सम्झनाका तरेलीहरूमा ल्होसार 

- पसाङ नुरु शेर्पा 

माघ १९, २०७५

बिहान सखारैको चिसो मौसममा आकाश खुलेर चारैतिर सफा देखिन्थ्यो । मुटु रेट्ने सिरेटोले लर्बराएका सेताम्मे मनमोहक बोटबिरुवाहरूले मेरो बालसुलभ मन लोभ्याउँथ्यो । माघ–फागुनको आसपास भएकाले खेतबारीका बालीनाली भित्र्याइसकेर नजिकै आइरहेको ल्होसारको तयारीमा व्यस्त देखिन्थे सबै । उनीहरू छ्याङ पकाउने, खप्सा पोल्ने, कोदो अथवा उवा भुटेर चम्पा पीठो बनाउने साथै हाटबजार गएर सरसामान किन्ने काममा व्यस्त हुन्थे । 

बेलाबेलामा गाउँतिर झुल्कने साइँला दाइ पनि लुगा सिउने कल बोकेर ल्होसारको छेको पारेर गाउँघर डुल्दै आउँथे । उनलाई देखेर गाउँघरका केटाकेटीहरू नयाँ लुगा लाउन पाइने भो भनेर दंग पर्थे । वर्षमा एक–दुई जोर नयाँ लुगा सिलाई दिने हैसियत प्राय: सबैकै हुन्थ्यो । सहर बजारमा आफन्त हुनेहरूले सहरबाटै लुगा पठाइदिन्थे । यद्यपि हामीमध्ये धेरैजसो केटाकेटीको बाध्यता भनौं वा रोजाइ, गाउँमै साइँला दाइले सिलाइदिएको छुवा एङ्गी र कमिज पाइन्ट नै हुन्थ्यो ।  

ल्होसारको पहिलो दिन घर सरसफाइ गरिन्छ र सोही दिन बेलुकी नौ प्रकारको गेडागुडी हालेर गुथुक बनाएर खाने चलन छ । गुथुकमा ऐरी (मैदाबाट बनाइएको एक प्रकारको भित्री भाग खोलिएको डल्लो) भित्र विभिन्न किसिमका वस्तुहरू जस्तो कि चिनी, कोइला, मासु, इत्यादि राखिन्छ । त्यो खाँदाखेरि जसले जे–जे भेट्छ खाने मानिसको चरित्र पनि त्यस्तै हुन्छ भन्ने मान्यता छ । गुथुक खाँदाको समयमा ऐरीमा भेटिएको वस्तुलाई लिएर हल्का रमाइलोसमेत गरिन्छ । दोस्रो दिन नम्गाङ (औंसी) मा छेचीका लागि चाहिने सरसामान जोड्जाम र तयारी गर्नेबाहेक खासै कार्यक्रम हुँदैन तर तेस्रो दिन (छेची) को तयारी भने गरिन्छ । तेस्रो दिन अर्थात छेचीको बिहान सबेरै पाँच बजेअघि नै छिउ (लोसार छेचीको दिन धारामा थाप्ने पानी) लिन जानुपर्ने हुन्छ । 

हामी पनि बुबाआमालाई पूजाको काममा सकेजति सघाइरहेका हुन्थ्यौं । छेचुको पानी छिउ लिन नजिकैको धारामा जानुपथ्र्यो । यता आमा पनि आफ्नै धुनमा सामानहरू मिलाइरहनुहुन्थ्यो । हामी पूजाको शेर्पा भेष छुवा तेतुङ लगाएर पूजाको थालीमा घिउ मेन्डल (अक्षता) साङ (धूप) राखेर नजिकैको धारातिर लाग्थ्यौं । धारामा पुगेर बुबाले काङ्गसुर(आगोमा घिउ पोलेर गर्ने पूजा) र धूप बालेर नाग देवताको पूजा गर्नुहुन्थ्यो । त्यसपछि साङछुङ (तामाको पानी हाल्ने भाँडो) मा पानी थाप्नुहुन्थ्यो । हामीभन्दा अघि पनि केही मानिस त्यहाँ पुगेर पूजा गरिरहेका हुन्थे । त्यस्तै क्रममा एकपटक पल्लो घरको गागा (बाजे) सँग बोल्न खोज्दा बुबाले मलाई चिमोट्नुभयो । उहाँको स्पष्ट संकेत म चुप लागूँ भन्ने थियो । मैले उहाँको इसारा बुझिहालें अनि चुप लागें । यसरी धारामा छिउ लिन जाँदा कसैसँग बोले हामीले भगवान्बाट पाएको आशिष उसैले लान्छ भन्ने जनविश्वास रहेछ । 

बुबा र म साङछुमा छिउ लिएर घर फर्कियौं । घरमा आमा, भाइ–बहिनीहरू मिलेर छांगुल (छ्याङमा छुर्पी, नरिवल र अन्य सामग्रीहरू मिसाएर बनाएको परिकार) बनाएर हामीलाई कुरेर बसिरहनु भएको थियो । बुबाले घर पुगेर पूजाका विधिहरू छोमिन (घिउको बत्ती) बाल्ने,  खप्सा, चक्लेट, मिठाई, नरिवलका टुक्रा, फलफूल आदि चढाएर देवताको पूजा गर्नुभयो । नाम्गङ बेलुकी नै तयार परिएको छिमार (चम्पा दूध, घिउ, चिनी छुर्पी मिसाएर बनाएको) सँग सर्किम छ्याङ सबै परिवारलाई अलि–अलि प्रसादका रूपमा खाने र ख्वाउने काम पुरा गरेपछि घरभित्रका विभिन्न भाग चम्पाले सजाउनुभयो । छेचीको दिन आधिकारिक सरकारी छुट्टी त हुँदैनथ्यो, तर छेचीको दिन प्राय: ल्होसार मान्नेहरू छुट्टी लिएर घरपरिवारमै बसेर रमाइलो गर्थे । यसरी छेचीको दिन परिवार र नजिकका आफन्तहरू मात्र बसेर मनाइने ल्होसार छेचीलाई स्थानीय चलनचल्तीको भाषामा ‘नङ्गुर’ भनिन्छ ।

