सजाय भोग्छन्, तर सुध्रिँदैनन्

- साप्ताहिक संवाददाता

माघ १५, २०७५

लामो समय जेल तथा पटक—पटक पक्राउ पर्दा पनि किन सुध्रिँदैनन् डाकाहरू ? नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी यसलाई कारागारलाई सुधार गृहका रूपमा नलानुको परिणाम मान्छन् । ‘कारागारहरू सुधार गृहको परिभाषाअनुरुप छैनन्,’ प्रवक्ता सुवेदी भन्छन्, ‘अपराधमा सजाय भोगिरहेकाहरूलाई सामाजिकीकरण गर्ने कुरामा हामीले ध्यान दिएका छैनौं ।’

 

१६ मुद्दा, १३ वर्ष जेल तर पनि अपराधको लत उस्तै । त्यही अपराध लतका कारण मंसिर २१ गते खुंखार डाँका राजन लिम्बूले रातोपुलमा प्रहरीको गोली खानुपर्‍यो । सुनसरी स्थायी घर भएका राजन त्यसअघि पनि विभिन्न अपराधमा कहिले जेल त कहिले फरार रहँदै आएका थिए । गत वर्षको फागुनमा उनी काँकडभिट्टामा डकैती गरेर फरार भएका थिए । त्यही बेलादेखि प्रहरीले उनलाई खोजिरहेको थियो । डकैती गरेर काठमाडौं पसेका लिम्बूलाई अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले नियन्त्रणमा लिने क्रममा उल्टै प्रहरीलाई नै पेस्तोल ताकेपछि प्रहरीले तीघ्रामा गोली हानेर उनलाई नियन्त्रणमा लिएको थियो । 

४६ वर्षीय लिम्बूबाट एक थान पेस्तोल तथा ४ राउन्ड गोलीसमेत बरामद भएको थियो । झन्डै एक दशकदेखि अपराध कर्ममा सक्रिय लिम्बूले पहिलो पटक ०६३ मा काठमाडौंमा एक गेस्टहाउस मालिकबाट ८ लाख ६५ हजार रुपैयाँ बराबरको लुटपाट गरेका थिए । त्यसपछि उनी लगातार लुटपाट र डकैतीमा सक्रिय रहे । हतियार देखाएर लुटपाट गर्ने राजनले त्यही वर्ष अर्को एउटा गेस्टहाउसको काउन्टरमा पेस्तोल देखाई नगद ३ लाख ६ हजार रुपैयाँ लुटे । त्यही वर्ष उनले अन्य ४ जनासँग मिलेर रोवल कोअपरेटिभ लिमिटेडको कार्यालयमा पेस्तोल देखाएर ११ लाख ३० हजार बराबरको डकैती गरेको मुद्दा पनि चलिरहेको छ भने उनी विकास लघु वित्तबाट १० हजार रुपैयाँ तथा रुपैयाँ सोही संस्थामा कारोबार गर्न आएका एक जना ग्राहकबाट ९० हजार लुटेर फरार भएका थिए । 

यसबाहेक, गत मंसिर १२ गते उनी इटहरीस्थित एक्टिभ मनी ट्रान्सफरबाट ३ लाख डकैती गरेर फरार मात्र भएनन्, सञ्चालकलाई नै छुरा प्रहार गरी घाइते बनाए । राजन लिम्बूको अपराध ट्रयाक हेर्दा उनी ज्यान मुद्दामा जेल गएर १३ वर्ष सजाय काटेर निस्किएका व्यक्ति हुन् । यति लामो समय जेल सजाय काट्दा पनि उनी सुध्रिएनन्, बरु निरन्तर चोरी–डकैतीमा सक्रिय रहे । 

