मास्टरमाइन्ड जिगोलो

- साप्ताहिक संवाददाता

माघ २१, २०७५

महिलासँग मोजमस्ती गर्ने, शारिरीक सम्बन्ध बनाउने र ठग्ने मास्टरमान्ड रविन जिगोलो अर्थात् पुरुष यौनकर्मी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीबाट अरु पनि थुप्रै महिला पीडित भएको हुन सक्ने आशंका गरेको छ । डिएसपी थापाका अनुसार केस नलडी नहुने, अर्को कुनै वैकल्पिक उपाय नभएका र सर्वस्व गुमाएकाहरू मात्र उजुरी लिएर प्रहरीकहाँ पुगेका छन् ।

 

    गत मंसिरमा घुम्ने सिलसिलामा रविनकुमार चिमोरियाको भेट सविता (नाम परिवर्तन) सँग हुन्छ । सविता लाइभ दोहोरी गाउने रविनको उत्कृष्ट गायन शैली तथा आकर्षक रूपमा मोहित हुन्छिन् । त्यो साँझ उनीहरूले फोन नम्बर साटासाट गर्छन् । श्रीमानबाट अलग बस्दै आएकी ती व्यवसायी युवतीसँग रविनले त्यही रात ११ बजेदेखि बिहान ४ बजेसम्म फोनमा कुराकानी गर्छन् । उनको हाइफाइ गफबाट प्रभावित भएकी युवती भोलिपल्ट भेटघाट गर्ने र घुम्न जाने योजनामा सहमत बन्छिन् । युवतीले आफ्नै गाडीमा उनलाई विभिन्न ठाउँ घुमाउँछिन् । सामान्य होटलमा बसिरहेका रविनलाई युवतीले नै सहरको महँगो होटलमा सार्छिन् अनि सबै बिल आफैंले तिरिदिन्छिन् । एक सातामा रविनले ती महिलाको मन जित्छन् भने विवाह गर्ने आश्वासनसमेत दिन्छन् । त्यसपछि उनको भेटघाट चलिरहन्छन् । यस्तैमा ती युवतीबाट १७ लाख रुपैयाँ ठगेपछि रविन हराउँछन् भने युवती उजुरी बोकेर प्रहरीकहाँ पुग्छिन् । 

    अधबैशे मनिता (नाम परिवर्तन) काठमाडौंमा बस्छिन् । उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा थिए । एक दिन रविनका साथीले मनितासँग उनको भेट गराइदिन्छन् । रविनको गफबाट मनिता प्रभावित हुन्छिन् । त्यसपछि उनी मनितासँग क्लब जान्छन्, रमाइलो गर्छन्, घुम्न काठमाडौंबाहिर पुग्छन् । झन्डै ६—७ महिनासम्म ती महिलासँग मस्ती गर्ने सिलसिलामा उनीबाट खर्चका रूपमा कहिले लाख, कहिले ५० हजार भन्दै पैसा माग्छन् । आफूलाई रमाइलो गराइरहेको केटाको मागप्रति महिलाले नाइनास्ति गर्दिनन् । मनिताका श्रीमानले विदेशबाट पठाएको लाखौं रुपैयाँ स्वाहा हुन्छ । जब उनका श्रीमान् विदेशबाट फर्कन्छन्, घटनाले अर्कै मोड लिन्छ ।  

    २१ वर्षीया युवती राधा (नाम परिवर्तन) डान्सबारकी डान्सर हुन् । डान्सरबारमा एकदिन रविनसँग उनको भेट हुन्छ । रविनले ठूला–ठूला कुरा गरेर राधालाई फकाउँछन्, फोन नम्बर साटासाट हुन्छ । रविनले ती युवतीलाई विवाह गर्ने आवश्वासन दिन्छन् र उनको मन जित्छन् । त्यसपछि उनीहरू सँगै लिभिङ टुगेदर बस्न थाल्छन् । युवतीले डान्सबारबाट कमाएको तीन लाख रुपैयाँ रविनले खर्च भनेर माग्दै सक्छन्, अनि बेपत्ता हुन्छन् । रविन पक्राउ परेको थाहा पाएपछि अहिले ती युवती आफ्नो उजुरी बोकेर प्रहरी कहाँ पुगेकी छिन् । 

माथिका घटना केही प्रतिनिधि घटना मात्र हुन् । हट्टाकट्टा जीउडाल भएका, चिटिक्क परेर हिँड्ने, डान्सबार, क्लब तथा दोहोरी रेष्टुराँहरू चहार्ने पाँचथर फलैंचाका रविन कुमार चिमोरियाविरुद्ध यस्तै प्रकृतिका आधा दर्जनभन्दा बढी उजुरी प्रहरीमा परेका छन् । २६ पुसमा महानगरीय अपराध महाशाखाले सुन्धाराबाट पक्राउ गरेलगत्तै पीडित महिलाहरू प्रहरीकहाँ पुग्ने क्रम बढेको छ । 

