बन्ने भयो अन्तराष्ट्रिय क्रिकेट रंगशाला 

  • ३ अर्बमा रंगशाला बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनको घोषणा

- साप्ताहिक संवाददाता

माघ १७, २०७५

२०७२ वैशाखको भूकम्पपछि एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता समेत भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेल र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । समारोहमा प्रधानमन्त्री ओलीका साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो । 

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा महानगरले रंगशाला निर्माणका लागि उपलब्ध गराउने सम्झौता यसअघिनै भइसकेको छ । गुरुयोजना तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने फाउण्डेसनका प्रमुख सीताराम कट्टेलले जानकारी दिए । 

उनका अनुसार आईसीसीको सबै मापदण्ड पूरा गरी बन्ने रंगशालाको नाम ‘गौतम बुद्ध रंगशाला’ रहनेछ । रंगशालाको अग्रभाग स्तुप शैलीको हुनेछ भने खेल मैदान वरिपरिको भाग कमलको फूलको आकारमा हुनेछ । करिब २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सबै रकम स्वेच्छिक सहयोगबाट उठाउने फाउण्डेसनले बताएको छ ।

 

प्रकाशित :माघ १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्