

झन्डै एक दशक विदेशी लिग खेलेर बिताउनुभयो ? 

एक दशक अलि पुगेको छैन् । २०११–१२ देखि सुरु गरेको थिएँ, सन् २०१८ सम्म बाहिर रहें । 

विदेशी लिगले कस्तो अनुभूति गराइरहेको छ ? 

राम्रै छ । उतार चढाव त जोसुकैको जीवनमा आउँछ, तर समग्रमा हेर्ने हो भने विदेशी लिगको अनुभव रमाइलै छ । 

विदेशी लिगमै बढी केन्द्रित हुनुको कारण ? नेपालमा अवसर नभएर हो ? 

पहिले नेपालमा फुटबल खेलेर करिअर बनाउन सक्ने अवस्था थिएन । धेरैजसो मानिसको दिमागमा नेपालमा फुटबल खेलेर बाँच्न सकिन्न भन्ने थियो त्यतिबेला, जतिबेला मैले फुटबल खेल्न थालेका थिएँ । त्यस्तो अवस्थामा फुटबल खेल्न थाले, भाग्य नै मान्नुपर्छ, मैले एकदमै सहयोगी परिवार पाएँ । नेपालजस्तो देशमा फुटबलमा करिअर बनाउँछु भन्दा धेरै परिवारले समर्थन गर्दैनन् । यद्यपि मेरो परिवार त्यस्तो नभएकाले मलाई फुटबलमा करिअर बनाउन निकै ठूलो सहयोग मिल्यो । त्यसताका नेपाली फुटबलको माहौल पनि त्यति राम्रो थिएन, त्यही बेला प्रस्ताव आयो र म इन्डोनेसिया पुगें । 

नेपाली फुटबलमा प्रतिस्पर्धा गर्न गाह्रो भएपछि तपाईंले विदेशी लिग ताक्नुभएको हो ? 

त्यस्तै भन्नुपर्छ, करिअरका हिसाबले हेर्ने हो भने त्यो बेला नेपाली फुटबलमा राम्रो करिअर थिएन । मैले त त्यो बेला भर्खर फुटबल खेल्न सुरु गरेको थिए, अग्रज खेलाडीहरू विदेश पलायन भैरहेका थिए । यो सब देख्नेहरूको दिमागमा त फुटबल खेलेर केही पनि हुँदैन भन्ने नै कुरा आउँछ । धन्न मैले त्यो बेला अवसर पाएँ र त्यसलाई उपयोग गर्न सकें । सुरुमा त म अनुभवका लागि इन्डोनेसिया गएको हुँ । खेल्दै जाँदा त्यहाँको फुटबल माहौल बुझे । त्यहाँ एकदमै राम्रो फुटबल माहौल छ । नेपालमा राष्ट्रिय टिमका लागि छुट्टै माहौल हुन्छ, तर क्लब फुटबलमा खासै माहौल हुँदैन । इन्डोनेसियामा अचम्मकै फुटबल माहौल छ । 

इन्डोनेसियाको फुटबल माहौलको खुबै चर्चा हुन्छ । खास कस्तो छ त्यहाँको फुटबल माहौल ? 

एकदमै क्रेजी माहौल छ, एकदमै क्रेजी फुटबल फ्यानहरू छन् । हामी अभ्यास गर्न मैदानमा प्रवेश गरेदेखि नै फ्यानहरूले चेयरअप गर्न थाल्छन् । खेलाडीलाई प्रेरित गर्न गीत गाउनेदेखि विभिन्न क्रियाकलाप अन्तिमसम्म पनि जारी राख्छन् । आफ्नो क्लबलाई एकदमै माया गर्छन् । इन्डोनेसियामा फुटबल नम्बर वान खेल हो । त्यहाँको फुटबल माहोल पहिलेदेखि नै राम्रो हो, अहिले त अझ राम्रो छ । 

विदेशमा खेल्दा र नेपालमा खेल्दाको भिन्नता के छ ? 