ठगी मुद्दामा पक्राउ परेका चिमोरियामाथि ठगीसँगै जबरजस्ती करणी र चोरीका उजुरीहरू पनि परेका छन् । अहिले उनीविरुद्ध जबरजस्ती करणी, ठगी तथा चोरी गरी तीन प्रकृतिका मुद्दामा ६ भन्दा बढी पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ, जसमा जबरजस्ती करणी गरेर ८० लाख चोरी गरेको दाबी गर्नेदेखि १७ लाख ठगी गरेको उजुरीसम्म छन् । 

कतिपयले आफूलाई विवाह गर्ने आश्वासन दिएर लिभिङ टुगेदरमा बसेर लाखौं ठगी गरेको उजुरी दिएका छन् भने कतिले विवाह गर्छु भन्दै लामो समय आफूसँग बसेर सबै पैसा सकिदिएको उजुरी हालेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डिएसपी मोहनकुमार थापा रविनले महिलाहरूलाई ललाईफकाई यौनसम्बन्ध राख्ने, विवाह गर्छु भन्ने अनि त्यसैलाई ठग्ने हतियार बनाउने गरेको बताउँछन् ।  काठमाडौंमा पक्राउ परेलगतै रविनविरुद्ध धरानमा पनि एक महिलाले यस्तै किसिमको ठगी उजुरी दर्ता गरेको प्रहरीले बताएको छ । 

महिलासँग मोजमस्ती गर्ने, शारिरीक सम्बन्ध बनाउने र ठग्ने मास्टरमान्ड रविन जिगोलो अर्थात् पुरुष यौनकर्मी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीबाट अरु पनि थुप्रै महिला पीडित भएको हुन सक्ने आशंका गरेको छ । डिएसपी थापाका अनुसार केस नलडी नहुने, अर्को कुनै वैकल्पिक उपाय नभएका र सर्वस्व गुमाएकाहरू मात्र उजुरी लिएर प्रहरीकहाँ पुगेका छन् । अन्य कैयौं पीडित लोकलाज तथा इज्जतका कारण प्रहरी कहाँ नआएको हुन सक्ने थापा बताउँछन् । ‘हाइप्रोफाइल, पढेलेखेका र पैसावालहरू पनि पीडित हुन सक्छन्,’ थापा भन्छन्, ‘तर, लोकलाज र इज्जतको डरले उनीहरू आउँदैनन्, आउने सम्भावना पनि कम छ । यद्यपि रविनबाट सयौं महिला पीडित भएको अनुमान हामीले गरेका छौं ।’ 

रविन स्वयंले पनि साप्ताहिकसँग आफूले केही महिलासँग त्यस्तो सम्बन्ध बनाएको स्वीकार गरेका छन् । ‘१०–२० जनासँग भयो होला तर ५ सय भनेको निकै बढी हो । संख्याका हिसाबले म यति नै सँग सम्बन्ध रह्यो भन्न सक्दिनँ । केहीसँग त्यस्तो सहकार्य हुन्छ,’ उनले भने । उनले आफूले यस्ता महिलाहरूसँग क्लब, डान्सबार, दोहोरी तथा सार्वजनिक कार्यक्रममा भेटेर सम्बन्ध निर्माण गरेको खुलासा समेत गरेका छन् । (हेनुहोस अन्तर्वार्ता) 

१५ वर्षअघि विवाह गरेका रविन ९ वर्षदेखि श्रीमतीसँग छुट्टिएर अलग बस्दै आएका छन् । उनको काम नै सुटेड बुटेड भएर दोहोरी, क्लब तथा डान्सबार धाउने अनि त्यहीं महिलाहरूलाई आफ्नो जालमा पारेर ठग्नु हो । उनी सुरुमा महिलाको नजिक पुग्छन्, ठूला कुरा गरेर आफूतर्फ आकर्षित गर्छन् । त्यसपछि विवाहको आश्वासन दिन्छन् अनि यौन सम्बन्ध बनाउँछन् । खर्चका नाममा ठूलो रकम माग्छन्, जबसम्म पैसा आइरहन्छ, सम्बन्धमै बसिरहन्छन् । जब महिलाले विवाह गर्न दबाब दिन्छिन् वा पैसा दिन इन्कार गर्छिन्, उनी त्यसपछि ती महिलालाई छाडेर अर्कै महिलासँग सम्बन्ध विकसित गर्नतर्फ लाग्छन् । 