ल्होसार छेचीपछिका दिनहरूमा दैनिक कामहरू चालू नै हुन्छन् । जुन दिन आफुलाई अनुकुल पर्छ त्यही दिन गाउँलेहरूलाई बोलाएर ख्वाइन्छ । हामी केटाकेटीहरूले नियमित रूपमा स्कुल जानुपथ्र्यो । हाम्रो स्कुल अलि डाँडामा थियो । जब हामी स्कुलबाट घर फर्कन्थ्यौ कसैको घरमा धूवाँ निस्किएको अनि मानिसहरूको चहलपहल देखियो भने हामी बुझ्थ्यौं कि त्यो घरमा ल्होसार मनाइरहेका छन् । हामी खुसीले गद्गद् हुँदै घरतिर लाग्थ्यांै । हाम्रै घरको पल्लो डाँडाको घरमा धूवाँ देखिएकाले म लगायत साथीहरू ल्होसार रहेछ भन्ने अड्कल काट्दै त्यही भेटौं है भन्दै आ–आफ्नै घरतिर लाग्यौं । 

गाउँ क्षेत्रका सबै जना मिलेर खाने ल्होसार एक दिनमा एउटा घरमा मात्रै हुन्छ । ल्होसारको दिन ल्होसार मनाउने घरमा पुग्ने बित्तिकै सर्वप्रथम चियासँग खप्सा ख्वाउने चलन छ । त्यसपछि लगतै पकपुर चम्पा राख्ने एक किसिमको तामाको भाँडामा चम्पा कोदो भुटेर बनाइएको अथवा उवा भुटेर बनाइएको पीठो चार–पाँच जनाको बीचबीचमा टेबुलमा राखेर पक–चियामा चम्पाको पिठो मिचेर बनाएको परिकारका लागि चिया र चम्पा तयार गरिएको हुन्छ र खाप्सा पनि सँगै  ख्वाउने चलन छ । 

स–साना बालबालिकाका लागि सँगै भएका ठूलाहरूले पक बनाइदिन्छन् । हामीले  पनि साथीहरूसँग जसोतसो पक आफैंले बनाएर चियासँग खायौं । यसरी पक खप्सा र चिया खाने काम सकिसकेपछि बल्ल सर्किम (पूजा) को तयारी हुन्छ । सर्किमका लागि छ्याङ बनाइएको हुन्छ । आफ्नै बारीमा फलेको अन्न मध्य मकै, गहुँ, उवा र कसैकसैले चामलको छ्याङ बनाउँछन् । छ्याङलाई गाम्बु (छ्याङ पकाउनकै लागि काठबाट बनाएको एक किसिमको ठूलो भाँडो) मा राखेर सर्किम पूजा गरिन्छ । सर्किम पूजा सकिएपछि बल्ल छ्याङको सोर्के (बाँडेर ख्वाउने काम) गरिन्छ । 

हामी केटाकेटीहरू कहिले एकछेउमा बसेर लामाले सेर्किम गरिरहेको हेरिरहन्थ्यौं त कहिले बाहिर गएर लुकामारी खेल्थ्यौं । समय–समयमा सोर्के गर्ने काम ल्होसार कार्यक्रमको अन्तिम समयसम्मै जारी रहन्थ्यो । यसबीच हातले घरमै तयार गरिएको थुक्पा (नुडल) ख्वाउने चलन छ । हरेक प्रकारको खाना खाँदा होस् वा केही पेय पदार्थ पिउँदा होस् सुङ (थाप्ने काम) गर्नै पर्ने प्रचलन छ । यसरी थुक्पा खाने–ख्वाउने कार्य सकिसकेपछि पनि छ्याङ ख्वाउने कामचाहिँ जारी नै हुन्छ । 

नाचगानको कार्यक्रमको सुरुवात ठालुक (एक किसिमको बसेर गाईने गीत) बाट हुन्छ । त्यसपछि बिस्तारै स्याब्रु नाँच सुरु हुन्छ । छ्याङ्को सोर्के गर्ने, स्याब्रु नाँच्ने र कोही आ–आफ्नै किसिमको दु:ख सुखको गफगाफमा व्यस्त हुन्छन् । ल्होसारको अन्तिमतिर फेरि दाल, भात, मासु ख्वाइन्छ । खाना खाइसकेपछि पनि स्याब्रु नाच चाहिँ निरन्तर चलिरहेकै हुन्छ । त्यसबीचमा मनोरञ्जक जोकहरू गरेर पनि रमाइलो गरिन्छ । विशेष गरी नेपालको हिमाली खण्डमा बसोबास गर्ने शेर्पा जातीको सांस्कृतिक चाड ल्होसारको अन्तिममा बिदाइका लागि लोसार आयोजक घरमुलीबाट आशिष दिँदै चाम्पा खदा (पिठोको खदा) लगाएर पाहुनाहरूलाई बिदा गरिन्छ । चम्पा खदाको बिकसित रुप नै अहिले ल्होसारलगायत अन्य बिभिन्न समारोह–उत्सवहरूमा प्रयोगमा ल्याइएका रङ्गीचङ्गी खदा अथवा व्यवसायिक संस्करण हुन् ।

प्रकाशित :माघ १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्