डाँका मुद्दामा पक्राउ पर्ने, सजाय भोग्ने र छुटेपछि पुन: त्यही अपराध कर्ममा फर्कने राजन एक्ला अभियुक्त होइनन् । पटक—पटक पक्राउ पर्ने, जेल जाने तर छुटेपछि पुन: त्यही कर्ममा फर्कने अर्का अभियुक्त हुन्— मनिष मानन्धर ‘कट्टु’ । झन्डै एक महिनाअघि सोल्टिमोडबाट पक्राउ परेका मनिष उपत्यकाका खुंखार डाँका मानिन्छन् । प्रहरीले उनलाई सुन लुटेर फरार भएको भन्दै पक्राउ गरेको थियो । २०६२ देखि सार्वजनिक अपराध, हातहतियार तथा डाँका मुद्दामा पटक—पटक पक्राउ पर्दै छुट्दै आएका कट्टुमाथि ११ वटा मुद्दा चलेको प्रहरी विवरणमा देखिन्छ । सात वर्ष जेल बसिसकेका मनिष पनि राजनकै बाटोमा छन् । सजाय भोगेर छुटेलगतै अर्को अपराध गर्ने उनको बानी छ । 

२०६२ असोज २३ गते पहिलो पटक डाँका मुद्दामा पक्राउ परेका कट्टुमाथि त्यसयता ११ मुद्दा चलेका छन् । त्यसपछि उनी २०६३ मा चैत १ गते पुन: डकैती गरेर फरार भए । २०६४ पुस १८ मा उनी हातहतियार मुद्दामा पक्राउ परे । त्यसपछि तीन वर्ष निष्क्रिय रहेका कट्टु २०६८ वैशाखमा सार्वजनिक अपराधमा पक्राउ परे भने भदौमा हातहतियार मुद्दामा समातिए । तैपनि उनी सुध्रिएनन्, ०७२ मा सार्वजनिक अपराधमा उनी दुई पटक पक्राउ परे भने २०७५ साउनमा पनि उनी सार्वजनिक अपराधमै समातिए, तर डकैती जारी राखेपछि उनी पुन: गत महिना समातिएका हुन् । 

२०७३ पुस २२ गते सागर भनेर चिनिने टीका थापा डाँका मुद्दामा पक्राउ परेका थिए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अपराध महाशाखा प्रमुख हुँदा पक्राउ परेका सागरको पनि अपराधिक गतिविधि लामै छ । उनी ९ वर्षमा पाँच पटक जेल परेका थिए । रामेछापको दोरम्बा स्थायी घर भएका सागरको अपराधको ट्रयाक रेकर्ड राजन र मनिषसँग ठ्याक्कै मेल खाने प्रकृतिको छ । मोटरसाइकल चोरी गर्नेदेखि ठूला–ठूला लुटपाटमा संलग्न टीकाले २०७१ देखि २०७३ सम्म घटाएका घटनाको फेरिहस्त नै सबैलाई चकित पार्ने खालको छ । यो अवधिमा मात्र १५ ठाउँमा डकैती र चोरी गरेको अभियोग उनीमाथि छ । सागरले चारवटा मोटरसाइकल चोरी गरेका थिए भने एउटा बेलोरो जिप । यो अवधिमा उनले २६ लाखभन्दा बढीको नगद तथा गरगहना समेत लुटपाट गरेको प्रहरी अभिलेखमा देखिन्छ । हाल उनी जेलमा रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

लामो समय जेल तथा पटक—पटक पक्राउ पर्दा पनि किन सुधिँ्रदैनन् डाँकाहरू ? नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी यसलाई कारागारलाई सुधार गृहका रूपमा नलानुको परिणाम मान्छन् । ‘कारागारहरू सुधार गृहको परिभाषाअनुरुप छैनन्,’ प्रवक्ता सुवेदी भन्छन्, ‘अपराधमा सजाय भोगिरहेकाहरूलाई सामाजिकीकरण गर्ने कुरामा हामीले ध्यान दिएका छैनौं ।’ उनका अनुसार यसबाहेक अपराधमा लागेकाहरूलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नहुनु, उनीहरूका लागि सामुदायिक प्लेटफर्मको अभाव हुनु, जीवनका आधारभूत आवश्यकता पूर्ति गर्न अर्थको अभाव, बेरोजगारीजस्ता कारणले उनीहरू पुन: अपराधकर्ममै धकेलिन्छन् । 

