जुधेरै डुब्छन् चलचित्र

- रामजी ज्ञवाली

माघ १४, २०७५

नेपाली चलचित्र चल्दैनन् भन्ने कुरा अब नयाँ रहेन । वर्षभरि प्रदर्शन हुने ९० भन्दा बढी चलचित्रमध्ये दुई–तीनवटाले मात्र चर्चा योग्य व्यापार गर्छन् भने अरू दुई–चार वटा चलचित्रले लगानीसम्म उठाउँछन् । नेपाली चलचित्र किन चल्दैनन् ? यसका विभिन्न कारण छन् । नेपाली चलचित्र नचल्नुको एउटा प्रमुख कारण निकै सानो बजारमा साताको दुई–तीनवटा चलचित्र एकसाथ प्रदर्शन हुनु पनि हो । 

यसरी चलचित्र जुध्नुमा धेरैले निर्माताहरूलाई जिम्मेवार मान्छन् । निर्माता दीपेन्द्र रेग्मीका अनुसार चलचित्रको बजार नबुझेका निर्माताहरूकै कारण व्यवसायिक चलचित्र निर्माताहरूसमेत मर्कामा परिरहेका छन् । निर्माता रेग्मी भन्छन्— माघ १८ गते शुक्रबार प्रदर्शनका लागि चलचित्र रणवीरले साउनमै रिलिज डेट लिएको थियो । त्यो कुरा थाहा हुँदा–हुँदै पनि सोही मितिमा अन्य निर्माताले आफ्नो चलचित्र प्रदर्शन गर्ने निर्णय किन गरेका हुन्, बुझ्न सकिएन । रेग्मीका अनुसार अन्य चलचित्र प्रदर्शनको मिति थाहा पाएपछि त्यही मितिमा आफ्नो चलचित्र प्रदर्शन गर्नु गलत हो । 

रेग्मीले चलचित्र जुध्दा नेपाली दर्शकहरू अन्यौलमा पर्ने र त्यसको घाटा निर्माताले बेहोर्नुपरेको बताए । चलचित्र निर्माणमा निर्माताले १ देखि ३ करोड रुपैयाँसम्म लगानी गरेका हुन्छन् । उनीहरूले आफ्नो लगानी सुरक्षित गर्न सहि समयमा चलचित्र प्रदर्शन गर्न पाउनुपर्छ । रेग्मीका अनुसार निर्माताहरूले सकेसम्म अस्वस्थ प्रतिस्पर्धा गर्ने चलनबाट पछि हटेर स्वस्थ तरिकाले आफ्ना चलचित्र प्रदर्शन गर्नु उपयुक्त हुन्छ । चलचित्रले लगानी उठाउनु छ वा राम्रो व्यापार गर्नु छ भने अरू चलचित्रको प्रर्दशन मिति थाहा हुँदाहुँदै चलचित्र प्रदर्शन गर्ने अहिलेको फोहोरी खेल बन्द हुनुपर्छ । अर्को साता रणवीरसँगै गोपी र सयकडा दसजस्ता आशा गरिएका चलचित्र प्रदर्शन हुँदैछन् । 

निर्माता तथा वितरक गोविन्द शाहीका अनुसार केही वर्षदेखि नेपाली चलचित्र जुधाउने जुन किसिमको डरलाग्दो परम्परा सुरु भएको छ, त्यसले नेपाली चलचित्रलाई नै हानि पुर्‍याएको छ । निर्माताले आफ्नो लगानी सुरक्षित गर्न सक्यो भने मात्र चलचित्र उद्योग सुरक्षित हुन्छ, निर्माता डुब्यो भने कहिलेसम्म ग्ल्यामरको लोभमा नयाँ निर्माताले लगानी गर्लान् ? शाही भन्छन्– ‘चलचित्र जुध्नु भनेको कसैका लागि पनि राम्रो होईन । थोरै दर्शक र सिमित सिनेमा हल भएको नेपालको जस्तो चलचित्र बजारमा एकसाथ धेरै चलचित्र प्रदर्शन हुनुको नाफा–घाटा निर्माताले नै बेहोर्नुपर्छ, त्यसको दुष्प्रभाव निर्देशक एवं कलाकारहरूमा समेत पर्छ ।’ 