अहिलेको अवस्था र समय हेर्ने हो भने विदेशमा फुटबल खेल्ने अवसर पाउने हो भने राम्रो र फाइदाजनक छ । सबै हिसाबले म त विदेशमा खेल्दा नै फाइदा देख्छु । नेपालको घरेलु फुटबलको संरचना एकदमै अस्तव्यस्त छ । अर्को कुरा हाम्रो परिस्थिति–परिवेश बाहिरसँग मिल्दै मिल्दैन, हाम्रो लिग एकदमै छोटो हुन्छ । हामी घरेलु प्रतियोगिताहरू मात्र खेल्छौं, त्यो पनि व्यवस्थित छैन । आज यहाँ खेल्यो भने भोलि अन्तै गएर खेल्नुपर्छ । नेपाली घरेलु फुटबलको संरचना विदेशको तुलनामा डामाडोल नै छ । त्यसलाई एन्फाका साथै फुटबलसँग सम्बन्धित निकायहरूले राम्रो बनाउँछन् होला । भर्खर बनाउन सुरु गर्दैछन्, अहिले लिग पनि धेरै पछि भयो । हामी सकारात्मक हुनुपर्छ, विस्तारै परिवर्तन आउँछ । हामीकहाँ पूर्वाधारको पनि समस्या छ । भूकम्पले भत्किएको संरचना अहिले आएर पुनर्निर्माण हुँदैछ, इन्डोनेसियाको कुरा गर्ने हो भने त्यहाँका प्रत्येक सहरमा ठूला र सुविधासम्पन्न स्टेडियमहरू फालाफाल छन् । नेपालको खेलकुदमा जति लगानी छ, त्यो पर्याप्त छैन । बाहिरको खेलकुदमा निकै ठूलो लगानी गरिएको पाइन्छ । त्यसबाहेक सुविधाको कुरा पनि आउँछ । 

तपाईंले राष्ट्रिय टिमबाट विभिन्न देशमा गएर फुटबल खेल्नुभयो, इन्डोनेसियामा पनि झन्डै चार वर्ष बिताउनुभयो । फुटबल खेल्न नेपालको वातावरण मैत्रीपूर्ण छ कि विदेशी ? 

अहिले अवस्थासँग तुलना गर्ने हो भने त विदेशमै सजिलो छ । उनीहरूको सबै कुरा व्यवस्थित छ । हाम्रो यहाँ फुटबलमा सबै सुस्त छन्, अझैसम्म स्पष्ट पूर्वाधार निर्माण भैसकेको छैन । हामीले यसलाई व्यवस्थित गरेर लानुपर्छ । 

तपाईंको प्राथमिकता क्लब फुटबल हो कि राष्ट्रिय फुटबल टिम ? 

दुवै प्राथमिकतामा पर्छन् । राष्ट्रिय टिममा हुँदा म त्यसमै विशेष ध्यान दिएर ट्रेनिङ गरिरहेको हुन्छु । क्लबमा हुँदा क्लबका खेलहरूमा ध्यान दिइरहेको हुन्छु । व्यवसायी खेलाडी भएकाले हामीले त्यो कुरा व्यवस्थापन गर्नुपर्छ । देशका लागि खेल्दा देशका लागि पूरै लगावका साथ खेल्ने र क्लबका लागि खेल्दा पनि आफ्नो पूरा ध्यान केन्द्रित गरेर खेल्नुपर्छ । 

फुटबल जीवनबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? 

अहिलेसम्म सन्तुष्ट नै छु । नेपालबाहिर खेलिरहेको छु । आफ्नो क्षमतामा सुधार गरिरहेको छु, मेरा लागि यही नै ठूलो कुरा हो । बीचमा घाइते भएर एक वर्ष खेलिन् । त्यसबाट फर्केपछि क्षमतामा सुधार गरेर फेरि राम्रै भैरहेको छ । प्रदर्शन पनि राम्रै भयो, लिगमा पनि राम्रै भयो । व्यक्तिगत रूपमा मेरो फुटबल जीवन सन्तोषजनक छ । 

इन्डोनेसियाको फुटबल लिगको कुरा गर्दा रोहित चन्दका भव्य फ्यान फलोअर्स छन् । कसरी त्यति फ्यान कमाउनुभयो ? 