रविन स्वयं पनि आफूलाई पेशेवर मान्छन् । ‘म पनि पेसेवर हो, मेरो केस चल्यो सबै कुरा भैसक्यो, मैले किन झूटो बोल्ने ? म रातको यति दे भनेर जादिन्, मैले त पकेट मनी लिने हो । म १० हजारमा जाँदा पनि जाँदिनँ, म अलि ठूलो अमाउन्ट लिन्छु,’ उनी भन्छन्, ‘म आफूलाई खर्च चाहियो भने १ लाख दे, २ लाख दे भनेर लिन्छु ।’ ३ लाख ९ हजार पर्ने २ सय २० सीसीको पल्सर चढ्ने रविन सबै खर्च यस्तै कामबाट जुटाउँछन् । 

‘लाइभ दोहोरीहरूतिर गएका बेला त्यही चीनजान हुन्छ, नम्बर साटासाट हुन्छ,’ रविन भन्छन्, ‘त्यसपछि अटोमेटिकल्ली सम्बन्ध बन्दै जान्छ ।’ केन्द्रीय अनुसन्धान ब्युरोले गत वर्ष पनि उनलाई यस्तै केसमा पक्राउ गरेको थियो । त्यतिबेला हिरासतबाट छुटेलगत्तै उनी पुन: यस्तै कर्ममा फर्किए । प्रहरीले अहिले चिमोरियाविरुद्ध चोरी, जबरजस्ती करणी तथा ठगीमा मुद्दा चलाएर अनुसन्धान अघि बढाइरहेको छ ।

उसले कुनै प्रमाण छोड्दैन

मोहनकुमार थापा

डिएसपी, महानगरीय प्रहरी परिसर काठमाडौं 

अ.

हिले रविनका विरुद्ध पाँचवटा मुद्दा दर्ता भैसकेका छन् । काठमाडौं प्रहरी परिसरमा ३ ठगी, एक चोरी र एक जबरजस्ती करणीको मुद्धा दर्ता भएको छ । यस्तै, धरानमा पनि एक जना महिलाले ठगीको मुद्दा हालेकी छिन् । यस्तै, सिआईबीमा पनि उनीविरुद्ध मुद्धा छन् । अरु उजुरी आउने क्रम जारी छ । जति पीडित महिला छन् तिनीहरूको पृष्ठभूमीमा श्रीमान मरेको, छोडेको वा डिभोर्स भएको वा विदेश गएको देखिन्छ । केही अभिभावकत्व नभएका अर्थात् एक्लै बस्ने पनि छन् । यसमा उमेर र अनुहारको सुन्दरताको मतलब हुँदैन, पैसा आउने भएपछि ऊ जुनसुकै बहाना बनाएर फसाउन माहिर छ । सुरुमै सबै प्रोफाइल र इन्फर्मेसन लिएपछि त्यही अनुकूलको बहाना बनाउँछ । कम पढेको भए पनि धेरै बाठो छ र अर्गनाइज हिसाबले काम गर्छ । अर्को के पनि खुलेको छ भने उसले आफूविरुद्ध लाग्ने कुनै पनि प्रमाण छाड्दैन, सबै मेट्छ । ८० लाख हिनामिना गर्दा पनि उसले प्रमाण छोडेको छैन । 

उसले फसाउन ठूला–ठूला कार्यक्रम र योजनाका कुरा गर्नुका साथै महिला कस्ती प्रकृतिकी छिन् त्यहीअनुसारको उपाय प्रयोग गर्छ । रबिनको बयानका आधारमा भन्ने हो भने गिरोह नै सक्रिय हुन सक्ने सम्भावना पनि छ । उसले अरू केटाहरूको नाम लिएको छैन, कारण अरु केटाहरू पक्राउ परे भने थप पोल खुल्ला भन्ने डर छ उसलाई । उसले क्यारिअरको काम गर्छु भनेर दाबी गरे पनि त्यो सबै झुट हो । किनभने अहिलेसम्मको अनुसन्धानबाट उसको पेसा नै महिलाहरूलाई ठग्ने देखिएको छ । सुटेड बुटेड हुने, दोहोरी राम्रो गाउने, राम्रो डान्स गर्ने र त्यसकै आकर्षणमा महिलाहरूलाई ठग्ने । ६–७ वटा केसमा उसको संलग्नता देखियो, अरु पनि आउँछन् होला । यसका पीडितहरू पढेलेखेका र अलिकति पैसावाल पनि छन्, त्यसैले कतिपय पीडितहरू पुलिस कहाँ आउन चाहँदैनन् । अहिले प्रहरीकहाँ आएका त एकदमै समस्यामा परेका र सर्वस्व नै लुटिएका अनि श्रीमानले दसौं वर्ष कमाएर पठाएको पैसा सिध्याएकाहरू छन् । अहिले उसमाथि ठगी, जबरजस्ती करणी एवं चोरीको मुद्दा चलिरहेको छ ।

प्रकाशित :माघ २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्