‘लात हान्ने’ अभिनेत्री

- साप्ताहिक संवाददाता

माघ २०, २०७५

अभिनेत्री दीपशिखा खड्काले आफ्नै लगानीको चलचित्र ‘प्रेमलीला’ का निर्देशकलाई आफैंले लात हानेर चलचित्रबाट अलग गरेको दाबी गरेकी छिन् । चलचित्रको ट्रेलर सार्वजनिक गर्न हालै काठमाडौंमा आयोजित एक समारोहमा अभिनेत्री खड्काले भनिन्— ‘मैले निर्देशकलाई लात हानेरै निकालेकी हुँ ।’

कुरा बुझ्दै जाँदा वास्तविकता अलि भिन्न रहेछ । चलचित्रका निर्देशक जनक पाण्डे चलचित्रको करिब ६५ प्रतिशत छायांकन पूरा भएपछि अचानक गायब भए । निर्देशक नै बेपत्ता भएपछि चलचित्रको छायांकन रोकिने सम्भावना बढ्यो । खोजखबर गर्दा निर्देशक सम्पर्कमा त आए, तर सिरियस भएर काम गरेनन् ।

झोंक्की स्वभावकी अभिनेत्री खड्काले उनलाई चलचित्रबाट अलग गरेको घोषणा मात्र गरिनन्, चलचित्रको बाँकी काम आफैंले गर्ने सम्पन्न योजना बनाइन् । ‘मैले निर्देशकबिना पनि चलचित्रको काम पूरा गरेकी छु,’ खड्का भन्छिन्— ‘अर्थ अभावले चलचित्रको प्रदर्शन मिति केही साता पछि सारें, यद्यपि यो चलचित्र फागुन १० गते दर्शकले हेर्न पाउनुहुनेछ ।’

अभिनेत्री खड्काले चलचित्रको सम्पूर्ण प्रचार सामग्रीमा निर्देशकको नाम नराखिएको समेत बताएकी छिन् । ‘म ती निर्देशकको नाम पनि लिन चाहन्नँ, खड्काको भनाइ छ– ‘उनले किन चलचित्र छाडे भन्ने कुरा पनि खोल्न चाहन्नँ । म ती निर्देशकको नाम राखेर आफ्नो चलचित्रलाई फोहोरी बनाउन चाहन्नँ ।’ कति ठूलो रिस हो ?:

प्रकाशित :माघ २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्