हिउँ टुरिज्म

- साप्ताहिक संवाददाता

माघ २०, २०७५

नेपालमा हिउँ पर्यटनको राम्रो सम्भावना छ । हिमाली मुलुक भएर पनि नेपालमा हिउँमा आधारित पर्यटनको विकास हुन सकेको छैन । यो विषयमा हाम्रा सरोकारवाला निकायहरूसँग कुनै ठोस योजना भएको कुरा अहिलेसम्म जानकारीमा आउन सकेको छैन । विगतका दिनहरूमा नेपालका हिमाच्छादित क्षेत्रहरूमा यातायातको अभावले सोचेजस्तो पर्यटकीय विकास गर्न सकिएको थिएन ।

 

झन्डै एक महिनायता मुलुकका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भैरहेको छ । हिमाली क्षेत्रमा प्राय: बर्सेनि हिमपात हुन्छ । यद्यपि यसपटक उच्च पहाडी क्षेत्रका धेरै इलाकामा पोहोर–परारको तुलनामा बढी हिमपात भएको छ । यो हिमपातले केही कष्ट दिए पनि स्थानीय बासिन्दाहरूलाई भने खुसी नै दिएको छ । अर्को कुरा के हो भने यसरी पहाडी इलाकामा वर्षौंपछि भएको बाक्लो हिमपातले सहरतिर बसोबास गर्ने, कहिल्यै हिउँ नदेखेका मानिसहरूलाई हिउँसँग खेल्ने अवसरसमेत जुराएको छ ।

 यो अवसरमा सहरी युवाहरूले हिमपात भएको क्षेत्रमा पुगेर मज्जासँग हिउँ खेली पर्याप्त मनोरञ्जन लिएका छन् । हिमपात भएको हेर्नेहरूको घुइँचोले उच्च पहाडी तथा हिमाली इलाकाहरू भरिएका छन् । यसपटक काठमाडौं उपत्यका वरपरका अग्ला डाँडा शिवपुरी, फूलचोकी, चन्द्रागिरि तथा भक्तपुरको नगरकोटजस्ता ठाउँमा हिउँ पर्‍यो, जसलाई हेर्न काठमाडौंबाट युवा, तन्नेरी मात्र होइन, सबै उमेर समूहका महिला–पुरुषको लाम लाग्यो । कतिसम्म भने हिउँमा रमाउन जानेहरूको संख्या यति ठूलो थियो कि काठमाडौंबाट उच्च पहाडी श्रृंखला पुग्ने बाटो जाम नै भयो । 

                                                      तस्बिर: चन्द्र कार्की

फूलचोकीको जाम छिचोल्न नसकेपछि कतिपय त हिउँको आनन्द नै नलिई फर्कन विवश भए । चन्द्रागिरिमा हिउँ परेपछि केवलकार चढ्ने मानिसहरूको संख्या ह्वातै बढ्यो । ‘हिउँ परेपछि केही हदसम्म मानिसहरूको फ्लो बढेको हो,’ चन्द्रागिरि हिल्सकी मार्केटिङ म्यानेजर इन्दिरा पौडेलले भनिन् । पौडेलका अनुसार पछिल्ला १५ दिनमा मात्र ४५ हजारले चन्द्रागिरि केबुलकारको यात्रा गरेका छन् । 

यसबाहेक काठमाडौं नजिकैका मकवानपुरको दामन, दोलखाको कालिन्चोक आदि क्षेत्रमा हिउँ खेल्न र रमाउन मानिसहरूको भीड ओइरियो । हिउँमा रमाउन काठमाडौंबाट दामन, कालिन्चोक आदि क्षेत्रमा जान बाइक तथा गाडीको लर्को नै देखिन्थ्यो । कालिन्चोक कन्ट्री भिल्ला रिसोर्टका सञ्चालक कुमार पाण्डेका अनुसार हिउँ पर्न थालेपछि कालिन्चोकमा दैनिक १० देखि १२ हजार मानिसहरू पुगेका थिए । ‘अरू बेला ३ देखि ४ हजारसम्म जान्थे, हिउँ पर्न थालेपछि दैनिक १० देखि १२ हजार मानिस कालिन्चोक पुगे,’ पाण्डेले साप्ताहिकसँग भने । 

यसले के देखाउँछ भने नेपालमा हिउँ पर्यटनको राम्रो सम्भावना छ । हिमाली मुलुक भएर पनि नेपालमा हिउँमा आधारित पर्यटनको विकास हुन सकेको छैन । यो विषयमा हाम्रा सरोकारवाला निकायहरूसँग कुनै ठोस योजना भएको कुरा अहिलेसम्म जानकारीमा आउन सकेको छैन । विगतका दिनहरूमा नेपालका हिमाच्छादित क्षेत्रहरूमा यातायातको अभावले सोचेजस्तो पर्यटकीय विकास गर्न सकिएको थिएन । सँगैको छिमेकी मुलुक भारतले आफ्ना त्यस्ता हिमाच्छादित क्षेत्रहरूमा सडक सन्जाल पुर्‍याएर हिउँ आधारित पर्यटनको राम्रो विकास गरेको उदाहरण हाम्रो सामु छ, तर हामी कहाँ भने उच्च पहाडी भू–भागमा बर्सेनि हिउँले सेताम्य हुने क्षेत्रहरू पूर्वाधारको अभावमा रुमल्लिएका देखिन्छन् । 

हिउँ पर्ने समयमा हिमपातले ढाकिने र स्वर्गजस्तै अद्भुत सुन्दर देखिने सुदूरपश्चिमको खप्तड, अछामको रामारोशन, मुगुको रारा, डोल्पाको शे फोक्सोन्डो, जुम्ला, बाग्लुङको ढोरपाटन, खुम्बु क्षेत्रको गोक्यो भ्याली, सगरमाथा क्षेत्र, ताप्लेजुङको पाथीभरा, इलामको सन्दकपुर, गोसाइँकुण्ड, गोरखा तथा धादिङका हिमाली क्षेत्र, रसुवाको लाङटाङ एवं अन्नपूर्ण क्षेत्रहरू हिउँ पर्यटनका दृष्टिकोणले प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । यातायात, आवास आदिजस्ता पूर्वाधारहरूको अभावका कारण हिउँ पर्यटनको अथाह सम्भावना भएका कतिपय क्षेत्रमा अहिले पनि पर्यटक पुग्न मुस्किल छ । 

प्रकाशित :माघ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्