शाहीका अनुसार अहिलेको अस्वस्थ प्रतिस्पर्धा निर्माताहरूको दम्भको परिणाम हो । मेरो चलचित्रका लागि मैले चाहेको प्रदर्शनको मिति लिने बेलामा अरु चलचित्रले उक्त समय लिईसकेको थाहा पाएर धेरै पटक म ब्याक भएको छु, यस्तो अरू कसले गरेको छ ? शाही भन्छन्– ‘प्रदीप खड्काजस्ता स्टार कलाकार अभिनित मेरो चलचित्र लभ स्टेशनको प्रदर्शन मिति सर्नुको कारण पनि त्यही थियो । त्यतिबेला मैले हामी पनि बाँचौं र अरूलाई पनि बचाऔं भन्ने सोच राखेको थिएँ । त्यही भएर मैले त्यस्तो कठोर निर्णय गरेको थिएँ ।’ चलचित्र जुधे भने त्यसले उक्त मितिमा प्रदर्शन हुने सबै चलचित्रलाई बेफाइदा हुन्छ, शाहीका अनुसार एउटा मितिमा धेरै चलचित्र आउँदा दर्शक बाँडिन्छन् अनि चलचित्र फ्लप हुन्छन् । हामी वितरक पनि केही निर्माताको यस्तो क्रियाकलापप्रति दु:खी छौं ।’

निर्देशक हेमराज बीसीको कुरा पनि यस्तै–यस्तै छ । एउटै समय पारेर चलचित्र उद्योगले धान्न नसक्ने चलचित्र प्रदर्शन हुँदा निर्माता मात्र होइन, निर्देशक एवं समग्र चलचित्रको टिमलाई नै नराम्रो लाग्ने बीसी बताउँछन् । ‘बाध्यात्मक अवस्थाको कुरा फरक हो, तर नयाँ प्रदर्शन मिति नलिई अरू चलचित्रसँग जुधाउने नियत राख्नु ठीक होइन, बिसी भन्छन्– ‘नेपाली चलचित्र उद्योगमा अहिले यस्तै खराब प्रवृत्ति हावी छ, तर कसैले पनि यसलाई आफ्नो गल्ति भनेर स्वीकार गरेका छैनन् । नयाँ निर्माताहरूले त कुरा नबुुझेर चलचित्र प्रदर्शनको मिति लिन्छन् होला, तर उनीहरूलाई यसका बारेमा सिनेमा हल मालिक लगायत पुराना तथा स्थापित निर्माताहरूले पनि सुझाव दिनु पर्ने हो ।’ यहाँ अहिले जे भैरहेको छ, त्यो नेपाली चलचित्रको ब्यापार 

नबुझ्नेहरूको हठका कारण भैरहेको बिसीको दाबी छ । एक सातामा दुईवटासम्म चलचित्र प्रदर्शन हुनु ठिकै होला, तर चार–चारवटा चलचित्र हेरिदिने दर्शक हामीसँग छन् त ? यो प्रश्नमा अब चलचित्र निर्माता तथा वितरक दुवै गम्भीर हुनुपर्ने समय आइसकेको छ । यसमा चलचित्र निर्माता संघको पहल पनि आवश्यक छ ।