मैले झन्डै ४ वर्षजति इन्डोनेसियामा फुटबल खेलिसकेको छु । यो अवधिमा मैले आफ्नो प्रदर्शन एउटै स्तरमा कायम राखें, त्यसकारण मानिसहरूलाई चिन्न पनि सजिलो भयो । इन्डोनेसियामा सुरु–सुरुमा नेपाल कहाँ छ, कस्तो देश छ, केही थाहा थिएन । सगरमाथा र बुद्धको देश भन्नुपथ्र्यो । अहिले नेपाल भनेपछि रोहित चन्दको देश भनेर सबैले चिन्छन् । त्यतिसम्म बनाउन सफल भए ।

इन्डोनेसियामा कस्ता–कस्ता फ्यान छन् बताइदिनुस् न ? 

एकदमै क्रेजी फ्यानहरू छन् । युवायुवती, बच्चाबच्ची, बूढाबूढी सबै आउँछन् त्यहाँ फुटबल हेर्न । पर्सिजा (मेरो पहिलेको क्लब) भनेपछि क्लबका लागि जे पनि गर्दिने खालका फ्यानहरू छन्, समर्थकहरू एकदमै क्रेजी छन् । फ्यानका रूपमा पनि क्लबका लागि केही गर्नुपर्छ भन्ने छ त्यहाँ । व्यक्तिगत रूपमा फ्यानहरू सेल्फी खिच्न झुम्मिन्छन् । हामी पनि उनीहरूलाई राम्रो प्रतिक्रिया दिन्छौं । 

इन्डोनेसिया र नेपालमा अनौठा खालका फ्यानहरू छैनन् कोही ? 

अनौठा खालका फ्यानहरू त छैनन् । नेपालमा पनि त्यस्ता खालका फ्यान छैनन् । नेपालमा उति धेरै नखेलेकाले पनि होला, नाम थाहा भए पनि धेरैले मलाई प्रत्यक्ष रूपमा चिन्दैनन् । नेपाली फुटबल बुझ्ने र हेर्नेहरूले मात्र चिन्छन् । 

फेसबुकतिर फ्यानहरूले कत्तिको पछ्याउँछन् ? 

म्यासेजहरू गर्नुहुन्छ । के कस्तो छ सोध्नुहुन्छ । खेल पर्दा अल द बेस्ट भनेर विश गर्नुहुन्छ । अस्ति लिगको अन्तिम खेल हुँदा पनि धेरै म्यासेज आए, सबैको प्रतिउत्तर दिन नपाएपछि स्टाटस लेखेरै एप्रिसियट गरे । त्यति धेरै शुभकामना आएका थिए, सबैलाई प्रतिउत्तर दिन गाह्रो थियो । राम्रो गर्नुपर्छ, राष्ट्रिय टिमबाट पनि राम्रो गर्नुपर्छ भन्ने सुझावसमेत आउँछन् ।

 

एउटा फुटबलरका लागि के–के कुरा आवश्यक हुन्छन् ? 

पहिलो त अनुशासन नै हो । एथलेटहरूको अनुशासन भन्नेबित्तिकै खाने, बस्ने, सुत्ने, घुम्नेदेखि रमाइलो गर्नेसम्मका कुराहरू आउँछन् । समर्पण, कठोर मेहनत सबैले गरिहाल्छन् । खेलाडी आफैंले पनि विशेष प्रदर्शन गर्नुपर्छ । 

खेलाडीलाई केले ऊर्जा दिन्छ ? 