अपराधशास्त्री माधव आचार्य पनि प्रवक्ता सुवेदीसँग सहमत देखिन्छन् । आचार्यका अनुसार नेपालका कारागारहरूको अवस्था निकै खराब छ । ‘हाम्रा कारागारहरू सुधारगृहभन्दा पनि अपराधी उत्पादन केन्द्रजस्तो भएका छन्,’ आचार्य भन्छन्, ‘न कैदीका लागि काम छ, न अनुशासन छ, न सुधार हुने कुनै मौका नै । बरु, अपराधीहरू जम्मा हुन्छन्, अनुभव साट्छन् र बाहिर आएपछि मिलेर अपराध गर्छन् ।’ आचार्य यसबाहेक प्रहरीको डर कम हुनु, अहिलेको राजनीतिक भाँडभैलो, दबाब, प्रभावजस्ता कारणले पनि डाँकाहरू पुन: उही कर्ममा फर्कने दाबी गर्छन् । नयाँ फौजदारी संहिताले कैदीहरूलाई समेत सामाजिकीकरण गर्ने अवधारणा अगाडि सारेको छ, जसका कारण रात्रिकालीन वा सप्ताहन्तमा मात्र जेल बस्नुपर्नेजस्ता ब्यवस्थाहरू गरेर अरू समय कैदीहरूलाई श्रम र समाजसँग जोडने गरी काम थालिए अपराधकर्ममा पुनरावृत्ति हुने यो क्रम रोकिन सक्छ ।

 

चार थरी डाँका 

एक समय तराई/मधेसमा चोरी डकैतीका घटना निकै हुन्थे । घरबार लुटिने त्रास हुन्थ्यो । पेसेवर डाँकाहरूले सारालाई हैरान पार्थे । प्रहरीकाअनुसार त्यतिबेला निश्चित समुदाय र परिवारका बुवा, छोरादेखि नातिसम्म पनि डाँका नै बन्थे । अपराधशास्त्री आचार्यकाअनुसार खुला सीमाना, घना जंगलजस्ता कारणले पहिले मधेसमा डाँकाको बिगबिगी थियो । ‘वारि अपराध गर्‍यो पारि लुक्यो, पारि अपराध गर्‍यो वारि आएर लुक्यो,’ आचार्य भन्छन्, ‘खुल्ला सीमा र घना जंगलका कारण पहिले तराईमा पेशेवर डाँकाको जगजगी थियो, तर अहिले सुरक्षामा बढोत्तरी भएसँगै तराई/मधेसमा डकैती गर्ने क्रम रोकिएको छ भने पेशेवर डाँकाहरूको चहल–पहल कम भएको छ । 

यसबाहेक सुरक्षा ब्यवस्थामा आएको चुस्तताका कारण सानातिना योजनाबद्ध लुटपाट तथा चोरीहरू पनि नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता सुवेदीको दाबी छ । अर्कोथरी लुटपाटमा संलग्नहरू भने जे गरेर पनि पैसा कमाउने प्रकृतिका छन् । यस्तो प्रकृतिका डाँकाहरू पैसाका लागि चोरी, डकैती, लुटपाट, अपहरणदेखि हत्यासम्मका घटना घटाउन सक्छन् । त्यसबाहेक चौथो प्रकृतिका डाँकाहरू लागू पदार्थ दुव्र्यसनी रहेको प्रहरी बताउँछ । यस्ता डाँकाहरू लागू औषध किन्ने पैसा जुटाउन पकेट मार्नेदेखि लिएर डकैती तथा चोरीमा संलग्न देखिन्छन् । 

नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार पछिल्ला ५ वर्षमा खुन डाँकाका ६ वटा घटना भएका छन् भने डाँका चोरीका २ सय ५९ घटना भएका छन् । तथ्यांकअनुसार पछिल्लो आर्थिक वर्षमा भने पहिलेका वर्षको तुलनामा डकैतीका घटनामा केही कमी आएको देखिन्छ ।

पछिल्ला ५ वर्षमा देशभरका डाका घटना

आर्थिक वर्ष       खुन डाका       डाका चोरी 

०७०/०७१             ०                 ७३

०७१/०७२            २                 ४९

०७२/०७३            १                 ६५

०७३/०७४            १                 ४५

०७४/०७५            २               २७

जम्मा    ६    २५९

                                             स्रोत : नेपाल प्रहरी

प्रकाशित :माघ १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्