स्पष्ट वक्ता हुन्— अभिनेता निर्मल शर्मा । शर्मा पनि नेपाली चलचित्र असफल हुनुको मुख्य कारण एउटै मितिमा धेरैवटा चलचित्र प्रदर्शन हुनुलाई नै मान्छन् । शर्माका अनुसार नेपाली चलचित्र उद्योग अहिलेकै तरिकाले अघि बढ्ने हो भने निकट भविष्यमा धेरै निर्माताहरू जोगी हुनेछन् । शर्मा भन्छन्— चलचित्र निर्माणमा मेहनत नगर्ने, अनावश्यक फुर्ती देखाएर अरू चलचित्रसँग आफ्नो चलचित्र जुधाउन खोज्ने निर्माताको दम्भी व्यवहारमा अब परिवर्तन आउनैपर्छ । शर्माका अनुसार वास्तवमा भन्ने हो भने हाम्रा धेरै निर्माताले अरूको कुरा सुनेको, ग्ल्यामर देखेको, महिला कलाकारका बारेमा अनुचित कुरा सुनेको र आफूले पनि त्यस्तै मोज गर्न पाइन्छ भन्ने सोच राखेका कारणले अहिलेको अवस्था सिर्जना भएको हो । 

२७ वर्षअघिदेखि चलचित्र उद्योगमा क्रियाशिल अभिनेता राजेश हमाल दर्शकको चाहना विपरित धेरै चलचित्र प्रदर्शन हुनुलाई नै चलचित्र असफल हुनुको कारण मान्छन् । ‘विगतमा यस्तो थिएन, म आफैंले अभिनय गरेका कतिपय चलचित्रले राम्रो व्यापार नगरे पनि लगानी उठाएर निर्मातालाई अर्को चलचित्र बनाउन प्रेरित गर्थें,’ हमाल भन्छन्– ‘अहिले नेपाली चलचित्र लगातार असफल हुनुको कारणका पछाडि अस्वस्थ प्रतिस्पर्धा नै मुख्य कारणका रूपमा देखिएको छ ।’ दर्शकको रुचि तथा चाहनाविपरीत एउटै मितिमा धेरै चलचित्र प्रदर्शन हुनु भनेको निर्माताहरूका लागि निकै जटिल अवस्था हो । 

एक अनौपचारिक तथ्यांक अनुसार यो वर्षको माघसम्म आइपुग्दा नेपाली चलचित्र उद्योगले ७० करोड रुपैयाँको हाराहारीमा घाटा बेहोरिसकेको छ । यो तथ्यलाई केलाएर कसैले पनि गम्भीर रूपमा मूल्यांकन गरेका छैनन् । निर्माताहरू डुब्दा रुने भन्दा हाँस्ने प्रवृत्ति मौलाएको छ । यति हुँदाहुँदै पनि नयाँ चलचित्र निर्माण हुने क्रम रोकिएको छैन । हप्तैपिच्छे चलचित्र घोषणा भैरहेका छन् । करोडौं–करोड रुपैयाँ आगोमा खन्याएजस्तो भैरहेको छ, तर त्यसले दिने प्रतिफलले भने निर्माताहरूलाई रुवाएको रुवायै छ । स्थिति कस्तोसम्म छ भने कतिपय चलचित्रले पहिलो दिनको शोमा समेत दर्शक पाउँदैनन्, पाए पनि पोस्टरको लगानी समेत उठाउन सक्दैनन् । 

नेपाली चलचित्रमा हरेक वर्ष एकदेखि डेढ अर्ब रुपैयाँसम्म लगानी भैरहेको छ, तर त्यस्तो लगानीको अनुपातमा चलचित्रले १० प्रतिशत पनि कमाउन सकेका छैनन् । आजभोलि विदेशमा चलचित्र प्रदर्शन गर्ने चलन बढेको छ, यसले केही राहत त भएको छ तर सबै चलचित्रले विदेशमा प्रदर्शन हुने अवसर पाउँदैनन् । लगानी अनुसारको प्रतिफल नपाउँदा पनि चलचित्रमा लगानीकर्ताको भीड लागेकै छ । नेपाली चलचित्रमा लगानी वढेको बढ्यै छ । चलचित्र असफल भएकै कारणले पुराना निर्माताहरू सेलाउँदै गएका छन् भने नयाँ निर्माताहरू थपिदै गएका छन् । यस्तो स्थितिमा कुनै पनि चलचित्र निर्माण कम्पनीले व्यवसायिक रूप लिन सकेका छैनन् ।

प्रकाशित :माघ १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्