सबैले मेरो स्माइल  राम्रो लाग्छ भन्छन्

- कृष्ण भट्टराई

माघ १७, २०७५

नेपाली गीतका दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिरहेकी मोडल तथा अभिनेत्री सृष्टि खड्का यो साता अचानक चर्चामा आइन् । सृष्टिले अभिनय गरेको एउटा हिन्दी गीतको म्युजिक भिडियो जी म्युजिक कम्पनिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको हो । गायिका ज्योतिका तङ्ग्री तथा गायक एसर देसाइको स्वरको कुछ तो है...शीर्षकको उक्त गीतमा सृष्टिले आकर्षक अभिनय गरेकी छिन् । तीनै सृष्टिसँग कृष्ण भट्टराईको जम्काभेट :

हिन्दी गीतको म्युजिक भिडियोमार्फत चर्चामा आउनुभएको हो ? 

त्यस्तो चर्चामा आएको त होइन, तर कतिपयले बलिउडका लागि ढोका खुल्यो भनेर बधाई दिइरहनुभएको छ । 

ढोका खुलेकै हो त ? 

जी टिभीले मेरो तस्बिर मन पराएपछि मात्र मलाई भिडियोका लागि फाइनल गरेको रहेछ । उक्त गीतको भिडियो सार्वजनिक भएलगत्तै थप दुई वटा हिन्दी गीतका लागि कुराकानी भैरहेको छ । यसलाई मैले सकारात्क रूपमा लिएकी छु । 

यो भिडियोको छायांकनको अनुभव कस्तो रह्यो ? 

भिडियो छायांकनका लागि गीतकी गायिका ज्योतिका तङ्ग्री, निर्देशक स्वप्निल जैसवाल, निर्माता राजन जैन मुम्बईबाट काठमाडौं आउनुभएको थियो । ठमेलको फरेन हाइट क्लबमा भएको छायांकनको अनुभव सुखद नै रह्यो । नेपाली म्युजिक भिडियो निर्माण गर्ने शैली र हिन्दी गीतको भिडियो निर्माण शैलीमा मैले खासै भिन्नता देखिनँ । प्राविधिकहरू नेपाली नै भएकाले पनि त्यस्तो लागेको हुन सक्छ । 

भिडियोका लागि कसरी प्रस्ताव पाउनुभयो ? 

कोरियोग्राफर कृष्ण रसालले मेरा तस्बिर जी टिभीको प्रोडक्सनलाई पठाइदिनुभएको रहेछ । उहाँहरूले भिडियोका लागि मलाई छनोट गरिसकेपछि मात्र मैले त्यो कुराको जानकारी पाएँ । 

भिडियो छायांकनका लागि जीटिभीले काठमाडौं नै रोज्ने कारण के रहेछ ? 

काठमाडौंको लोकेशन मन परेर हो कि ? उहाँहरूले थप दुई वटा म्युजिक भिडियो पनि नेपालमै छायांकन गर्ने बताइरहनुभएको थियो । 

पारिश्रमिकमा केही भिन्नता पाउनुभयो ? 

नेपाली गीतको म्युजिक भिडियोको तुलनामा हिन्दी गीतको पारिश्रमिक निकै राम्रो हुने रहेछ । 

मुम्बईबाट अलि ठूलै प्रोजेक्टका लागि प्रस्ताव आयो भने ? 

राम्रो प्रोजेक्टबाट प्रस्ताव आयो भने म मुम्बई जान तयार छु । 

तपाईंको मुम्बईमा कुनै कनेक्सन छ कि ? 

त्यस्तो ठूलो कनेक्सन त छैन, यद्यपि अस्ति त्यही भिडियोको छायांकनका क्रममा उक्त गीतकी गायिका ज्योतिकासँग राम्रो मित्रता गाँसिएको छ । उनले मुम्बई पुगेर मेरा लागि उपयुक्त प्रोजेक्ट आयो भने पहल गर्छु भनेकी छिन् । 

प्रसंग बदलौं, तपाईं अभिनय क्षेत्रमा आएको कति भयो ? 

ठ्याक्कै दुई वर्ष भयो । 

यो अवधिमा के–के गर्नुभयो ? 

एक सयवटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरें । आधा दर्जनजति टिभिसीमा मोडलिङ गरें । थुप्रै र्‍याम्प शोमा क्याटवाक पनि गरेकी छु । 

तपाईंको पहिलो भिडियो कुन थियो ? 

गायिका मेलिना राईको खाएको कसम.. गीतको म्युजिक भिडियो । 

मन परेको आफ्नै म्युजिक भिडियो ? 

अघिल्लो वर्ष सार्वजनिक भएको भ्रूण हत्यामा आधारित निशान घिमिरेद्वारा निर्देशित डन्ट किल मि...गीतको म्युजिक भिडियो उत्कृष्ट लाग्छ । उक्त भिडियोबाट म पुरस्कृत समेत भएकी छु ।

अब चलचित्रमा जम्प गर्ने बेला भएन र ? 

भैसक्यो नि...चाँडै नै जम्प गर्दैछु । थुप्रै चलचित्रबाट प्रस्ताव आइरहेका छन्, तर म उत्कृष्ट भूमिकाको खोजीमा भएकीले पदार्पण गर्न समय लागेको हो । 

आफूलाई कत्तिको राम्री लाग्छ ? 

आफैंले आफैंलाई राम्री छु भन्न मिल्दैन । म ठीकै छु । 

साथीभाइले सृष्टिको के राम्रो भन्छन् ? 

अधिकांशलाई मेरो स्माइल राम्रो लाग्छ । 

फुर्सदमा के गर्नु हुन्छ ? 

म ट्राभल लभर हुँ । फुर्सद भयो कि घुम्न निस्कन्छु । 

प्रकाशित :माघ १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्