खेलाडीले आफैं विशेष प्रदर्शन गर्न सकेन भने केही पनि हुँदैन । त्यसबाहेक अग्रज र केही व्यक्तिहरूको पनि प्रेरणा आवश्यक हुन्छ । हाम्रो सन्दर्भमा एन्फा, प्रशिक्षक एवं कप्तानले प्रेरित गर्नुपर्छ । प्रेरणाका लागि अर्को महत्वपूर्ण कुरा शिक्षा हो । धेरैले खेलका लागि पढाइ छाडिदिन्छन्, तर त्यसो गर्नु हुँदैन । नेपालमा पहिले खेलका लागि अध्ययन छोड्नेहरू धेरै थिए, तर अहिले सबैले पढ्छन् । फुटबल खेल्ने सुरमा पढाइ छाडिदिनाले त्यसले पछि समस्या सिर्जना गर्छ । फुटबल र अध्ययनलाई सँगै अघि बढाउनुपर्छ, किनभने पढाइ पनि महत्वपूर्ण कुरा हो । 

अब, व्यक्तिगत कुरातर्फ फर्कौं, विवाह कहिले गर्ने ? 

विवाहको उमेर नै भा’ छैन जस्तो लाग्छ मलाई । यो आफ्नो भविष्य बनाउने समय हो । त्यसैले विवाहका बारेमा मैले सोचेको छैन । 

गर्लफ्रेन्ड बनाउनुभएको छैन ? 

अहिलेसम्म बनाएको छैन । बनाएर पनि के गर्नु, समय दिन भ्याइँदैन । 

कमाइबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? 

दुई वर्षअघिसम्म सन्तुष्ट थिए । अहिले मेरो जुन प्रदर्शन छ, त्यसकारण कमाइ अलिकति बढ्नुपर्छ जस्तो लाग्छ । त्यसैले अहिलेको कमाइबाट उति सन्तुष्ट छैन् । 

तपाईंलाई मन पर्ने कुरा ? 

मलाई घुम्न मन पर्छ, ट्रेकिङ जान मन पर्छ । पुस्तक पढ्न पनि रुचाउँछु । अरू त सामान्य नै हो, अरूलाई जे मन पर्छ, मलाई पनि तिनै कुराले आकर्षित गर्छन् । ट्रेकिङ गर्न र पुस्तक पढ्नचाहिँ एकदमै मन पराउँछु । 

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ? 

बायोग्राफी पढ्न सजिलो लाग्छ, तर फिक्सन पनि पढ्छु । म प्राय: अंग्रेजीभन्दा नेपाली पुस्तक नै बढी पढिरहेको हुन्छु । 

घुम्नका लागि मनपर्ने ठाउँ ? 

हाम्रो देशको हिमाली क्षेत्र मलाई औधी मन पर्छ । नेपालमा ट्रेकिङका लोभलाग्दा गन्तव्य धेरै छन् । मलाई डोल्पा, शे–फोक्सुन्डो तथा सगरमाथा आधारशिविर पुग्ने एकदमै रहर छ । एक न एकपटक त पुगिएला । 

खानपिनमा के मन पर्छ ? 

मलाई नेपाली दालभात एकदमै प्रिय लाग्छ । बाहिर रहँदा सधैं मिस गर्छु । बाहिर हुँदा कहिलेकाहीं आफैं पनि पकाएर खान्छु । 

खानपिनको कुनै निश्चित रुटिन छ कि ?

इन्डोनेसियामा हाम्रो ट्रेनिङ साँझको बेला हुन्थ्यो, त्यसकारण विहान ढिलो उठ्ने, लन्च गर्ने, लन्चपछि ट्रेनिङ गर्ने । त्यसपछि स्वीमिङ जाने र स्वीमिङबाट फर्किएपछि खाना खाने तालिका थियो, तर अहिले त्यस्तो विशेष कुनै रुटिन छैन । 

कुन सवारी चलाउनुहुन्छ ? 

अहिले म स्कुटर चलाउँछु । 

मोबाइल कुन ब्रान्डको बोक्नुहुन्छ ? 

वान प्लस ब्रान्डको मोबाइल चलाइरहेको छु । 

कस्ता पहिरन मन पर्छन् ? 

मलाई क्याजुअल पहिरन नै मन पर्छन् ।

 

प्रकाशित :माघ २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्